कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सप्तरीको तोपामा जब पस्यो बाढी

अवधेशकुमार झा

सप्तरी — मंगलबारको बिहान । तिलाठी कोइलाडी–८ तोपा बस्तीमा इनरदेवी यादव खाना पकाउन आँगनको चुलोका लागि गुइँठा र दाउराका झिक्रा तयार पार्दै थिइन् । पति रामविलास नजिकैको तोपाचोकमा चिया खान गएका थिए । इनरदेवीले चुलोमा आगो जोर्नै लाग्दा पानीको भेल आँगनमा पस्यो ।

सप्तरीको तोपामा जब पस्यो बाढी

हेर्दाहेर्दै चुलो छोपियो, भाँडाकुँडा पानीमा तैरिन थाले । एकछिन त उनी अक्क न बक्क भइन् । भाँडाकुँडा बटुलेर राख्न नभ्याउँदै पानी घरमा पस्यो । भित्रका सामान भिजाउन थाल्यो । ओढ्ने–ओछ्याउनेसँगै भिज्न नहुने सामान हतारहतार खाटमा राखेर जोगाइन् ।

मंगलबार बिहान ८ बजे तोपामा पसेको बाढीले समस्यामा परेका इनरवती मात्रै थिइनन् । करिब ५० घरआँगन जलमग्न भए । बुधबार साँझ बाढी घटेको छ । तर घरआँगन हिलाम्य छ । पकाउन, खान र सुत्न समस्या भएको छ । ‘म चोकबाट फर्किंदा घरभित्र तीन फिटसम्म पानी थियो,’ रामविलासले भने, ‘मंगलबार न बिहानको खाना पकाउन पायौं न त रातिको । पानी घटेपछि आज (बुधबार) बल्ल सास फर्किए जस्तो भएको छ ।’

वर्षाको पानीको उचित निकास नहुँदा तोपा डुबानमा परेको हो । ‘घरैघर पानी पसेपछि हाम्रो हाल बेहाल भएको छ,’ स्थानीय बन्ठु यादवले भने । गाउँपालिकाको विपद् व्यवस्थापन शाखाका कर्मचारी राजेशकुमार झाले पानीको सतह घट्दै गएपछि तोपामा केही सहज भएको बताए ।

उता निरन्तरको वर्षासँगै खाडो र जिता खोलामा आएको बाढीले हनुमाननगर कंकालिनी–१४ को मल्हनियालाई घेरेको छ । चारैतिर जलमग्न भएपछि उक्त बस्तीका करिब ३ सय परिवारको बाहिर आउजाउ बन्द भएको छ ।

प्रकाशित : श्रावण ७, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?