भारतीय बाँधले २ सय हेक्टर खेत डुब्यो- समाचार - कान्तिपुर समाचार

भारतीय बाँधले २ सय हेक्टर खेत डुब्यो

मनोज पौडेल

कपिलवस्तु — यशोधरा गाउँपालिका–२ भावपुरका ओमप्रकाश पाण्डे खेतको चारैतिर पानी भरिएको देख्दा अबका दिन परिवारको हातमुख कसरी जोर्ने भन्ने चिन्तामा छन् । उनले सम्पूर्णा जातको धान असारमा दुई पटक रोपे । दुवै पटक डुबानले नष्ट गर्‍यो । तेस्रो पटकको रोपो पनि साता दिन नपुग्दै फेरि डुबानमा परेको छ ।

कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित सीमा क्षेत्रमा भारतले बनाएको बजहासागर बाँधका कारण डुबेको धान खेत हेर्दै स्थानीय । तस्बिर : मनोज पौडेल/कान्तिपुर

‘यसपालि त १६ जना मजदुर लगाएर पाँच दिनसम्म रोपेको थिएँ,’ उनले भने, ‘पूरै लगानी काम नलाग्ने भएपछि अहिले खेततिर जान मन पनि छैन ।’

मायादेवी गाउँपालिका–४ तुल्सीडिहवाका राजु यादवले त ऋण लिएरै धान लगाएका थिए । डुबानले पहेंलिन थालेपछि उनी चिन्तामा छन् । ‘जता हेर्‍यो उतै पानीपानी छ,’ उनले भने, ‘पहिलो पटक असार दोस्रो साता रोपेको धान पहेंलिएर गल्यो । फेरि साउनको सुरुमै दोस्रो पटक ११ बिघामा रोपें । अहिले त्यो पनि डुबानले पहेंलियो ।’

भारतीय बजहा सागर बाँधका कारण यहाँको २ सय हेक्टर धान खेत डुबाएको छ । बजहा सागरको पश्चिम–दक्षिणमा २० र ८ ढोके दुईवटा पक्की बाँध छन् । २० ढोके बाँध ५० मिटर र ८ ढोके बाँध २० मिटर लामा छन् । फाटक ५ मिटर चौडा छ । यसले पानीजति नेपाल फर्किंदा रोपेको धान बाली डुबेको हो । महिना दिनदेखि नियमितजसो वर्षा भइरहेको छ ।

भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हियाँ थानाअन्तर्गत बजहामा सीमासँगै जोडेर बाँध बनाइएको छ । उत्तरमा रहेको नदीको पानी जम्मा गरेर भारतले सिँचाइ गर्दै आएको छ । विशेषगरी हिउँदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । अत्यधिक पानी पर्दा बाँधका ढोका नखोलिँदा नेपालतिर डुबान भएको हो । नेपालबाट गएको जमुवार खोलाको पानी पनि त्यही बाँधमा पुग्छ । वर्षाको भेलको पानी बाँधमा ठोक्किएर उर्लिंदा आसपासका धान खेत डुबेका हुन् ।

बाँधकै कारण ५ किमि पर रहेको यशोधरा–२ भावपुरपूर्वको १ सय बिघाभन्दा बढी धान खेत डुबाएको छ । पहिलो पटक गत असार दोस्रो साता खेत डुबेपछि साउनमा १ सयभन्दा बढी कृषकले दोस्रो पटक रोपेका थिए । ‘एक दशकपछि पानीले नराम्ररी खेत डुबाएको हो,’ भावपुरका कृषक जावेद बढईले भने, ‘यस पटक परिवारको मुखमा माड लगाउन पनि सक्ने अवस्था रहेन ।’ यशोधरा–३ लोहरौली गाउँको पूर्व सीमा, मायादेवी–४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँमा लगाइएको खेत डुबानमा छन् । यशोधरा–१ रजवापुर, वडा–६ को पुन्नीहवा र पकडीमा पनि क्षति पुगेको छ ।

गत असारमा १० हजार रुपैयाँ खर्च गरेर ३ बिघा खेतमा लगाएको नीलम जातको धान डुबानमा परेको भावपुरका रामदास धोबीले बताए । सहकारीबाट ५ हजार रुपैयाँ ऋण लिएर दोस्रो पटक धान रोपेको उनको भनाइ छ । ‘अहिले फेरि उस्तै बनाइदियो,’ उनले भने, ‘सात जनाको परिवार अब कसरी पाल्ने भनेर टाउको समाएर बसेको छु ।’

बाँधका कारण ५५२/४७ नम्बरको सीमास्तम्भ पूरै डुबेको छ । उक्त स्तम्भ वर्षमा १० महिना डुब्ने गर्छ । डुबानकै कारण २०७१ असोजमा ढलेको उक्त स्तम्भ वर्ष दिनपछि मर्मत गरिएको थियो । चार/पाँच वर्षअघि बाँधमाथिबाट एउटा मोटरसाइकल मात्र आवतजावत गर्ने बाटो थियो । अहिले विस्तार गरेर चार चक्के ठूला सवारीसाधन चल्ने बनाइएको छ ।

बाँध पनि उँचो बनाउँदै लगिएको छ । यसले नेपालतिर डुबान क्षेत्र बढेको स्थानीय जयबुद्ध यादवले बताए । बाँधको उचाइ बढ्दै जाँदा नेपालतिर पानी बढी जम्मा हुने गरेको हो । सरकारले वार्ता गरेर यसको दिगो समाधान खोज्नुपर्ने तुल्सीडिहवाका वंशगोपाल यादवको सुझाव छ । ‘नभए तुल्सीडिहवा गाउँका १४ घर बसाइँ सरेर अर्को ठाउँ जानुको विकल्प छैन,’ उनले भने । गाउँ नै डुबानमा पर्ने जोखिम बढेपछि स्थानीयले राति लुकीलुकी जोखिम मोलेर बाँधका ढोका खोल्ने गरेका छन् । बाँधका ढोका खोल्न भारतीय अधिकारीलाई समन्वय गरी आग्रह गरिएको प्रजिअ चक्रपाणि पाण्डेले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

महलीसागर बाँधले चार गाउँ डुबान

 भगवानपुर, रंगपुर, भैइसहिया र लोहरौली गाउँमा एक सय हेक्टरभन्दा बढी धानबाली डुब्यो
 किसान भन्छन्– ‘अब बीउ उमारेर रोप्न पनि भ्याइँदैन’, सहमतिमा बनाइएको पुरानो पाँचढोके बाँध मर्मत गर्ने भन्दै भारतले नयाँ संरचना निर्माण गर्दै आएको छ
मनोज पौडेल

कपिलवस्तु — यशोधरा गाउँपालिका–५ भगवानपुरका लालजी यादव आफ्नो ९ बिघा खेत खुट्याउन सक्दैनन् । ‘चारैतिर पानीपानी छ,’ उनले भने, ‘धान डुबेर देखिँदैन ।’ गत सोमबार मात्रै उनले रोपाइँ सकेका थिए । तीन दिनसम्म सात जना कामदार लगाएर रोपेका थिए ।

भारतले कपिलवस्तुको यशोधरा–५ स्थित सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधले डुबाएको धान खेत । तस्बिर : मनोज/कान्तिपुर

धान डुबाउँदा खर्च र मिहिनेत सबै काम नलाग्ने भयो । उनीजस्तै भगवानपुरकै सर्वजीत यादवले दुई कट्ठाको सात सय रुपैयाँका दरले १४ कट्ठा खेत रोपाए । ‘आइतबार रोपेर भ्याइयो,’ उनले भने, ‘बुधबार पानीले डुबायो ।’ दुःख र कष्ट गरी खर्च जोहो गरेर रोपाइँ गरेका थिए ।

