कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसपाको आधिकारिकता यादवले पाउँदै

काठमाडौँ — जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने करिब निश्चित भएको छ । निर्वाचन आयोगले पार्टी एकीकरणका बेला गत वर्ष आयोगमा पेस भएको कार्यकारिणी समितिलाई मान्यता दिँदै त्यसैमा रहेका सदस्यहरूको ‘हेड काउन्ट’ गर्न आदेश दिएपछि आधिकारिकता यादव पक्षले पाउने देखिएको छ । 

जसपाको आधिकारिकता यादवले पाउँदै

५१ सदस्यीय कार्यकारिणी समितिमा यादवको सहज बहुमत रहेको मानिएको छ । यादवले ३० जनाको हस्ताक्षर आयोगमा बुझाएका छन् । कार्यकारिणी समितिका सदस्यहरूलाई साउन ११ गते बिहान ११ बजे नागरिकताको सक्कल प्रतिसहित सनाखतका लागि आयोगमा बोलाइएको छ । आयोगको इजलासले दुई पक्षको बहस सुनेर बिहीबार त्यस्तो आदेश गरेको हो । आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको सनाखत लिइसकेपछि त्यही दिन फैसलासमेत दिनेछ ।

आयोगका सचिव सुरेश अधिकारीले दुवै पक्षले उपलब्ध गराएको कागजात तथा प्रमाणका आधारमा मात्रै निर्णयमा पुग्न कठिनाइ भएपछि आयोगले समितिका सदस्यहरूको सनाखत नै गर्ने आदेश दिएको बताए । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर गत वर्ष असार १२ मा आयोगमा बुझाइएको केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सनाखत गर्ने आदेश भएको उनले जानकारी दिए ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टी दर्ताका बखत कायम रहेको कार्यकारिणी समितिमा हेरफेर गरिएको दाबी आयोगमा गरेका थिए । आयोगले त्यसलाई मान्यता दिएको देखिएन । पुरानै कार्यकारिणी समितिको सनाखत गर्नुको आशय नै त्यसयता गरिएको कुनै पनि हेरफेरले मान्यता नपाएको ठहरिनु रहेको आयोग स्रोतले उल्लेख गरेको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय समितिमा बहुमत हुने पक्षले दलको आधिकारिकता पाउने र अल्पमत हुने पक्षलाई आयोगले नयाँ दल दर्ताको अवसर दिने व्यवस्था छ । कार्यकारिणी समितिमा यादव पक्षको बहुमत पुग्ने निश्चित रहेकाले ठाकुर पक्षलाई आयोगले नयाँ दल दर्ताको अवसर दिन सक्छ । गत वर्ष वैशाखमा दुई दल एकीकरण भएर जसपा गठन भएको थियो । एकताको डेढ वर्ष नपुग्दै जसपा औपचारिक रूपमै विभाजन हुन लागेको छ ।

प्रकाशित : श्रावण ८, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?