कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सर्लाहीका आधा दर्जन बस्ती बाढीको जोखिममा

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको मध्यभाग भएर बग्ने लखन्देही खोलामा आएको बाढीले जिल्लाका तीन स्थानको बाँध भत्काएको छ । चक्रघट्टा गाउँपालिका–१ शिवनगरस्थित खोलाले बाँध भत्काएको हो । जग्गा कटान गर्दै खोला बस्तीतर्फ सोझिने खतरा छ भने आधा दर्जन बस्ती उच्च जोखिममा छन् ।

सर्लाहीका आधा दर्जन बस्ती बाढीको जोखिममा

लखन्देहीको कटानले शिवनगरसहित बिनगरा, मदनपुर र पडरियालगायतका बस्ती उच्च जोखिममा छ । यस्तै, कौडेना गाउँपालिका–७ सक्रौल र मलंगवा नगरपालिका–५ भाँडसरमा पनि लखन्देहीले बाँध भत्काएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । बाँध भत्काएको ठाउँमा प्रजिअसहित टोल बिहीबार स्थलगत निरीक्षणमा पुगेको थियो ।

बाँध भत्किएको ठाउँमा खोलाको तीव्र कटान गरिरहेकाले जोखिम बढ्दै गएको शिवनगरका पूर्वगाविस अध्यक्ष राजगिर रायले बताए । गत वर्ष पनि बाँध भत्किएपछि जनताको तटबन्ध कार्यालयले रोकथामको प्रयास गरेको थियो ।

यहाँका स्थानीय चार दिनयता निदाउन पाएका छैनन् । ‘दिउँसो त खोला हेरेर फर्किन्छौं, राति खोलाको गर्जनले सुत्न दिँदैन,’ स्थानीय राजकिशोर यादवले भने, ‘हामी एकदम जोखिममा छौं, हाम्रो बस्ती जोगाइदिनुपर्‍यो ।’ बाँध कटान गरेको क्षेत्रमा लगाइएको रूख स्थानीयले काटेर घर लान थालेपछि झन् समस्या थपिएको हो । गत वर्ष त्यही क्षेत्रमा बाँस लगाएर परकोपाइन विधिबाट खोलामा अस्थायी तटबन्ध निर्माण गरिएको थियो ।

चक्रघट्टा गाउँपालिका अध्यक्ष विक्रम यादव भने जनताको तटबन्ध कार्यालयको लापरबाहीले यो समस्या निम्तिएको दाबी गर्छन् । उनले पटक–पटक कार्यालयलाई जानकारी गराउँदा पनि बेवास्ता भएको आरोप लगाए । तर, कार्यालयले भने बजेट नै नभएका कारण यो क्षेत्रमा काम गर्न नसकिएको जनाएको छ ।

‘बोरासहितको प्राविधिक टोली मर्मतको काममा खटाउन तयार छौं,’ जनताको तटबन्ध कार्यालय हरिपुरका प्रमुख रवीन्द्र शर्माले भने । कटान भएको क्षेत्रमा अस्थायी बाँध निर्माण गर्न स्थानीय तह, जलस्रोत र सिँचाइ विभागसँग समन्वय भइरहेको प्रजिअ महतोले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?