सडकमा खाल्डैखाल्डा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमा खाल्डैखाल्डा

वर्षौंदेखि काम अलपत्र पार्ने ठेकेदारलाई कारबाहीको सट्टा उल्टै राजनीतिक संरक्षण
विमल खतिवडा, तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — घरअघि फराकिलो सडक बनाउने भन्दै पुरानो सडक भत्काएको वर्षौं बित्यो तर अहिलेसम्म बनेको छैन । बर्खामा हिलो र हिउँदमा धूलोले दिने सास्ती कस्तो हुन्छ, ७७ वर्षीय जमानसिंह तामाङ भुक्तभोगी छन् ।

काठमाडौंको पेप्सीकोला–सल्लाघारी खण्डको निकोसेरामा शुक्रबार हिलाम्य सडक पार गर्दै स्कुटर । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

वर्षौंदेखि एउटै समस्या भोग्दै आएका भक्तपुरको चाँगुनारायण नगरपालिकाका उनलाई भत्केपाटी–नगरकोट सडक खण्डअन्तर्गत गडगडेको बाटो कालोपत्र होला भन्ने आस मर्दै गएको छ ।‘काम सुरु गर्दा चाँडै सडक बन्ला भन्ने थियो,’ उनले भने, ‘यसरी खनेर अलपत्र पार्नुभन्दा त बरु पहिलेकै बाटो ठीक थियो ।’

बित्थामा भत्काएर दुःख दिने काम गरेको उनले गुनासो गरे । कालोपत्र गर्न केही वर्षयता सडकमा ग्राभेल ओछ्याए पनि पानीले बगाउने गरेको उनको भनाइ छ । ‘बर्खा लाग्ने बेला ग्राभेल गरिन्छ, त्यसलाई बगाइहाल्छ,’ उनले भने, ‘गत मंसिरमा गिट्टी थुपारिएको थियो, त्यही पनि बगाउन थालेको छ, कहिले काम गर्छन्, पत्तो पाउनै सकिएन ।’

भत्केपाटी–नगरकोट सडकको तेलकोट खण्ड । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

यो सडकमा गाडी चलाउन त गाह्रो छ नै, बर्खामा हिँड्नसमेत धौधौ पर्छ । हिउँदमा धूलो उडेर घरबाहिर बसिसाध्य हुन्न । ‘वडाध्यक्ष र मेयरलाई गुनासो गर्दा चाँडो काम गर्न भनेका छौं मात्रै भन्छन् तर कहाँ भने थाहा छैन,’ तामाङले भने, ‘समस्या जस्ताको तस्तै छ ।’ पानी पर्नासाथ सडकमा खोला बगेजस्तो हुन्छ, नाली छ तर कतै भत्किएको छ, कतै पुरिएको । पानीको निकास छैन । पानी परेका बेला सडकको ‘खोलो’ स्थानीयको घरतिर पनि सोझिन्छ । यो खण्डको तेलकोटदेखि नयाँ गाउँसम्म गिट्टी थुपारिएको छ । कतै–कतै सडकका दुवै खण्डमा गिट्टी थुपारिएकाले एकतर्फी मात्र सवारी सञ्चालन हुन्छ ।

समस्या स्थानीयलाई मात्र छैन, पर्यटकीय क्षेत्र नगरकोट जान चाहने पर्यटकले पनि सास्ती खेपिरहेका छन् । अस्तव्यस्त सडककै कारण नगरकोट पर्यटकको रोजाइमा पर्न छाडेको छ ।शैलुङ र एआईपीएल (आरामाली इन्फ्रा पावर लिमिटेड) ले यो सडकखण्डको संयुक्त ठेक्का लिएका छन् । सात वर्षदेखि यहाँको काम अलपत्र छ । २०७३ कात्तिक ४ मा काम सक्ने गरी सडक विस्तार गर्ने सम्झौता २०७१ जेठ २२ मा भएको हो । तर, ६ पटक म्याद थप्दा पनि भौतिक प्रगति बल्ल ७५ प्रतिशत पुगेको भक्तपुर–नगरकोट–सिपाघाट सडक आयोजना प्रमुख जगत प्रजापतिले बताए । छैटौं पटकको म्याद पनि गत असारमा सकिएको छ । अब के हुन्छ त ? प्रजापति भन्छन्, ‘बजेटमा फेरि ६ महिना समय दिने कुरा आएको छ तर यसबारे आधिकारिक रूपमा जानकारी आइसकेको छैन ।’

