कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

देउवालाई विश्‍वासको मत दिने एमाले नेपाल पक्षका सांसदहरुको भेला

काठमाडौँ — संस्थापन पक्षले स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । नेता नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदसँग अहिले नयाँ बानेश्वरस्थित एक होटेलमा छलफल गरिरहेको सांसद मेटमणि चौधरीले बताए । नेपालसहित एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका थिए ।

देउवालाई विश्‍वासको मत दिने एमाले नेपाल पक्षका सांसदहरुको भेला

लगत्तै सोमबारको एमाले केन्द्रीय कमिटी बैठकले ती सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय लिएको थियो । तर, मंगलबार दिउँसोसम्म सांसदहरुले स्पष्टीकरण पत्र नपाएको बताएका छन् । संस्थापनपक्षले पत्र काटे त्यसको जवाफ दिने वा नदिने र दिए के राख्ने भन्ने विषयमा सामूहिक धारणा बनाउन नेपालले आफूसहित २२ सांसदको भेला राखेका हुन् ।

सर्वोच्च अदालतले ७५ (५) अनुसार बनेका प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पार्टी ह्वीप नलाग्ने फैसला गरेको छ । यसैलाई आधार बनाएर नेपाल समूहले एमालेको संस्थापन पक्षले सोध्ने स्पष्टीकरणको कुनै अर्थ नरहने प्रतिक्रिया दिएको छ । यद्यपि विधानअनुसार पार्टीले कोही नेता वा सांसदमाथि अनुशासनात्मक कारबाही भने गर्न सक्छ । विश्वासको मत दिने विषयले नेपाल समूह पनि विभाजित भएको छ ।

मंगलबारमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालले आफ्नै निवासमा छलफल गरेका थिए । प्रधानमन्त्री देउवा र सत्ता गठबन्धनका नेताहरुले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।

तर, एमालेमै रहँदासम्म नेपाल समूहलाई सरकारमा सहभागी हुन कानुनी कठिनाइ हुनेछ । नेपालले पनि सरकारमा सहभागी हुनेबारे अहिलेसम्म औपचारिकरुपमा केही बताएका छैनन् ।

प्रकाशित : श्रावण ५, २०७८ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?