भारतले सीमा क्षेत्रमा बनाएको महलीसागर बाँधले यशोधरा गाउँपालिकाका चार गाउँका कृषकको धानबाली डुबानमा परेको छ । यसले कृषक समस्यामा छन् । बाँधको १५ फाटकमा एक मिटर चौडा डेढ मिटर लम्बाइको मोटामोटा सालको पटरा राखेर पानी छेकेको छ । पटराले ढोकाको काम गरेको छ । यसले पानीजति नेपालतिर फर्कंदा रोप्दै गरेको धानबाली डुबेको हो ।

सीमा क्षेत्रबाट ३ सय मिटरको दूरीमा बाँध छ । २०५९ सालदेखि भारतको सिद्धार्थनगर जिल्ला, थाना सोहरतगढअन्तर्गत महली गाउँमा भारतले बनाउन लागेको १५ ढोके बाँध नेपाली पक्षको विरोधका कारण पूरा हुन सकेको छैन । सातायतादेखि दैनिकजसो पानी परिरहेको छ । बाँधको ढोकामा काठको पटरा लगाइदिएपछि मंगलबार साँझबाट सीमामा रहेको सागरमा पानी जम्मा हुन थालेको हो । बिस्तारै पानी बढ्दै गएर बुधबारबाट भर्खर रोपेको धान डुब्न थालेको कृषक सन्तराम केवटले बताए । भगवानपुर, रंगपुर, भैइसहिया र लोहरौली गाउँको एक सय हेक्टरभन्दा बढी खेतमा रोपिएको धानबाली डुबेको छ । ‘बिहीबार पानी बढ्दै गएको छ,’ कृषक केवटले भने, ‘रोपेको धान देखिनै छोड्यो ।’

पानीले दुई–तीन दिनमै रोपेको धान पहेंलिने ७० वर्षीय फुर्सत अली धुनियाले बताए । ‘६ जनाको परिवारको चुलोचौको कसरी गर्ने ?,’ उनले भने, ‘ऋण गर्जो गरेर ८ हजार खर्च गरी ३ बिघामा धान रोपें, सबै डुबेर बोट गलेर मर्‍यो ।’ अब कसरी घर व्यवहार गर्ने भन्ने चिन्ताले निदाउन छाडेको उनले बताए । मानो छरेर मुरी फलाउने कृषक अहिले रोपेको धानखेती पानीमा डुबेपछि चिन्तित बनेका छन् । वर्ष दिनको घरगर्जो कसरी टार्ने भन्ने समस्यामा छन् । हातमुख जोर्नेदेखि लालाबालाको पठनपाठन अन्नपात बेचेरै गर्थे । धान खेत डुबानमा परेपछि अब गाह्रो हुने उनीहरूले बताए । ‘खेती गर्न ब्याड राखेको बीउ रोपेर भ्यायौं,’ कृषक विष्णुप्रसाद केवटले भने, ‘२ बिघामा रोपेको सावा मन्सुली धान बग्यो ।’ अब कहाँबाट बीउ ल्याएर रोप्ने भन्ने चिन्तामा उनी छन् । गाउँका सबैको अवस्था यस्तै छ । यस वर्ष भोकभोकै बस्नुपर्ने दिन आउला जस्तो रहेको उनले बताए । ‘छरछिमेककाले रोपेर भ्याइसके,’ उनले भने, ‘अब बीउ उमारेर रोप्न पनि भ्याइँदैन, समस्यै समस्यामा छौं ।’

