कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

बीपी प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा मौन प्रदर्शन

इकान्तिपुर डेस्क

काठमाडौँ — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितताविरुद्धको आन्दोलनलाई ऐक्यबद्धता जनाउन शनिबार माइतीघरमा मौन प्रदर्शन गरिएको छ । 

बीपी प्रतिष्ठानको बेथितिविरुद्ध माइतीघरमा मौन प्रदर्शन

चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीलगायतका व्यक्तिहरुले माइतीघरमा मौन प्रदर्शन गरेका हुन् । उनीहरुले 'चिकित्सा शिक्षाको जग भत्काउने काम तत्काल बन्द गर', 'ओइ सिंहदरबार किन पाल्छस् लुटतन्त्र', 'बीपीका भ्रष्ट पदाधिकारीहरुलाई बर्खास्त गर' जस्ता प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एल्मुनाईले करिब तीन हप्तादेखि हरेक दिन साँझ ४ बजे माइतीघरमा विरोध कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिष्ठान अनियमितताका अनेक घटनाबारे विभिन्न कार्यदलले बुझाएका प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएका छन् । भ्रष्टाचार र कमिसनलाई बढावा दिने गरी भौतिक संरचना निर्माण र खरिद ऐन तथा नियमावलीविपरीत मेडिकल उपकरण खरिद भएको आधा दर्जन उच्चस्तरीय कार्यदलले नै औंल्याएका छन् ।

कार्यदलले छानबिन गरी प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको कार्यालयमा बुझाएका प्रतिवेदन सार्वजनिक नगरिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का तत्कालीन सचिव केदारबहादुर कार्कीको संयोजकत्वमा रहेको सात सदस्यीय उच्चस्तरीय कार्यदलले २०७५ भदौ १७ मा बुझाएको प्रतिवेदनले प्रतिष्ठानमा व्यापक अनियमितता भएको भन्दै विभिन्न सुझाव दिएको थियो । दुई महिनापछि कात्तिक २० मा तत्कालीन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन समितिले पनि प्रधानमन्त्रीलाई त्यस्तै प्रतिवेदन बुझाएको थियो ।

प्रतिष्ठान भ्रष्टाचार र कमिसनकै कारण अधोगतिमा लागेको भन्दै ३ सय जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका चिकित्सक, ३ सय फ्याकल्टी चिकित्सक, १५ सय विद्यार्थी, ६ सय नर्स २३ सय कर्मचारी संयुक्त संघर्ष समिति बनाएर आन्दोलित भएको ५ साता भएको छ । यसअघि भएका छानबिन तथा प्रधानमन्त्री कार्यालयमा बुझाइएका प्रतिवेदन कार्यान्वयन गर्नतिर नलाग्दा प्रतिष्ठानको अवस्था सुधार हुन नसकेको सरोकारवालाले बताउँदै आएका छन् ।

छानबिन समितिले जथाभावी बजेट बनाएर ठेकेदार कम्पनीलाई खरिद ऐन नियमावलीविपरीत भुक्तानी,६६ प्रकारका मुख्य मेडिकल उपकरण खरिदको मूल्य अस्वाभाविक रुपमा बढी, ४ सय बेडको मातृशिशु भवनको निर्माण ठेक्कामा आर्थिक अनियमितता भएको ठहर गरेको छ ।

तस्बिरहरुः केशव थापा

प्रकाशित : श्रावण ९, २०७८ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?