१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतीय बाँधले २ सय हेक्टर खेत डुब्यो

मनोज पौडेल

कपिलवस्तु — यशोधरा गाउँपालिका–२ भावपुरका ओमप्रकाश पाण्डे खेतको चारैतिर पानी भरिएको देख्दा अबका दिन परिवारको हातमुख कसरी जोर्ने भन्ने चिन्तामा छन् । उनले सम्पूर्णा जातको धान असारमा दुई पटक रोपे । दुवै पटक डुबानले नष्ट गर्‍यो । तेस्रो पटकको रोपो पनि साता दिन नपुग्दै फेरि डुबानमा परेको छ ।

भारतीय बाँधले २ सय हेक्टर खेत डुब्यो

‘यसपालि त १६ जना मजदुर लगाएर पाँच दिनसम्म रोपेको थिएँ,’ उनले भने, ‘पूरै लगानी काम नलाग्ने भएपछि अहिले खेततिर जान मन पनि छैन ।’

मायादेवी गाउँपालिका–४ तुल्सीडिहवाका राजु यादवले त ऋण लिएरै धान लगाएका थिए । डुबानले पहेंलिन थालेपछि उनी चिन्तामा छन् । ‘जता हेर्‍यो उतै पानीपानी छ,’ उनले भने, ‘पहिलो पटक असार दोस्रो साता रोपेको धान पहेंलिएर गल्यो । फेरि साउनको सुरुमै दोस्रो पटक ११ बिघामा रोपें । अहिले त्यो पनि डुबानले पहेंलियो ।’

भारतीय बजहा सागर बाँधका कारण यहाँको २ सय हेक्टर धान खेत डुबाएको छ । बजहा सागरको पश्चिम–दक्षिणमा २० र ८ ढोके दुईवटा पक्की बाँध छन् । २० ढोके बाँध ५० मिटर र ८ ढोके बाँध २० मिटर लामा छन् । फाटक ५ मिटर चौडा छ । यसले पानीजति नेपाल फर्किंदा रोपेको धान बाली डुबेको हो । महिना दिनदेखि नियमितजसो वर्षा भइरहेको छ ।

भारतको सिद्धार्थनगर जिल्लास्थित चिल्हियाँ थानाअन्तर्गत बजहामा सीमासँगै जोडेर बाँध बनाइएको छ । उत्तरमा रहेको नदीको पानी जम्मा गरेर भारतले सिँचाइ गर्दै आएको छ । विशेषगरी हिउँदलाई लक्षित गरेर पानी जम्मा गरिन्छ । अत्यधिक पानी पर्दा बाँधका ढोका नखोलिँदा नेपालतिर डुबान भएको हो । नेपालबाट गएको जमुवार खोलाको पानी पनि त्यही बाँधमा पुग्छ । वर्षाको भेलको पानी बाँधमा ठोक्किएर उर्लिंदा आसपासका धान खेत डुबेका हुन् ।

बाँधकै कारण ५ किमि पर रहेको यशोधरा–२ भावपुरपूर्वको १ सय बिघाभन्दा बढी धान खेत डुबाएको छ । पहिलो पटक गत असार दोस्रो साता खेत डुबेपछि साउनमा १ सयभन्दा बढी कृषकले दोस्रो पटक रोपेका थिए । ‘एक दशकपछि पानीले नराम्ररी खेत डुबाएको हो,’ भावपुरका कृषक जावेद बढईले भने, ‘यस पटक परिवारको मुखमा माड लगाउन पनि सक्ने अवस्था रहेन ।’ यशोधरा–३ लोहरौली गाउँको पूर्व सीमा, मायादेवी–४ का तुल्सीडिहवा, गौरा, सिसहनिया र सिहोरवा गाउँमा लगाइएको खेत डुबानमा छन् । यशोधरा–१ रजवापुर, वडा–६ को पुन्नीहवा र पकडीमा पनि क्षति पुगेको छ ।

गत असारमा १० हजार रुपैयाँ खर्च गरेर ३ बिघा खेतमा लगाएको नीलम जातको धान डुबानमा परेको भावपुरका रामदास धोबीले बताए । सहकारीबाट ५ हजार रुपैयाँ ऋण लिएर दोस्रो पटक धान रोपेको उनको भनाइ छ । ‘अहिले फेरि उस्तै बनाइदियो,’ उनले भने, ‘सात जनाको परिवार अब कसरी पाल्ने भनेर टाउको समाएर बसेको छु ।’

बाँधका कारण ५५२/४७ नम्बरको सीमास्तम्भ पूरै डुबेको छ । उक्त स्तम्भ वर्षमा १० महिना डुब्ने गर्छ । डुबानकै कारण २०७१ असोजमा ढलेको उक्त स्तम्भ वर्ष दिनपछि मर्मत गरिएको थियो । चार/पाँच वर्षअघि बाँधमाथिबाट एउटा मोटरसाइकल मात्र आवतजावत गर्ने बाटो थियो । अहिले विस्तार गरेर चार चक्के ठूला सवारीसाधन चल्ने बनाइएको छ ।

बाँध पनि उँचो बनाउँदै लगिएको छ । यसले नेपालतिर डुबान क्षेत्र बढेको स्थानीय जयबुद्ध यादवले बताए । बाँधको उचाइ बढ्दै जाँदा नेपालतिर पानी बढी जम्मा हुने गरेको हो । सरकारले वार्ता गरेर यसको दिगो समाधान खोज्नुपर्ने तुल्सीडिहवाका वंशगोपाल यादवको सुझाव छ । ‘नभए तुल्सीडिहवा गाउँका १४ घर बसाइँ सरेर अर्को ठाउँ जानुको विकल्प छैन,’ उनले भने । गाउँ नै डुबानमा पर्ने जोखिम बढेपछि स्थानीयले राति लुकीलुकी जोखिम मोलेर बाँधका ढोका खोल्ने गरेका छन् । बाँधका ढोका खोल्न भारतीय अधिकारीलाई समन्वय गरी आग्रह गरिएको प्रजिअ चक्रपाणि पाण्डेले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?