बाँधपीडित भगवानपुरका बासिन्दाले असारदेखि कात्तिकसम्म अत्यधिक वर्षा नहोस् भनेर भगवानसँग कामना गर्दै बस्छन् । ‘बढी वर्षा भएको ७/८ घण्टामा डुबान हुन्छ,’ शान्ति यादवले भने, ‘वर्षा भएन भने पनि धान हुँदैन ।’ बीउ राख्न पानी नपर्दा आकाशतिर हेरेर बस्नुपर्ने उनले बताए । धेरै पानी परे लालाबाला र घर जोगाउन मुस्किल पर्छ । बढी वर्षा भयो भने गाउँको घरसम्मै डुबान हुन्छ । बाँधले तीन सय हेक्टर बढी नेपाली भूभाग डुबानमा पर्ने गरेको नेपाली प्राविधिकले बताए । बाँधकै कारण नेपाल–भारत ५५३ र ५५४ नम्बरको सीमा स्तम्भ पनि वर्षाका बेला डुबानमा पर्ने गरेको छ ।

नेपालबाट हुने हरेक उच्चस्तरीय भ्रमणका बेला बाँध पीडितले समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र दिने गरे पनि दुई दशक भइसक्दा पनि समस्या समाधान नभएको स्थानीय सन्तराम केवटले गुनासो गरे । ‘मुलुकमा नयाँ प्रधानमन्त्री बन्नासाथ भारत भ्रमण गर्ने चलन छ,’ उनले भने, ‘त्यसैको पूर्वसन्ध्यामा भ्रमणमा जाने प्रधानमन्त्रीलाई समस्या समाधान गर्न ध्यानाकर्षणका लागि प्रशासन कार्यालय पुग्ने गर्छौं ।’ तर, अहिलेसम्म सुनुवाइ नभएको उनले बताए । ‘कतिपटक प्रशासनमा समस्या समाधान गर्न ज्ञापनपत्र दिइयो सम्झना छैन,’ स्थानीय हरिलाल यादवले भने, ‘बाँधकै स्थलगत अवलोकन गर्न आउने मन्त्री र नेताको ध्यानाकर्षण पनि गरायौं ।’

स्थानीय रामदास यादवले एक दशकदेखि डुबानले गर्दा अन्नबाली स्याहार्न नपाएको दुखेसो पोखे । ‘मिहिनेत र मजदुरी गरी जोडेको ५ कट्ठा खेत सधैं डुबानमा पर्छ,’ उनले भने, ‘अहिले धेरै चिन्तित छु ।’

सन् १९०१ मा नेपालको सहमतिमा बनाइएको पुरानो पाँचढोके बाँधको मर्मतका नाममा भारतले सधैं त्यो बाँधको मर्मतसम्भार गरेको भनेर नयाँ बाँधको संरचना निर्माण गर्दै आइरहेको छ । बाँधको विषयलाई लिएर जब बढी विवाद हुन्छ अनि बाँधको मर्मतसम्भार भनेर भारतले आफ्नो भनाइ अगाडि ल्याउँछ । अहिले महलीसागरमा सन् १९०१ मा बनाइएको पुरानो पाँचढोके बाँध र २०५९ सालमा निर्माण थालिएको नयाँ १५ ढोके बाँध (ढोका मात्र राख्न बाँकी) संरचना छन् ।

बाँध निर्माण थालेपछि नेपाली पक्षको तीव्र विरोध भएपछि बाँध निर्माण कार्य पूरा हुन पाएको छैन । बाँध सदरमुकाम तौलिहवादेखि करिब १० किमि दक्षिणमा पर्छ । बाँध स्थलमा एसएसबीको सुरक्षा छ । डुबान समस्या समाधान गर्न भारतीय समकक्षी सिद्धार्थनगरका डीएमलाई आग्रह गरेको प्रजिअ चक्रपाणि पाण्डेले बताए । समस्या समाधान गर्न प्रशासनलाई आग्रह गरिएको यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले बताए । ‘द्विदेशीय कुरा भएकाले माथिल्लो स्तरबाट समाधान खोज्नुपर्छ,’ उनले भने, ‘पीडितलाई गाउँपालिकाबाट हुन सक्ने राहत दिनेछौं ।’

प्रकाशित : असार २५, २०७८ ०९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×