कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सबै सांसदलाई मन्त्री चाहिएको छ : दाहाल 

'ओलीकै पार्टीले उनलाई चिन्ने क्रम सुरु भइसकेको छ । जसलाई उनले हनुमान ठान्छन् उनीहरूले पनि, त्रेतायुगका हनुमान त हैनन्, कलियुगका हनुमान हुन्, धेरै बोक्दैनन् ।'
'मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने ?'

काठमाडौँ — सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३ गते विश्वासको मत प्राप्त गरेपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेका बेला गठबन्धन दलका अध्यक्ष दाहालले आफ्नो पार्टीका सबै सांसदले मन्त्री बनाउन भन्दै दबाब दिइरहेको बताएका हुन् । 

सबै सांसदलाई मन्त्री चाहिएको छ : दाहाल 

नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा पार्टी कार्यालय पेरिस डाँडामा शनिबार आयोजित कार्यक्रममा दाहालले भने, 'मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु । आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने कसलाई नबनाउने ?'

पार्टीका सबै सांसदलाई मन्त्री चाहियो उनले बताए । 'हाम्रा सांसद सबैलाई मन्त्री चाहिया छ । हामीले पाउने बढीमा ७ जना हो,' उनले भने, 'यहाँ मन्त्री नभए भने नेतृत्वलाई सरापेर हिँड्ने, पायो भने मात्रै गर्ने प्रवृत्ति छ । ठूलै नियुक्ति पायो भने ठीक छ, पाएन भने नेतृत्व बेइमान भन्ने प्रवृत्ति छ ।'

प्रतिनिधिसभामा माओवादीका सभामुखसहित ४९ सांसद छन् । जसमध्ये दुई जना मन्त्री भइसकेका छन् । त्यस्तै, राष्ट्रिय सभामा रहेका सांसद पनि मन्त्री बन्ने दौडमा रहेका छन् ।

'ओली विक्षिप्त छन्'

दाहालले निवर्तमान एमाले अध्यक्ष केपी शर्मा ओली सरकारबाट बाहिरिएपछि विक्षिप्त बनेको बताएका छन् ।

सर्वोच्च अदालतले दिएको फैसला संविधान विपरीत भनिरहेको एमालेले देउवालाई परमादेशबाट बनेका प्रधानमन्त्री भनिरहेको छ । देउवालाई विश्वासको मत दिने एमालेका माधवकुमार नेपाललगायत सांसदहरूलाई पनि ओलीले कडा शब्दमा आलोचना गर्दै आएका छन् ।

दाहालले भने सर्वोच्च अदालतले निरंकुश प्रवृत्तिलाई ठाउँ नदिएर फैसला दिएको बताएका छन् । उनले 'निरंकुशतावादी, प्रतिगमनकारीलाई चलखेल गर्ने ठाउँ नदिइकन फैसला दियो' भन्दै जे गरे पनि ओलीले जित्छन् भन्ने भनाइमा विराम लागेको बताए ।

'केपी ओली नराम्रोसँग पछारिएका छन् । विछिप्त छन् । कहिले बालकोटको बार्दलीबाट बर्बराउछन्, कहिले कहाँ गएर बर्बराउछन् । यो बर्बराहट पनि धेरै दिन रहन्छ जस्तो लाग्दैन,' दाहालले भने ।

ओली आफ्नै पार्टीमा कमजोर बन्दै गएको दाहालको भनाइ थियो । माधवकुमार नेपाललाई भेटेर पेरिस डाँडा पुगेका दाहालले भने, 'ओलीकै पार्टीले उनलाई चिन्ने क्रम सुरु भइसकेको छ । जसलाई उनले हनुमान ठान्छन् उनीहरूले पनि, त्रेतायुगका हनुमान त हैनन्, कलियुगका हनुमान हुन्, धेरै बोक्दैनन् ।'

सरकारले जनताका पक्षमा दिनदिनै देखिने गरी काम गर्नुपर्ने दाहालको भनाइ थियो । मन्त्रीहरूलाई जनताको पक्षमा काम गर्न उनले सुझाव दिए ।

ओली सरकारले राज्यका विभिन्न निकायमा गरेका सेटिङ भत्काएर नयाँ सरकारले काम गर्नुपर्ने दाहालको भनाइ थियो ।

'सत्तारुढ गठबन्धन टुटाउन धेरै बल भयो'

देउवालाई प्रधानमन्त्रीमा सिफारिस गरेदेखि ५ दलीय गठबन्धन बनेको थियो । गत जेठ ७ गते प्रधानमन्त्रीका लागि देउवाको पक्षमा ५ दलका सांसदहरूले राष्ट्रपतिकहाँ हस्ताक्षर बुझाएका थिए । तर सोही राति तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरिदिइन् ।

त्यसपछि उक्त गठबन्धन सर्वोच्च अदालत गयो । जहाँबाट असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र राष्ट्रपतिलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी भयो ।

राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेसँगै गठबन्धन भत्काउने खेल सुरु भएको दाहालको दाबी छ । ओली प्रवृति पूरै पराजित भइनसकेको र गठबन्धन भत्काउनका लागि धेरै कसरत भएको दाहालको दाबी छ ।

'यो गठबन्धन हुँदा टुटाउन धेरै बल भयो । सरकार गठन भन्दा पहिल्यै निकै धेरै कसरत भयो । त्यो कसरत हुँदा केही साथीहरू नपत्याउँदो किसिमले ढल्दिनुभयो,' दाहालले एमाले उपाध्यक्ष भीम रावलले साउन ३ गते सांसद पदबाट राजीनामा घोषणा गरेको प्रसंगतर्फ संकेत गर्दै भने ।

रावलले प्रधानमन्त्री देउवाले विश्वासको मत लिने दिन राजीनामा घोषणा गरेका थिए भने शुक्रबार फिर्ता लिएका छन् ।

गठबन्धन भत्काउन नसकेपछि देउवालाई बहुमत प्राप्त नहोस् भनेर चालिएको कदमस्वरुप राजीनामा आएको दाहालको दाबी थियो । 'गठबन्धन टुटाउन नसकेपछि बहुमत प्राप्त नहोस् भन्नका निम्ति झन् ठूलो कसरत सुरु भयो । हामीले जसरी पनि बहुमत जुटाउनुपर्छ भनेर सकेको जति लाग्यौं,' उनले भने ।

विगतमा नेकपा हुँदा ओलीको सरकारलाई झन्डै दुई तिहाई बहुमत प्राप्त भएकोसँग देउवाले प्राप्त गरेको मतलाई दाहालले तुलना गरे । 'अहिले हामीसमेत भएको देउवा नेतृत्वको सरकार झन्डै दुई तिहाइमा पुगेको छ । नसोचेको कुरा भएको ठानेका छन् । अझै भत्काउने प्रयास जारी छ,' उनको दाबी थियो ।

गठबन्धन भत्काउनका निम्ति कांग्रेस र कम्युनिस्टबीच झगडा गराउने, एमालेका माधव नेपाललाई पार्टीमा विभिन्न प्रलोभन दिने, एमसीसीलगायतका मुद्दा अगाडि सार्ने काम भइरहेको दाहालको भनाइ थियो । त्यस्तै, शान्ति प्रक्रियाका काम, बेपत्ता र सत्यनिरुपण आयोग एवं माओवादी सशस्त्र संघर्षका क्रममा घाइते भएकाहरूका कुरा झिकेर गठबन्धनमा दरार ल्याउने प्रयास भइरहेको दाहालको दाबी थियो ।

प्रकाशित : श्रावण ९, २०७८ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?