जसपा संसदीय दलको विधान पारित, अनुमोदनका लागि कार्यकारिणी समितिमा पठाइने

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ । सिंहदरबारमा मंगलबार दिउँसो बसेको बैठकले संघीय संसदीय दलको विधान २०७८ को विधान पारित निर्णय गरेको हो ।

जसपा संसदीय दलको विधान पारित, अनुमोदनका लागि कार्यकारिणी समितिमा पठाइने

'बैठकमा मस्यौदा प्रस्तुत भई व्यापक छलफल भयो । छलफलको क्रममा माननीय सदस्यहरुबाट आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरियो,' बैठकको निर्णयमा भनिएको छ ।

बैठकमा विधानका सम्बन्धमा प्राप्त सुझावहरुलाई समावेश गर्न सांसदहरु रामसहायप्रसाद यादव र मोहम्द इस्तियाक राईजलाई जिम्मेवारी दिने निर्णयसमेत भएको छ । उक्त विधानलाई अनुमोदनका लागि पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा पठाउने निर्णय भएको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ ।

संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए । दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाइने छ ।

३२ सांसद रहेको जसपा दुई समूहमा विभाजित छ । उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा २२ र महन्थ ठाकुर-राजेन्द्र महतोको पक्षमा १० सांसद मात्र देखिएका छन् ।

प्रकाशित : श्रावण ५, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?