कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीका ६ सय घर डुबानमा 

सप्तरी, धनुषा — लगातारको वर्षाले खोलाहरूमा बाढी आउँदा मंगलबार सप्तरीका आधा दर्जन पालिकाका बस्ती जलमग्न भएका छन् । त्रियुगा नदीसँगै सहायक खोलानालामा आएको बाढी चन्द्रनहरको बाँध भत्काएर आसपासको बस्तीमा पसेको हो । सप्तकोसी, कञ्चनरूप, तिरहुत र महादेवाका विभिन्न भागमा बाढी पस्दा करिब ६ सय घर डुबानमा परेका छन् । 

सप्तरीका ६ सय घर डुबानमा 

उता धनुषामा कमला नदीमा आएको बाढीले बाँध लगातार कटान भइरहेको छ । बाँध भत्किए बाढी धनुषाको पूर्वीक्षेत्रका बस्तीमा पस्ने जोखिम बढेको छ । बाँध जोगाउन सेना, सशस्त्र प्रहरीसँगै स्थानीय बासिन्दा मिलेर काम गरिरहेका छन् ।

सप्तरीको अमहा, टेंग्रालगायतका खोलाको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका करिब ३ सय घर डुबानमा परेका छन् । नगरप्रमुख उत्तम गौतमका अनुसार १, २, ४ र ११ नम्बर वडाका बस्ती जलमग्न भएका हुन् । ३ फिटसम्म पानी बगिरहेको उनले बताए । जिता नदीको पानी सप्तरीकै तिलाठी कोइलाडी–७ मंसापुर र वडा ५ को बरसाइनका केही घरमा पसेको छ । तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहका अनुसार करिब २ सय ७५ घर डुबानमा परेका छन् । वर्षाको पानीले निकास नपाउँदा वडा ८ को तोपामा २५ घर डुबानको चपेटमा परेका छन् ।

चन्द्रनहर मुलुककै पहिलो सिँचाइ आयोजना हो । यो सिँचाइ प्रणालीको मूल नहर मंगलबार ५ ठाउँमा भत्किएको छ । अविरल वर्षाका कारण त्रियुगा, अमहा, महुली, टेंग्रा र सुन्दरीलगायतका नदीमा आएको बाढीले चन्द्रनहरको मूल नहर भत्किएको हो । सप्तकोसी नगरपालिका–४ मा नहरको दायाँ डिल भत्किएको कोसी पम्प चन्द्रनहर सिँचाइ डिभिजन कार्यालयका प्रमुख राजेन्द्र साहले बताए । ‘२५ मिटर लामो र १२ मिटर चौडाइमा नहरको डिल भत्किएको छ,’ उनले भने । यसैगरी कञ्चनरूप नगरपालिका–३ सुबाटोलस्थित नहरको दायाँ डिल ३५ मिटर भत्किएको छ ।

कमला नदीको बाढी धनुषाका बस्तीहरूमा पस्ने जोखिम बढेपछि मंगलबार सबैला–१३ किरतपरमा कटान रोकथाम गरिँदै। तस्बिर : सन्तोष सिंह/कान्तिपुर

तिरहुत गाउँपालिकामा पर्ने मयनाकरेडीमा नहरको दायाँतर्फ १० मिटर र बायाँतर्फ २५ मिटर डिल भत्किएको छ भने महादेवा गाउँपालिका–१ र बन्द्रा खोला नहर प्रणालीमा पनि कटान भएको छ । निरन्तरको वर्षाले नदीमा बाढी आउँदा नहरका संरचना क्षतिग्रस्त भएको डिभिजन प्रमुख साहले बताए ।

त्रियुगा नदीको पानी ल्याइएको चन्द्रनहरले सप्तरीका विभिन्न भागमा सिँचाइ सुविधा पुर्‍याएको छ । नहर विभिन्न ठाउँमा बाढीले भत्काएपछि फत्तेपुरस्थित हेडवर्क्सबाट निकासी बन्द गरिएको थियो । तर पानी ओभरफ्लो भई नहर भत्काउँदै बस्ती र खेतीयोग्य जमिनमा पसेको हो । श्री ३ चन्द्रशमशेरको पालामा देशकै पहिलो सिँचाइ प्रणालीको रूपमा सिभिल इन्जिनियर डिल्लीजंग थापाले नहर डिजाइन गरेका हुन् । वि.सं. १९८५ मा सुरु भएर पाँच वर्षमा निर्माण पूरा भएको उक्त नहर हालसम्म प्रयोगमा छ । १० हजार ५ सय हेक्टर जग्गामा सिँचाइ हुने भनिएको नहर बर्सेनि क्षतिग्रस्त हुँदै गएको छ ।

उता कमला नदीमा आएको बाढीले धनुषाको सबैला नगरपालिका–१३ किरतपुरमा २ सय ७० मिटर बाँध कटान गरेको छ । बाढीले बाँध कटान गरिरहेकाले पानी बस्तीमा पस्ने जोखिम रहेको कमला नदी नियन्त्रण आयोजनाका इन्जिनियर गुद्री यादवले बताए । ‘कमलाको बाढीले ठाउँ–ठाउँमा ६ सय मिटर बाँध कटान गरेको छ,’ उनले भने, ‘किरतपुरमा बाढी बस्तीमा पस्नै लागेको छ । बाँधको ८० प्रतिशतभन्दा बढी भाग बाढीले बगाएको छ । कटान रोकथामको प्रयास भइरहेको छ ।’ कमलाको कटान रोक्न दिनभर सुरक्षाकर्मी र स्थानीयले प्रयास गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बताए ।

प्रकाशित : श्रावण ६, २०७८ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?