स्थानीयले पटक–पटक सम्झौता रद्द गरी नयाँ ठेक्का लगाएर काम सक्नुपर्ने माग गर्दै आएका छन् तर त्यसो पनि हुन सकेको छैन । अहिलेसम्म काम नगर्नेलाई के कारबाही भयो ? आयोजना प्रमुख प्रजापति भन्छन्, ‘कुल ठेक्का रकममा १० प्रतिशत हर्जाना लगाएर काम गराएका छौं ।’ एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा यो सडक खण्डको काम अघि बढाइएको हो ।

भत्केपाटीदेखि नगरकोटसम्मको १६ मध्ये १० किलोमिटर सडक कालोपत्र भएको छ । काम ढिला गरिँदा लागत ६ करोड रुपैयाँ बढेको आयोजनाले जनाएको छ । सुरुको सम्झौतामा २७ करोड ९० लाखमा काम सक्ने भन्ने थियो । लागत बढाएर ३४ करोड रुपैयाँ कायम गरिएको छ  । अहिले काम ठप्प छ । अहिलेसम्म कुल ठेक्का रकमको ६५ प्रतिशत रकम निर्माण व्यवसायीले बुझिसकेका छन् । त्यसो त सडक पिच भएको वर्ष दिन नपुग्दै ठाउँठाउँमा खाल्डा छन् । ‘कतैकतै पिच उप्किएको छ, दुई तहमा पिच गर्नुपर्नेमा एक तहमा मात्र भएको छ,’ उनले भने । ‘फेरि गर्न बाँकी नै थियो, पानी परेर अहिले गर्न सकिएको छैन,’ उनले भने ।

निर्माण व्यवसायीले चाँडै काम सक्ने बताएको उनको भनाइ छ । त्यसो त शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारी पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । उनी काठमाडौं उपत्यकामा सडक निर्माणको धेरै वटा ठेक्का ओगटेर काम नगर्ने निर्माण व्यवसायीभित्र पर्छन् । समयमा काम नसकेपछि नगरकोटका स्थानीयले डेढ वर्षअघि अधिकारीको फोटो सार्वजनिक सवारी र चौतारोमा टाँसेर विरोध गरे ।

भत्केपाटी–नगरकोट सडकको मात्र होइन, उपत्यकाका प्रायः निर्माणाधीन र निर्माण भइसकेका सडकमा यस्ता समस्या छन् । कतै ठेक्का लिएर सडक अलपत्र पारिएको छ त कतै पिच गरेको वर्ष दिन नबित्दै कालोपत्र उप्किएर खाल्डा परेका छन् ।

काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार दुई वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेका ५६ रुग्ण ठेक्कामध्ये ६ वटाको मात्र काम सकिएको छ । अरू ठेक्काको काम अझै सम्पन्न भएको छैन । यो डिभिजनअन्तर्गत १ सय ५० वटा ठेक्का चालु छन्, जसमा सबैभन्दा बढी सडकका छन् । काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपाली भने पहिला काम कम भएर ठेक्का रुग्ण भए पनि अहिले प्रगति उल्लेख्य देखिएको दाबी गर्छन् ।

निर्माणका लागि भन्दै जथाभावी खनिएका कारण सडक हिलाम्य बनेका छन् । अर्को उदाहरण हो– पेप्सीकोला–सल्लाघारी सडक । साढे ४ किमि सडक निर्माण २०७६ पुसमा सक्ने गरी कान्छाराम–पीआर–उमा एन्ड कम्पनी (जेभी) सँग २०७४ असारमा ठेक्का भएको थियो । पटक/पटक म्याद थप गरेर २०७८ असारसम्म पुर्‍याइयो । अहिले म्याद सकिसकेको छ तर भौतिक प्रगति ६५ प्रतिशत मात्र छ ।

पेप्सीकोला–सल्लाघारी सडक । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

यो खण्डको निकोसेरामा अलपत्र सडकमा दुर्घटना नभएको दिनै हुँदैन । सबैभन्दा बढी मोटरसाइकल पल्टिने गरेको प्रत्यक्षदर्शी शम्भु श्रेष्ठ बताउँछन् । ‘तीन वर्षदेखि यस्तो समस्या छ,’ उनले भने, ‘सडक भत्काउन हतार हुन्छ तर बनाउन ढिला गरिन्छ, सडक एम्बुसजस्तै बनेको छ ।’

