नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन

यज्ञ बञ्जाडे

काठमाडौँ — नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको पाइएको छ । 

सांकेतिक तस्बिर : रोयटर्स

ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको इमेलमा पनि पठाइएको छ ।

प्रवक्ता ढकाललाई बिहीबार बिहान राष्ट्र बैंकसहित नेपाल र नबिल बैंकको सिस्टम ह्याक गर्ने भनी अमेरिकाबाट टेलिफोनमार्फत समेत धम्की आएको उनले बताए । ‘अंग्रेजीमा राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक हुँदै छ भनेर फोन काट्यो,’ उनले भने, ‘यसबारे हामी हिजोदेखि नै सचेत छौं । सबै बैंकको सिस्टम चेक गर्न र सम्भावित जोखिम न्यूनीकरणका लागि उपाय अपनाउन आग्रह गरेका छौं ।’ ह्याकरको इमेल र टेलिफोन कलबारे सरोकारवालालाई जानकारी गराएर सचेत हुन आग्रह गरिएको र थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

बैंक ह्याकिङ गर्ने भन्दै ह्याकरहरूले राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहलाई पठाएको इमेल ।

राष्ट्र बैंकबाट जानकारी आएपछि आफूहरू सतर्क अवस्थामा रहेको र बिहीबार बिहानसम्म कुनै गडबडी नभएको सम्बद्ध बैंकहरूले जनाएका छन् ।

ह्याकरले बुधबार पठाएको पत्रमा राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमान्डू, सिटिजन्स इन्टरनेसनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख छ । इम्पोर्टेन्टडटइनएटयानडेक्सडटकमबाट पठाइएको इमेलमा पत्रलाई खेलाँचीका रूपमा नलिन चेतावनीसमेत दिइएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

पुनर्कर्जाको ४७ प्रतिशत पर्यटनमा

कोरोनाबाट अति प्रभावित होटल, रेस्टुरेन्ट, शैक्षिक संस्था, पार्टी प्यालेस, यातायातलगायत क्षेत्र पनि प्राथमिकतामा
यज्ञ बञ्जाडे

काठमाडौँ — कोरोना महामारीमा अति प्रभावित पर्यटन क्षेत्रले सबैभन्दा धेरै पुनर्कर्जा सुविधा पाएको छ । राष्ट्र बैंकले प्रदान गर्दै आएको पुनर्कर्जामध्ये गत असारसम्म पर्यटन क्षेत्रले ४७.२६ प्रतिशत उपयोग गरेको छ ।

यो राष्ट्र बैंकले सीधै प्रवाह गर्ने पुनर्कर्जाको तथ्यांक हो । यसबाहेक बैंक तथा वित्तीय संस्थाले र लघुवित्तले एकमुष्ट प्रवाह गर्ने पुनर्कर्जामा पनि कोरोनाबाट अति प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखिएको राष्ट्र बैंकको दाबी छ ।

कोरोना संक्रमणबाट बच्न पटक–पटकको लकडाउन र निषेधाज्ञाका कारण पर्यटन क्षेत्र अति प्रभावित भएको छ । निषेधाज्ञा खुकुलो बनाइए पनि कोरोना महामारीअघिको अवस्थामा फर्किन यो क्षेत्रलाई धेरै समय लाग्ने देखिन्छ । कोभिड–१९ को जोखिमबाट सबैभन्दा धेरै प्रभावित भएकै कारण पर्यटन क्षेत्रले पुनर्कर्जामा पनि प्राथमिकता पाएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘राष्ट्र बैंकले पर्यटनसँगै होटल, रेस्टुरेन्ट, शैक्षिक संस्था, पार्टी प्यालेस, यातायातलगायत अति प्रभावित क्षेत्रलाई प्राथमिकता दिएको छ,’ उनले भने, ‘तीमध्ये पर्यटन क्षेत्रबाट कर्जा माग बढी आएकाले कुल कर्जाको ठूलो हिस्सा त्यता गएको हो ।’ राष्ट्र बैंकले प्रत्यक्ष रूपमा प्रवाह गर्ने पुनर्कर्जामा मात्र नभएर बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा प्रवाह गर्ने ५ करोड रुपैयाँभन्दा कम रकमका पुनर्कर्जामा पनि पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिन निर्देशन दिइएको प्रवक्ता ढकालले बताए ।

