पुष्पलालले रोपेको बिरुवालाई मर्न दिने छैनौं : ओली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुष्पलालले रोपेको बिरुवालाई मर्न दिने छैनौं : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका असन्तुष्ट पक्षलाई एकजुट भएर अघि बढ्न आह्वान गरेका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलन मजबुत पार्न एकताका लागि आह्वान गरेका हुन् । 

एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीप्रति असन्तुष्ट बनेको छ ।

'अहिले को कहाँ छौं भन्ने छोडौं । देश, जनताका कुरा गरौं । बाटो बिराएर भड्किएका साथीहरुलाई भन्न चाहन्छु । आउनुस् मिलेर काम गरौं, यस आन्दोलनलाई मजबुद पारौं । एकजुट भएर जाऔं,' अध्यक्ष ओलीले भने, 'यस आन्दोलनले ठूलो क्षति व्यहोरेको छ, फेरि एकजुट भएर अगाडि बढौं ।'

'पुष्पलालले रोपेको बिरुवालाई मर्न दिने छैनौं । यो बिरुवा सानोतिनो हावाहुरीले ढालीहाल्ने हैन । पुष्पलालले रोपेको बिरुवालाई मदन भण्डारीले स्याहारसुसार गरेर वैचारिक ढंगले अद्यावधिक, प्रवलीकरण गरेर जसरी अगाडि बढेको छ,' अध्यक्ष ओलीले भने, 'विशाल, मजबुद, राष्ट्रव्यापी...जहाँ-जहाँ नेपाली पुग्छन्, त्यहाँ एमाले पुग्छ ।'

तत्कालीन प्रधानमन्त्री रहेका ओलीले आफ्नो नेतृत्वको सरकार बनेदेखि नै ढाल्न प्रयास गरिएको उल्लेख गर्दै सरकार ढले पनि एमाले संसद् र आन्दोलनमा प्रमुख पार्टी रहेको बताए । 'दुनियाँ लागेर पनि खुट्टा हल्लाउन नसकेपछि परमादेशबाट ढालियो । अहिले जेसुकै जहाँसुकैबाट ढाले पनि संसद्‌मा एमाले प्रमुख पार्टी हो । प्रदेश, स्थानीय तह, राष्ट्रिय सभामा एमाले प्रमुख पार्टी हो । यो आन्दोलन लोकतान्त्रिक आन्दोलनको प्रमुख पार्टी हो,' उनले थपे, 'यसले जहिले पनि अग्रगामी विचार लिन्छ ।'

प्रकाशित : श्रावण ७, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्

निजामती सेवा विधेयक अगाडि बढाउन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रियसभाका सांसदहरुले जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्न आग्रह गरेका छन् ।राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढेसँगै सुरु गरिएको बन्दाबन्दी खुकुलो भएसँगै भिडभाड बढ्दै गएको सन्दर्भ उल्लेख गर्दै जतिसक्दो चाँडो सबै नागरिकलाई खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन् । 

सांसद उदया शर्मा पौडेलले बन्दाबन्दी खुकुलो भएसँगै बढ्दै गएको भिडप्रति चिन्ता व्यक्त गरिन् । उनले भनिन्,'भारतमा अहिले कोभिडबारे सतर्कता अपनाइएको छ, नेपालमा भिडभाड झन् बढेकाले चिन्ता बढाएको छ । सार्वजनिक यातायातमा स्यानिटाइजरको व्यवस्था छैन ।' सांसद जगप्रसाद शर्माले निजामती सेवा ऐन विधेयकमै थन्किँदा लोकसेवा आयोगको काम अगाडि बढ्न नसकेको भन्दै विधेयक अगाडि बढाउनुपर्ने माग गरे ।

राष्ट्रियसभाको विशेष समयमा सांसद रमेशजङग रायमाझीले अन्य दलका कारणले भन्दा पनि दुई तिहाइको सरकार आफ्नै कारणले असफल भएको टिप्पणी गरे । सांसद रामनारायण विडारीले वर्तमान सरकारलाई विकास निर्माणका साथै किसान र मजदुरको पक्षमा काम गर्न अग्रह गरे । उनले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताहरुले गरेको टिप्पणीले संवैधानिक नैतिकताको खाडल सिर्जना भएको टिप्पणी गरे ।

सांसद ठगेन्द्र प्रकाश पुरीले बजारमा बस्तु खरिद गर्दा उपभोक्ता ठगिने गरेको बताउँदै वस्तुको बिक्री वितरणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

सांसद डा. विमला राई पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्ने माग गरिन् । सांसद चक्रप्रसाद स्नेहीले भ्रष्टाचारको अन्त्य गर्दै देशैभरि भएका हत्या, हिंसा, बलात्कार रोक्नुपर्नेमा जोड दिए । सांसदहरु खिमलाल देवकोटा, कोमल वली, भैरव सुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र अनिता देवकोटाले विविध समसामयिक विषयमा विचार राखेका थिए ।

प्रकाशित : श्रावण ७, २०७८ १६:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×