सडक विस्तार गर्दा घर भत्किने र जग्गा पर्ने भएपछि स्थानीयले विरोध गरेकाले काम अघि नबढेको ठेकेदार कम्पनीको दाबी छ ।

***

ललितपुर महानगरपालिकाको २७ नम्बर वडा कार्यालयको अघिल्तिर गत फागुनमा गरिएको पिच अहिले क्षतिग्रस्त छ । ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्याङगाउँ–लेले–तिलेश्वर सडकको सुनाकोठी खण्डको ठेक्का शारदाप्रसाद अधिकारीकै शैलुङ कन्स्ट्रक्सनले ज्वाइन्टमा लिएको हो । पिच गरिएको सडकमा खाल्डैखाल्डा छन् । पानी पर्दै गर्दा सडक पिच गरिएको थियो । दिवा–शैलुङले यो खण्डको ठेक्का २०७३ जेठमा लिएको थियो । २०७५ कात्तिकमै निर्माण सक्नुपर्ने भए पनि अहिलेसम्म भौतिक प्रगति ८० प्रतिशत मात्र छ । कुल ठेक्का रकम २३ करोड ३१ लाख ४६ हजार रुपैयाँमध्ये ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ भुक्तानी भइसकेको छ ।

ढोलाहिटी–तिलेश्वर सडकको सुनाकोठी खण्डमा परेका खाल्डा । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

‘यो कस्तो पिच गरेको होला, चार महिनामै भत्किहाल्ने,’ स्थानीय आशमान महर्जनले सडकको खाल्डो देखाउँदै भने, ‘हाम्रो आँखामा छारो हाल्न मात्र काम गरिएजस्तो छ ।’ उनले यस्ता निर्माण व्यवसायीलाई कसैले कारबाही नगर्दा समस्या भएको बताए । उनका अनुसार पिच गरिएको सडकमा जताततै खाल्डा छन् । लामो समय सडक नबनेपछि स्थानीयले विरोध गर्दै हिलाम्य सडकमा धान रोप्नुका साथै पटक–पटक सडक बन्द गरेका थिए । ‘जनता पीडित भएर सडकमा उत्रेपछि बल्ल पिच भयो,’ उनले भने, ‘फेरि आन्दोलन नगरी पिच होलाजस्तो छैन ।’

सडकका कारण स्थानीयले निकै सास्ती खेपे । कष्ट भोगे । ‘सडकमा उड्ने धूलोले बाहिर लुगा सुकाउन मिल्दैन थियो, कौशीमा धूलो उडेर बस्नै हुँदैन थियो,’ उनले भने, ‘अब फेरि त्यस्तै हुने भयो ।’

वडाध्यक्ष बाबुराज महर्जन पिच गरिसकेको सडकमा खाल्डा पर्दा समस्या भएको बताउँछन् । ‘हामीलाई प्राविधिक कुरा थाहा छैन,’ उनले भने, ‘यस्तो के काम गरेको भनेर इन्जिनियर र ठेकेदारलाई भन्यौं, चाँडै फेरि सडक पिच गर्छौं भनेका छन् ।’ अब यो सडक फेरि कसले पिच गर्छ ? भन्ने प्रश्नमा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी अशोककुमार राय यादव ठेक्का लिने कम्पनीले नै गर्ने बताउँछन् । ‘सडक बनाएर हस्तान्तरण भइसकेको छैन,’ उनले भने, ‘पानी परिरहेको समयमा पिच गरेर समस्या आएको हुन सक्छ, फेरि मर्मतको काम ठेक्का लिने कम्पनीले नै गर्छ ।’

***

त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक अझै सम्पन्न हुन सकेको छैन । यो सडक निर्माण सुरु भएको ६ वर्ष पुग्यो । कैयौंपटक म्याद थप गरियो । एक वर्षदेखि कामको प्रगति ९५ प्रतिशतमै अड्किएको छ । तीन खण्डमा ठेक्का गरिएको छ । तीनै खण्डमा शैलुङले ज्वाइन्ट भेन्चरमा काम गरेको हो । ९.१० किमि सडकको पहिलो र तेस्रो खण्ड शर्मा–शैलुङ–कान्छाराम जेभीले र दोस्रो खण्ड लुम्बिनी–शैलुङ–साप जेभीले ठेक्का लिएका हुन् । संशोधित ठेक्का रकम १ अर्ब ९ लाख ६१ हजारमध्ये ९७ करोड ३६ लाख ४५ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । सडक हस्तान्तरण नहुँदै केही स्थानमा क्र्यास आएको आयोजनाले जनाएको छ । ‘सबैको प्रगति ९५ प्रतिशत पुगिसकेको छ,’ सडक विस्तार आयोजनाका सूचना अधिकारी यादवले भने, ‘सडकपेटी मर्मत नगरेकाले ठेक्का हस्तान्तरण हुन सकेको छैन ।’ उनका अनुसार उपलब्ध चौडाइमा सडक विस्तारको काम भएको हो । निर्माण भएको एक वर्षभित्र सडक बिग्रिए निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्छ । ‘जति नै राम्रो सडक बनाए पनि नालीको व्यवस्थापन नगरे कालोपत्र टिक्दैन,’ उनले भने । केही ठेक्का ५/६ वर्षदेखि अड्किराखेको उनले बताए ।

