एमालेका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमालेका २२ सांसदले स्पष्टीकरणको जवाफ दिने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गर्दै माधवकुमार नेपाललगायतका नेताहरु । तस्बिर : अंगद ढकाल/कान्तिपुर

स्पष्टीकरण मागिएका सांसद विरोध खतिवडाले बिहीबार संसदीय दलको कार्यालयमा पुगेर स्पष्टीकरणको जवाफ दिने जानकारी दिए ।

गत सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण माग्ने निर्णय गरेको थियो । सोहीअनुसार मत दिएका सांसदहरुलाई बुधबार स्पष्टीकरण पत्र पठाइएको थियो ।

स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे केही उल्लेख छैन । पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेकोलगायतका वसषयमा स्पष्टीकरण माग गरिएको छ ।

स्पष्टीकरण मागिएका सांसदमा नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी, गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् ।

प्रकाशित : श्रावण ७, २०७८ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्

कोइराला र सिंहसँगको सहकार्य टुट्ने खालको छैन : निधि

राजकुमार कार्की

सिन्धुली — कांग्रेस उपसभापति विमलेन्द्र निधिले शशांक कोइराला र प्रकाशमान सिंह सँगको सहकार्य थप दुई महाधिवेशनसम्म कायम रहने बताएका छन् । १४ औं महाधिवेशन तोकिएको मितिमै हुने भन्दै उनले पार्टी सभापतिका लागि आफूहरुमध्येबाट एकजनाको उम्मेद्वारी सहकार्यको प्रयास जारी रहेको बताए ।

बीपी राजमार्ग भएर महोत्तरी पार्टी कार्यालय भवन उद्घाटनका लागि बिहीबार जाँदै गरेका उपसभापति निधिले सिन्धुलीमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूहरुको सम्बन्ध टुट्ने खालको नभएको जिकिर गरे ।

तीन कार्यकालसम्मको सभापति भागबण्डा अहिले नै हुन सक्ने उनको संकेत थियो । ‘मेरो, शशांक कोइराला र प्रकाशमान सिंहको सहकार्य टुट्ने खालको छैन,’ उनले भने, ‘अरु दुई वटा महाधिवेशनसम्म पनि सँगै जाने गरी मजबुत बनाइँदै छ ।’ आफू पार्टी सभापतिको सशक्त उम्मेद्वार भएको समेत दाबी निधिले गरे । त्यसका लागि काठमाडौंमा बानेश्वर बैंकेटमा सम्पर्क कार्यालयसमेत खोलिसकेको उनले बताए ।

कांग्रेसको केन्द्रिय महाधिवेशन बाहेक स्थानीय तहका वडा, जिल्ला, र प्रदेश अधिवेशनको तालिका हेरफेर हुने निधिको भनाइ थियो । साउन १२ मा तोकिएका वडाअधिवेशन लगायत प्रदेश सम्मको मिति सर्ने बताएका निधिले कहिले हुने भन्ने टुंगो भइनसकेको बताए ।

प्रधानमन्त्री भएसँगै शेरबहादुर देउवा पार्टी सभापतिको लागि अझ बलियो भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा निधिले कांग्रेस बलियो भएकाले प्रधानमन्त्री बलियो भएको भन्दै पार्टी सभापतिको लागि हो भने उहाँलाइ नै सोध्नुस् भनेर पन्छिए । ‘देउवा प्रधानमन्त्रीमा बलिया भएका छन्,’ उनले भने, ‘पार्टी सभापतिको पुन: उम्मेद्वारीका लागि हो भने मलाई थाहा छैन ।’

प्रकाशित : श्रावण ७, २०७८ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×