कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कांग्रेसमा सदस्यता विवाद मिलाउन १० नेताको आग्रह

काठमाडौँ — कांग्रेसका दस नेताले पार्टीको क्रियाशील सदस्यताको विवादलाई लिएर केन्द्रीय कार्यालय सानेपामा जारी धर्ना र अनशन अन्त्य गराउन पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेसमा सदस्यता विवाद मिलाउन १० नेताको आग्रह

उनीहरूले पार्टीभित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्था दुर्भाग्य भएको उल्लेख गर्दै नेतृत्वले यसको समाधान तत्काल खोज्नुपर्ने बताएका छन् ।

प्रदेश २ अन्तर्गत बारा, धनुषा र सर्लाहीका कांग्रेस कार्यकर्ताले पार्टीको संस्थापन पक्षबाट क्रियाशील सदस्यता वितरण गर्दा अनियमितता भएको भन्दै धर्ना र अनशन जारी राखेका छन् । संस्थापनइतर पक्षमा रहेका नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै सदस्यता विवाद तत्काल समाधान गरी महाधिवेशन सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

‘प्रारम्भिक मतदाता रहेका क्रियाशील सदस्यताहरूको विवादले निर्धारित समयमा महाधिवेशन हुने कुरामा संशय बढाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग उपलब्ध समयसमेत साँघुरिँदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुन्न ।’

पार्टी विधानले निर्दिष्ट गरेको प्रक्रिया, मापदण्ड र केन्द्रीय कार्यसमितिको निर्णयविपरीतका क्रियाशील सदस्यतालाई मान्यता दिन नहुने उनीहरूको जोड छ । अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेका नेता तथा कार्यकर्ताको समायोजनका नाममा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरिएको अनशनरत कार्यकर्ताको भनाइ छ । ‘प्रजातन्त्रको स्थापना र पुनःस्थापनामा लागेर सर्वस्व गुमाएका कांग्रेसका लाखौं कार्यकर्ता पार्टीको क्रियाशील सदस्यतालाई आफ्नो ठूलो राजनीतिक पुँजी ठान्छन्,’ दस नेताको विज्ञप्तिमा उल्लेख छ, ‘कार्यकर्ताको यस्तो भावना र संवेदनालाई नेतृत्वले बुझ्न र कदर गर्न सक्नुपर्छ ।’

विधि र प्रक्रिया नाघेर जथाभावी सदस्यता वितरण गरिँदा पार्टी बलियो नबन्ने उनीहरूको ठहर छ । कांग्रेस नेता शेखर कोइरालाले सदस्यता वितरणमा अनियमितता भएको उल्लेख गर्दै स्थानीय कार्यकर्ताले सुरु गरेको अनशन र धर्नामा ऐक्यबद्धता जनाएका छन् । उनले पार्टी कब्जा गर्ने नियतबाट सदस्यता वितरण गरिएको बताए ।

‘यस्तो अनियमिततालाई कुनै पनि हालतमा स्वीकार गर्न सकिँदैन,’ उनले भने, ‘क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको यस प्रकारको लडाइँमा म पनि सँगै रहनेछु ।’ उनले अनियमिततालाई जसरी पनि रोकेरै छाड्ने बताए ।

प्रकाशित : श्रावण ६, २०७८ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?