राम्रो निर्माण सामग्री प्रयोग गरेर पिच गर्दा ६ वर्षसम्म सडक टिक्ने उनको भनाइ छ । त्यसपछि ओभरले (पिचमाथि पिच) र मर्मतमा जानुपर्ने हुन्छ । कलंकी खण्डमा केही ठाउँमा क्र्यास आएको र त्यसको मर्मत गरेर मात्र फाइनल गर्ने उनको भनाइ छ । मर्मत गर्न निर्माण व्यवसायी मानेका छैनन् । ‘ठेक्का सम्पन्न गरेर हस्तान्तरण नगरेसम्म मर्मत निर्माण व्यवसायीले नै गर्नुपर्छ,’ उनले भने ।

***

नख्खुखोला–भैंसेपाटी–बुङमती सडकको काम अहिले अलपत्र छ । दुई खण्डमा ठेक्का गरिएको छ, जसको आशिष–बिरुवा–सीएम जेभीले २०७५ कात्तिकमा सक्ने गरी २०७३ असारमा ठेक्का लिएको हो । भौतिक प्रगति अहिलेसम्म ६५ प्रतिशत मात्र छ । त्यस्तै अर्को खण्डको पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले २०७६ असारमा काम सक्ने गरी २०७४ साउनमा ठेक्का लिएको थियो । यो सडकको प्रगति ७० प्रतिशत मात्र छ । ‘यो सडक विस्तारमा निर्माण व्यवसायीकै कमजोरी देखिएको छ,’ सूचना अधिकारी यादवले भने, ‘चिठी लेखेर काम गर्न भनेका छौं, अदालतमा मुद्दा पनि पर्‍यो, त्यसैले ढिलाइ भएको हो ।’

आशिष–बिरुवा–सीएम जेभीले लिएको ठेक्कामा समस्या रहेको उनको भनाइ छ । काम सम्पन्न नगरे कुल ठेक्का रकममा १० प्रतिशत जरिवाना गराएर काम गराउने उनको दाबी छ ।

***

चाबहिल–जोरपाटी–साँखु सडकको हालत पनि उस्तै छ । ठेक्का भएको लामो समय बितिसक्यो, काम सम्पन्न भएको छैन । अहिले प्रायः सबै ठेक्काको म्याद सकिएको छ । बजेटमा भनिएअनुसार ती ठेक्काको म्याद स्वतः ६ महिना थपिनेछ ।

शैलुङ कन्स्ट्रक्सनका अध्यक्ष शारदाप्रसाद अधिकारीले भत्केको पाटी–नगरकोट सडकको काम दुई महिनाभित्र सक्ने दाबी गरेका छन् । ‘गत आवमै काम सकिन्थ्यो, पिच सुरु भएपछि लकडाउन भयो, फेरि वर्षात् सुरु भयो,’ उनले भने, ‘अब मौसम सफा हुनेबित्तिकै पिचको काम सक्छौं ।’ उक्त खण्डमा पूरै पिच गर्न बाँकी रहेको उनले बताए ।

काठमाडौंमा आफूले ठेक्का लिएका सबै आयोजना सकिएको र केही सकिने चरणमा रहेको उनको दाबी छ । ‘अरू निर्माण व्यवसायीले ठेक्का लिएका प्रोजेक्टमा पनि हाम्रो कन्स्ट्रक्सनको नाम जोडिदिन्छन्,’ उनले भने, ‘राजनीतिक रूपमै मलाई घरबेटी बनाएर ब्रान्ड बनाइएको छ ।’ उनले कपनमा खानेपानीको काम मात्र बाँकी रहेको र त्यो पनि चाँडै सक्ने दाबी गरे । गुणस्तरहीन काम गर्ने ठेकेदारलाई कारबाहीको अधिकार पाएका अधिकारीहरू बरु बिग्रेको सडकमा ओहोरदोहोर गर्न तयार हुन्छन् तर राजनीतिक संरक्षण पाएर वर्षौंदेखि काम अलपत्र पार्ने, काम नगर्ने ठेकेदारलाई कारबाही गर्न अग्रसर हुँदैन ।

