१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

मन्त्रालय भागबन्डामा देउवालाई सकस

एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने चुनौती
एमालेको नेपाल पक्षले निर्णय नगर्दा बाँडफाँटमा अन्योल 
कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन दलहरूबीच मन्त्रालय भागबन्डा गर्न सकस परेको छ । एउटै दलभित्रका फरक–फरक समूहलाई सरकारमा सहभागी गराउनुपर्ने र नेताहरूले आन्तरिक व्यवस्थापनको समस्या देखाएर मन्त्रालयको संख्यामा बार्गेनिङ गर्न थालेपछि सकस परेको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।

मन्त्रालय भागबन्डामा देउवालाई सकस

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मन्त्रालय भागबन्डाका बारेमा छलफल भइनसकेको दाबी गरे । ