कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मर्स्याङ्दीको धार चामेतिर

गाउँपालिका र रेडक्रसलगायतका कार्यालय अन्यत्र सारियो 
आश गुरुङ

लमजुङ — एकनास बगिरहेको धमिलो बाढी घट्ने कुनै सुरसार छैन । माथिल्लो मनाङ जान निर्माण गरिएको बेलिब्रिज बाँधजस्तै देखिएको छ । धार परिवर्तन गरेपछि पानीको बाढीको बहाव चामे बजारतर्फ बढेको छ ।

मर्स्याङ्दीको धार चामेतिर

बाढीले लोकप्रिय माविको एउटा मात्रै भवन सग्लो राखेको छ । ‘मर्स्याङ्दीले स्कुलतर्फ च्याप्दै छ,’ प्रधानाध्यापक शंकरदास कोइरालाले भने, ‘बाँकी भवन पनि जान्छ । सिंगो चामे र मनाङ मर्स्याङ्दीमा बग्दै छ । अब के गर्ने ?’

मर्स्याङ्दीले पक्की पर्खाल उठाएर बनाएको खेलमैदान सबै बगाइसकेको । हाल नदी ५०/६० मिटर वर बगेको छ । ‘हेर्दाहेर्दै डाइनिङ हल, कार्यालय, शिक्षक आवास, कक्षाकोठा बगायो । कति राम्रा, चिटिक्कका कोठा थिए । सबै लग्यो,’ उनले भने, ‘यस्तो कहिल्यै देखेको थिएन । बर्बादै बनायो ।’

बर्खायाममा मर्स्याङ्दी जति उर्लिए पनि बाटोसम्म भने कहिल्यै नआएको चामे गाउँपालिका–५ का अध्यक्ष कैले गुरुङले बताए । बुधबार रातिदेखिको बाढीले चामे बजारतर्फ कटान बढाउँदै वडा ४ को कार्यालय र गाउँपालिकाको आवास जोखिममा परेपछि सरेको छ । रेडक्रस पनि सरेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी शारदा चालिसेका अनुसार बाढीबाट जोगिन अब भाग्ने ठाउँ पाउन मुस्किल छ । उनका अनुसार प्रभु बैंक, सिटिजन बैंकको कार्यालय पनि सारिएको छ । केही होटल, खाजा पसल तथा स्थानीय पनि सरेका छन् । ‘प्रहरी जोखिम मोलेर काम गरिरहेका छन् । हामी आफैं खटिएका छौं,’ उनले भनिन्, ‘मर्स्याङ्दीले यस्तै कटान गरिरहे चामे बजार संकटमा पर्छ ।’

मनाङलाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरे पनि नागरिक, सार्वजनिक तथा निजी सम्पत्ति जोगाउन जिल्लास्थित सरकारी निकायबाहेक प्रदेश र संघीय सरकारलेचासो दिइएको छैन । चामेस्थित सशस्त्र प्रहरी बलको ३२ नम्बर गुल्मका डीएसपी होमनाथ पन्थीले थप क्षति हुन नदिन आफूहरू खटिएको भए पनि सफलता प्राप्त हुन नसकेको बताए ।


जेठ १४ र ३१ यताको वर्षा र बाढीपहिरोपछि मनाङमा ठूलो क्षति भयो । मनकारीले हेलिकप्टरमार्फत राहत पुर्‍याउनेबाहेक खाद्यान्न ढुवानी ठप्प छ । सडक सञ्जाल अवरुद्ध छ ।

प्रजिअ विष्णु लामिछानेले बाढीपहिरोबाट ७० घर पूर्णरूपमा क्षति भएको बताए । करिब २ सय घरमा आंशिक क्षति पुगेको अनुमान छ । उनका अनुसार सुरुमा १ हजार जना विस्थापित भएका थिए । तीमध्ये केही घर फर्किएका छन् । जिल्लाभित्र र बाहिरका ६ सय विस्थापित रहेका उनले बताए । ‘हामी निकै तनावमा छौं । कहाँ के गर्ने र के गर्न सकिन्छ भन्नेमा चिन्तित छौं,’ उनले भने, ‘तर के गर्नु, बाढी घटेन । झन् चामे बजार नै जोखिममा परेको छ ।’

प्रकाशित : श्रावण ८, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?