१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

नेपाल पक्षले भन्यो– ‘१० बुँदे सहमति भएको अवस्थामा स्पष्टीकरण सोध्नु एकतामा भाँजो हाल्ने काम’
माधव नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिनेछ । अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहनेछ ।– केपी शर्मा ओली

काठमाडौँ — एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदसँग स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण माग गरिएको पत्रमा विश्वासको मतबारे भने केही उल्लेख छैन । संविधानको धारा ७५ (५) अनुसारको सरकार गठनका सन्दर्भमा पार्टीको ह्वीप नलाग्ने आशयको सर्वोच्च अदालतको परमादेश रहेकाले अन्य गतिविधि इंगित गरेर पत्र पठाइएको हो ।

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

एमाले केन्द्रीय कमिटी बैठकले गत सोमबार २२ सांसदसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार उनीहरूलाई साउन ४ र ५ को मिति राखेर बुधबार मात्रै पत्र पठाइएको हो । पत्रमा पार्टी निर्णयविपरीत विपक्षी गठबन्धनमा सामेल भएको, पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको लगायतका विषयमा स्पष्टीकरण मागिएको छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३, एमालेको विधान २०४९ र एमाले संसदीय दलको विधान ७७ विपरीत दलीय अनुशासनविरुद्धमा क्रियाकलाप गरेको उक्त पत्रमा उल्लेख छ ।

‘पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने/गराउने जस्ता अनुशासनहीन, अराजक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नु भएको हो ?’ पत्रमा भनिएको छ, ‘यस्ता गतिविधि गर्नेलाई पार्टीबाट निष्कासन किन नगर्ने ?’ निष्कासन गर्नु नपर्ने कुनै कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । चित्तबुझ्दो जवाफ नआए कारबाही गरिने चेतावनी स्पष्टीकरण पत्रमै दिइएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीकै हस्ताक्षरमा सबैलाई पत्र पठाइएको हो ।

केन्द्रीय कमिटीको जारी बैठकमा बुधबार अध्यक्ष ओलीले स्पष्टीकरण सोधिएका नेपालसहितका २२ सांसदमाथि बिहीबार कारबाही गर्ने संकेत दिएका छन् । ‘म यो अन्तिम क्षणमा साथीहरूलाई भन्छु पार्टी एकतामा आउनुहोस् नत्र भोलि (७ गते बिहीबार) पुष्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ,’ ओलीको भनाइ उद्वृत गर्दै केन्द्रीय सदस्य महेश बस्नेतले भने । ओलीले एमाले विभाजनको सम्भावना रहेको पनि संकेत गरेका छन् । ‘माउसुलीले कहिलेकाहीं पुच्छर फालिदिन्छ । त्यही कारण ऊ आत्तिँदैन । किनकि पुच्छर तुरुन्तै पलाउँछ,’ ओलीले बैठकमा भनेका थिए, ‘अहिले पुच्छर फाल्नुपरे पनि हामी तयार हुनुपर्ने बेला आएको छ ।’

नेपालले वर्गविरोधी कम्युनिस्ट विचार र जनताको उन्नतिका विरोधीसँग साँठगाँठ गरेको ओलीले बताएका थिए । ‘माधव नेपालले गरेको गद्दारी गिनिज बुकमै लेखिनेछ,’ ओलीले भने, ‘अनि अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहनेछ ।’ बैठकमा ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतको फैसला प्रतिगमनकारी भएको टिप्पणी गरेका थिए । बैठकमा ओलीले एमाले विभाजन गर्न अध्यादेश र राष्ट्रपतिविरुद्ध महाअभियोग सम्भव नभएको दाबी गरे । ‘असम्भव सपना नदेख्न शेरबहादुर देउवा र प्रचण्डलाई सचेत गराउँछु,’ ओलीको भनाइ थियो ।

नेपाललाई दोस्रो अध्यक्ष दिन्छु : ओली

बैठकमा ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भए पनि उनले एकताप्रति इच्छा नदेखाएको दाबी गरे । ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं । अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भए सबै संरचना २०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन्,’ ओलीले भने, ‘माधव नेपालले दोस्रो अध्यक्ष मागे । पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु, मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाएका छैनन्, अनेक बहाना खोजेका छन् ।’ नेपालले पार्टी कमिटीमा बहुमत चाहियो भन्नुको पछाडि उनको अरू नै योजना रहेको ओलीको दाबी थियो । ‘केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनुस् कमरेडहरू, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन्,’ ओलीले भने ।

ओलीले आफ्नोतर्फबाट अन्तिमसम्म पनि एकताका लागि कन्जुस्याइँ नगरेको बताए । ‘संसद्मा आफ्नै पार्टीको सरकारविरुद्ध मत हालियो । यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो,’ उनले भने, ‘तर मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन कमरेडहरू । एकताका लागि कुनै कन्जुस्याइँ गरिएको छैन, गरिने छैन ।’

स्पष्टीकरण सोध्नु गलत : नेपाल पक्ष

नेपाल पक्षको बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण सोध्नु पार्टी एकतामा भाँजो हाल्ने काम भएको निष्कर्ष निकालेको छ । बानेश्वरमा बसेको बैठकले एकताका लागि वार्ता र १० बुँदे सहमति भएको अवस्थामा सांसदहरूलाई स्पष्टीकरण सोध्नु गलत भएको निचोड निकालेको हो । ‘छलफलमा सबैको जोड एकतामा रह्यो । एकता वार्ता चलिरहेको र १० बुँदे सहमति भएको अवस्थामा स्पष्टीकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाउने, सर्वोच्च अदालतको फैसलाअनुरूप

आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरूलाई आतंकित पार्ने र उनीहरूविरुद्ध उत्तेजक गतिविधि, नाराबाजी गर्ने काम तत्काल रोकिनुपर्छ,’ बैठकपछि नेता रघुजी पन्तले भने, ‘त्यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताको कामलाई अगाडि बढाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँछौं ।’

बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएपछि नेता नेपाल उनलाई भेट्न टोखास्थित निवास पुगेका थिए । रावल विवाद समाधान गर्न गठन भएको कार्यदलको संयोजक थिए । देउवालाई विश्वासको मत नदिएका नेपाल समूहमा सक्रिय अन्य नेता भने बैठकमा उपस्थित थिए ।

प्रकाशित : श्रावण ७, २०७८ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?