सबै सडक विभागअन्तर्गत पर्दैनन्

सडक विभागका उपमहानिर्देशक एवं सूचना अधिकारी शिवप्रसाद नेपालका अनुसार उपत्यकाको सहरी क्षेत्रमा करिब १ हजार ६ सय किमि सडक छ । जसमध्ये साढे ४ सय किमि मात्र सडक विभागअन्तर्गत पर्छ । बाँकी सडक स्थानीय निकायअन्तर्गत रहेको उनको भनाइ छ । ‘अहिले जहाँ सडक बिग्रे पनि किन बिग्रियो भन्दै विभागमा समस्या ठोक्किन आइपुग्छ,’ उनले भने, ‘यसरी आएपछि काम नगरी भएन ।’

सरकारले रकम उपलब्ध गराएर स्थानीय तहअन्तर्गतका सडकमा विभागले काम गरेको उनले बताए । ‘स्थानीय तहहरूसँग ८ मिटरसम्म चौडा सडक विभागले गर्ने र अन्य सडक स्थानीय तहले नै बनाउने सहमति भएको हो,’ उनले भने, ‘यो पूर्ण रूपमा पालना हुन सकेको छैन, नगरपालिकाहरूको पनि क्षमता बढ्न सकेको छैन ।’ उनी तयारीबिनै ठेक्का लगाउँदा त्यस्ता ठेक्का क्रोनिक बन्ने गरेको बताउँछन् ।

‘विगतमा तयारी नगरी ठेक्का लगाइयो,’ उनले भने, ‘ठेक्का गर्दै छौं, काम भइहाल्छ भन्ने हिसाबले गर्दा समस्या भएको हो ।’ यसमा ठेक्का लगाउने निकाय जिम्मेवार रहेको उनको भनाइ छ । पूर्वतयारीबिनाका ठेक्कामा अहिले बढी समस्या आएको छ । ‘पूर्वतयारी भनेको सडकमा पर्ने पोल, घर, पाइप सिफ्ट गर्न नसक्दा ठेक्का अड्किएर बसेका छन्,’ उनले भने, ‘काठमाडौंमा एउटा निकायले मात्र गरेर हुँदैन, धेरै वटा निकायको समन्वय चाहिने हुन्छ तर समन्वय नभएकाले समस्या परेको छ ।’

बेला–बेला निर्माण सामग्री अभावले समस्या हुने गरेको उनको भनाइ छ । ‘काम नगर्ने धेरैलाई जरिवाना गराइरहेका छौं, कतिलाई यो थाहा हुँदैन,’ उनले भने, ‘तर नियमअनुसार जरिवाना गराइराखिएको हुन्छ, यति गर्दा पनि काम नगरे ठेक्का तोड्ने प्रावधान छ ।’ उनका अनुसार पहिला देशभर चार सयको हाराहारीमा क्रोनिक ठेक्का थिए । अहिले घटेर एक सयभन्दा तल झरेको उनको दाबी छ ।

प्रकाशित : श्रावण ९, २०७८ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्

शान्त ओलम्पिक 

तामझामबिना नै टोकियो ओलम्पिक २०२० को उद्घाटन भयो, अब सबैको ध्यान ११ हजारभन्दा बढी खेलाडीमध्ये कसले पदक जित्ने भन्नेमा केन्द्रित हुनेछ
राजु घिसिङ

टोकियो — शक्ति र समृद्धि देखाउने अवसर हो, ओलम्पिक खेलकुद । १२५ वर्ष लामो इतिहासमा ओलम्पिकको उद्घाटन समारोह आयोजक देशले निकै तामझाम गर्दै आएका थिए । तर, ३२ औं संस्करणको उद्घाटन समारोह त्यस्तो भव्य भएन ।

जापानको टोकियोमा शुक्रबार सुरु ओलम्पिकको ३२ औं संस्करण उद्घाटन समारोहमा मार्चपास गर्दै नेपाली टोली र उद्घाटन समारोहको आतिसबाजी । तस्बिर : एनएसजेएफ र एएफपी