गत आवमा प्रवाह गर्न मिल्ने २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ पुनर्कर्जामध्ये गत असार ३१ सम्म १ खर्ब ४८ अर्ब ७५ करोड रुपैयाँ लगानी भइसकेको छ । त्यसमध्ये करिब ४६ अर्ब १३ करोड रुपैयाँ ग्राहक ऋणीअन्तर्गत राष्ट्र बैंकले सीधै लगानी गरेको छ । सोही कर्जाको ४७.२६ प्रतिशत (२१ अर्ब ८० करोड रुपैयाँ) पर्यटन क्षेत्रमा प्रवाह भएको हो । राष्ट्र बैंकले सिधै प्रवाह गर्न सक्ने (ग्राहक मूल्यांकनमा आधारित), बैंक तथा वित्तीय संस्था र लघुवित्त वित्तीय संस्थालाई एकमुष्ट प्रदान गरिने गरी हाल तीन किसिमले पुनर्कर्जा वितरण भइरहेको छ । जसअनुसार गत वर्ष ४८ हजार ८ सय ९० जना ऋणीले पुनर्कर्जा लिएका छन् । पुनर्कर्जा कार्यविधिले राष्ट्र बैंकलाई पुनर्कर्जा कोषको रकममध्ये बढीमा ५ गुणासम्म प्रवाह गर्न छुट दिएको छ ।

हाल पुनर्कर्जा कोषमा ४२ अर्ब ५० करोड रुपैयाँ छ । यसअनुसार राष्ट्र बैंकले २ खर्ब १२ अर्ब ५० करोड रुपैयाँ बराबर रकम पुनर्कर्जाका रूपमा प्रवाह गर्न पाउँछ । यसको ७० प्रतिशत (१ खर्ब ४८ अर्ब रुपैयाँ) बैंक तथा वित्तीय संस्थाले एकमुष्ट रूपमा पाउँछन् । २० प्रतिशतअन्तर्गत ४२ अर्ब ५० करोड रुपैयाँ राष्ट्र बैंकले ग्राहक पुनर्कर्जा शीर्षकमा खर्च गर्छ । बाँकी २१ अर्ब २५ करोड रुपैयाँ लघुवित्त वित्तीय संस्थाले एकमुष्ट रूपमा आफ्ना ग्राहकलाई कर्जा प्रवाह गर्छन् । यही व्यवस्थाअनुसार गत वर्ष राष्ट्र बैंकले ४६ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो राष्ट्र बैंकले प्रवाह गर्न पाउने सीमाभन्दा बढी हो ।

बैंक तथा वित्तीय संस्थाबाट अपेक्षित रूपमा कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले कार्यविधि परिमार्जन गरी गभर्नरको निर्णयअनुसार पुनर्कर्जाको निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । जसअनुसार सीधै पुनर्कर्जा प्रवाह गरिरहेको उसको दाबी छ ।

गत आवमा बैंक तथा वित्तीय संस्थाले ९२ अर्ब ३८ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेका छन् । यो उनीहरूले प्रवाह गर्न पाउने अधिकतम सीमाभन्दा कम हो । कार्यविधिअनुसार यो क्षेत्रले १ खर्ब ४८ अर्ब रुपैयाँ पुनर्कर्जा प्रवाह गर्न पाउँछ । गत असारसम्म लघुवित्त वित्तीय संस्थाले १० अर्ब २३ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेका छन् । यो पनि उनीहरूले प्रवाह गर्न पाउने अधिकतम सीमाभन्दा कम हो । कार्यविधिअनुसार लघुवित्त वित्तीय संस्थाले २१ अर्ब २५ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गर्न पाउँछन् । तोकिएको मापदण्डभित्र रहेर प्रवाह गर्नुपर्ने भएकाले सीमाभन्दा कम मात्र कर्जा प्रवाह भएको बैंक तथा वित्तीय संस्थाले जनाएका छन् ।

धेरै पुनर्कर्जा लिनेमध्ये पर्यटनपछि क्रमशः म्यानुफ्याक्चरिङ, निर्माण, औषधिजन्य, शिक्षा, जलविद्युत्, यातायात, सञ्चार, टेक्सटाइल र कृषि क्षेत्र पर्छन् । पुनर्कर्जा सुविधाका लागि कार्यविधिमा तोकिएका मापदण्ड पूरा गर्नुपर्छ । मापदण्ड पूरा गर्न कोरोना महामारीबाट अति र मध्यमस्तरको पीडित हुनैपर्छ । कार्यविधिअनुसार ग्राहकले लघु, घरेलु तथा साना उद्यम, विशेष र साधारण गरी तीन प्रकारका पुनर्कर्जा पाउँछन् । यसअघि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले पाउने कर्जा नै पुनर्कर्जा हो ।

प्रकाशित : श्रावण ७, २०७८ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×