कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालपक्षीय सांसदको सर्त– ‘ओलीले अध्यक्ष छाडे मात्रै एमाले एकता’

स्पष्टीकरण सोध्ने निर्णय भएको छ, पत्र बुझेको २४ घण्टापछि मात्रै त्यसबारे निर्णय हुन्छ ।– प्रदीप ज्ञवाली
पार्टी एकता गर्न चाहने हो भने मार्गप्रशस्त गर्नुपर्छ । हामीसँग बदलाको भावना राखेर हुँदैन ।– रामकुमारी झाँक्री

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि झन् चुलिएको एमाले विवाद सहमतितर्फ फर्किने सम्भावना क्षीण भएको छ । अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी बैठकबाट देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग स्पष्टीकरण लिने निर्णय गर्दै पत्रको भाषा तयार गरिरहेको छ ।

नेपालपक्षीय सांसदको सर्त– ‘ओलीले अध्यक्ष छाडे मात्रै एमाले एकता’

नेपाल समूहले पनि अब ओलीसँग मिल्ने सम्भावना नरहेको निष्कर्षमा पुग्दै आफ्नो समूहको छलफल र भेलालाई तीव्रता दिएको छ ।

ओली समूहले मंगलबार आफ्नो भ्रातृ संगठन युवा संघलाई वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध सडकमा उतारेको छ । ओलीद्वारा ‘गद्दार’ घोषित नेता नेपालको विरोधमा ओलीनिकट युवाले राजधानीमा बाँदरको वेशमा ‘बाँदरे जुलुस’ प्रदर्शन गरेका थिए । नेपाल समूहले भने मंगलबार देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग छलफल गर्‍यो । बुधबारका लागि केन्द्रीय कमिटी र सांसदहरूको बैठक बोलाइएको छ ।

मंगलबारको बैठकमा २२ जना सांसदले अब ओलीले अध्यक्ष पदबाट राजीनामा दिए मात्र एकताको प्रक्रियामा फर्किन सक्ने धारणा राखेका छन् । उता ओलीपक्षीय केन्द्रीय कमिटी बैठकमा नेता नेपाललाई छिटो पार्टीबाट निष्कासन गर्नुपर्ने माग उठिरहेको छ । ‘पार्टी एकता गर्न चाहने हो र अझै पनि लोकतन्त्रलाई बचाउन चाहने हो भने मार्ग प्रशस्त गर्नुपर्छ पार्टी अध्यक्ष छाड्नुपर्छ,’ सांसद रामकुमारी झाँक्रीले भनिन्, ‘त्यसले एमाले एकताबद्ध पनि हुन्छ । र, हामी नयाँ ढंगले अगाडि जान सक्छौं । होइन भने हामीसँग पटक–पटक बदलाको भावना राखेर हुँदैन भन्ने कुरा पनि आयो ।’

देउवालाई विश्वासको मत दिएपछि आफूहरूको भूमिका के हुने भन्नेबारे पनि सामान्य छलफल भएको झाँक्रीले बताइन् । ‘संविधान, लोकतन्त्र र संसद्लाई बचाउन भएका प्रयत्नका साथै सरकारलाई विश्वासको मत दिएपछि स्वभावैले हाम्रो भूमिका के हुन्छ भन्नेबारे पनि छलफल भयो,’ उनले भनिन्, ‘हामी एमालेको संसदीय दलका सदस्य हौं । यही बेला एमाले विपक्षमा छ । त्यसकारण कानुन र अरू जटिलताले सरकारमा जाने कुरा भएन ।’

अर्का सांसद विरोध खतिवडाले अझै केही सांसद र केन्द्रीय सदस्यलाई आफ्नो समूहमा गोलबद्ध गरेर पार्टी संगठनमा बलियो उपस्थिति जनाउने विषयमा छलफल भएको बताए । ‘केपी अझै सुध्रिएनन्, केन्द्रीय कमिटीको बैठक राखेर स्पष्टीकरण सोधिएको हल्लाधारी विषयमा पनि छलफल भयो । साथै आउने दिनमा हामी अझ बलियो हुने, अरू सांसद र थप केन्द्रीय सदस्यलाई गोलबद्ध गर्दै पार्टी संगठनमा बलियो उपस्थिति जनाउने र त्यहीअनुसार देशव्यापी रूपमा संगठन बलियो बनाउने विषयमा पनि छलफल भयो ।’

खतिवडाका अनुसार बुधबारदेखि नेपाल समूहको आगामी कदमबारे निर्णायक छलफल हुनेछ । बुधबार नेता नेपालले स्थायी कमिटीका सदस्यहरूसँग र बिहीबार केन्द्रीय कमिटीका सदस्यहरूसँग छलफल गर्ने उनले बताए । ‘केपीको ज्यादतीविरुद्ध लडाइँ यथावत् छ । उनी सुध्रिन्छन् र गल्ती स्वीकार गर्छन् भने पार्टी एकताको प्रयास अगाडि बढ्छ,’ उनले भने, ‘अहिलेकै ढंगबाट अगाडि बढे भने हामी अलग कोर्समा जान्छौं भनेर पहिलादेखि नै भन्दै आएका छौं । त्यसबारे स्थायी र केन्द्रीय कमिटीमा खास छलफल हुनेछ ।’ एमाले केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले पार्टी निर्णयविपरीत देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो । खतिवडाका अनुसार मंगलबारसम्म स्पष्टीकरण माग गरिएको पत्र पुगेको छैन ।

‘स्पष्टीकरणको पत्र तयार छ’

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता नेपालसहितका सांसदमाथिको कारबाहीबारे मंगलबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले निर्णय गर्न सकेन । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकले कारबाहीबारे कुनै निर्णय नगरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । सोमबार त्यहीं बसेको बैठकले नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोधेको २४ घण्टा पूरा नभएका कारण कारबाहीबारे निर्णय नभएको ज्ञवालीले बताए । उनका अनुसार स्पष्टीकरण पत्र तयार छ । पत्र बुझेको २४ घण्टापछि मात्रै त्यसबारे निर्णय हुनेछ । बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षहरूले संगठनात्मक अवस्थाबारे रिपोर्ट प्रस्तुत गरेका थिए ।

‘विभिन्न प्रदेश कमिटीका अध्यक्षहरूले आफ्नो प्रदेशमा संगठनात्मक अवस्था, राजनीतिक शक्ति सन्तुलनको अवस्था, भोलि पार्टीबाट केही मान्छे बाहिरिँदा एमालेको अवस्था कस्तो हुन सक्छ भन्नेबारे सुझावसहितको रिपोर्ट प्रस्तुत गर्नुभयो,’ ज्ञवालीले भने । बैठक बुधबार पनि बस्ने भएको छ ।

प्रकाशित : श्रावण ६, २०७८ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?