टोकियोस्थित ओलम्पिक रंगशालाको समारोहमा न हजारौं कलाकार थिए, न त प्यारापिट भरिने गरी दर्शक नै । विश्वकै शीर्ष नेताहरूको उपस्थिति रहने परम्पराले पनि निरन्तरता पाएन । झन्डै चार घण्टाको समारोहमा प्रविधिको भने उच्चतम प्रयोग गरियो जसका कारण टेलिभिजन र डिजिटल प्लेटफर्मका दर्शकले भने भव्य महसुस गरे ।

प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिक विश्वयुद्धको समयमा तीन संस्करण स्थगित भएको थियो । त्यसबाहेक ओलम्पिक सार्नुपरेको यसैपालि हो । कोरोना महामारीका कारण ग्रीष्मकालीन ओलम्पिक एक वर्ष ढिलो हुन पुग्यो । महामारीले नै टोकियो ओलम्पिक २०२० लाई सभ्य र शान्त रूप दिएको हो, तामझाममुक्त बनाएको हो । समारोहपूर्व रंगशालाको गेटबाहिर ओलम्पिक आयोजनाको विरोधमा केही स्थानीयले प्रदर्शन नै गरेका थिए । महामारीकै बेला आपत्काल लागू गरेर भएको ओलम्पिकलाई जापानी जनताले रुचाएका छैनन्, धेरै मानिस चुप बसेका छन्, थोरैले विरोध जनाएका छन् ।

आफ्नो संस्कृति विश्वलाई देखाउने अवसरमा पनि जापानले सम्झौता गर्‍यो । उसले आफ्नो सांस्कृतिक झाँकी र कलालाई थोरैमै देखायो । रंगशालालाई लेजर लाइट र आतिसबाजीले रंगीन बनाइयो । तर विगतजस्तै १ लाखभन्दा बढी हुने मानिसको उपस्थिति यसपालि १० हजार ४ सयमा झर्‍यो । यसमा मार्चपासमा सहभागी ६ हजार खेलाडी र पदाधिकारी, ९ सय अतिथि, १५ सय ब्रोडकास्टर र २ हजार पत्रकार थिए । जापानी राजधानीमा कोरोना संक्रमणले लगातार ३४ औं दिन रेकर्ड बनाएकाले पनि ६८ हजार दर्शक क्षमताको रंगशाला खाली भएको हो ।

जापानी वर्णमालाको क्रमअनुसार २०४ देशसहित शरणार्थी टिमका खेलाडी र पदाधिकारीले मार्चपास गरे । लैंगिक समानतालाई जोड दिइएको यो ओलम्पिकमा नेपालको राष्ट्रिय झन्डा पौडी खेलाडी गौरिका सिंह र अलेक्जेन्डर (एलेक्स) शाहले बोके । जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार भने शनिबार बिहानै प्रतिस्पर्धा गर्नुपर्ने भएकाले मार्चपासमा सहभागी भएनन् । जुडोका प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका असिम यादव पनि ओलम्पिक भिलेजमै रहे । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल र सांसद तुलसा थापासहित ६ पदाधिकारी भने मार्चपासमा हात हल्लाइरहेका थिए । यो ओलम्पिकमा नेपालका ५ खेलाडी सहभागी हुँदै छन् । त्यसमध्ये एथलेटिक्सकी सरस्वती चौधरी शनिबारमात्रै काठमाडौंबाट उड्नेछिन् ।

समारोहमा जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखको उपस्थिति रहे पनि विगतजस्तै विश्वकै शीर्ष नेताहरूको लस्कर टोकियोमा भएन । महामारीले सबैको मुखमा मास्क अनिवार्य बनाइदिएको छ भने अँगालो हाल्न र हाई फाइव गर्न प्रतिबन्ध लगाइएको छ ।

सन् १९६४ पछि टोकियोले फेरि ओलम्पिक आयोजना गर्दा ३३ खेलमा ११ हजार बढी खेलाडीले अगस्ट ८ सम्म प्रतिस्पर्धा गर्दै छन् । यसपालि कसले धेरै पदक जित्छ भन्दा पनि महामारीबाट सुरक्षित तरिकाले कसरी प्रतिस्पर्धा गर्ने भन्नेमै ओलम्पिकले ध्यान खिचेको छ । तर पदकको प्रतिस्पर्धा त शनिबारदेखि भइहाल्छ नै ।

ओलम्पिक ज्योति बाल्दै जापानी टेनिस खेलाडी नाओमी ओसाका ।

प्रकाशित : श्रावण ९, २०७८ ०६:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×