सेनाका नयाँ कमान्डमा पनि सर्भे तथा सीमा शाखा

गत वर्षदेखि सेनाले गठन गरेको नयाँ संरचनालाई आफ्ना सबै कमान्डमा अनिवार्य गर्दै

काठमाडौँ — नेपाली सेनाले सीमा सुरक्षालाई विशेष ध्यानमा राखेर सैनिक मुख्यालय जंगी अड्डामा एक वर्षअघि खडा गरेको सर्भे तथा सीमा निर्देशनालयलाई नयाँ प्रशासनिक संगठनअनुसार सबै कमान्ड हेडक्वार्टरहरुमा पनि विस्तार गर्ने भएको छ ।

सेनाका नयाँ कमान्डमा पनि सर्भे तथा सीमा शाखा

साउन १ देखि लागू भएको नेपालको ‘तीन जोड एक’ कमान्डमा पनि सर्भे तथा सीमा निर्देशनालयको संयन्त्र हुने भएको हो । नयाँ संरचनाअनुसार पूर्वी, मध्य र पश्चिम कमान्ड छन् भने उपत्यकामा एक रणनीतिक कमान्ड स्थापना गरिएको छ । मन्त्रिपरिषद्ले असार २४ मा नेपाली सेनाको सांगठनिक पुन:संरचना २०७७/७८ स्वीकृत गरेको थियो ।

‘यी सबै कमान्डहरुमा सीमा सुरक्षालाई मध्यनजर राखेर केन्द्रमा रहेको सर्भे तथा सीमा निर्देशनालयको सानो संयन्त्र रहने गरी नयाँ संरचना बनाइएको छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

संविधानको धारा २६७ मा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि यस संविधानप्रति प्रतिबद्ध समावेशी नेपाली सेनाको एक संगठन रहने भन्ने उल्लेख छ । तर एक वर्ष अघिसम्म सेनामा सीमा सम्बन्धमा हेर्नका लागि संयन्त्र नै थिएन ।

संविधानप्रदत्त जिम्मेवारी भन्दै सेनाले गत वर्ष उक्त निर्देशनालय खडा गरेको हो, जसलाई नयाँ संरचनामा पनि अघि बढाएको छ । २०५२ अघिसम्म मुलुकमा सीमाको सम्बन्धमा कुनै पनि अनुगमन र नापीसम्बन्धी काम हुँदा सेनालाई पनि सामेल गरिन्थ्यो । ‘तर त्यसपछि सेनालाई सीमासम्बन्धी काममा सामेल गर्न छाडिएको रहेछ,’ प्रवक्ता पौडेलले भने, ‘त्यसलाई फेरि निरन्तरता दिइएको हो ।’

सहायक रथीको नेतृत्वमा रहने सर्भे तथा नापी निर्देशनालयले नेपालको सीमा, नक्सा र पुराना दस्ताबेजलाई संकलन, अवलोकन गर्ने र त्यसलाई आवश्यकता पर्दा पाउने गरी संरक्षण गरेर राख्ने काम गर्छ । साथै, सीमासम्बन्धी विभिन्न छलफल होस् या अन्य काममा सहभागी हुन सेनाको उक्त निर्देशनालयबाट जान थालेका छन् ।

प्रकाशित : श्रावण ६, २०७८ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?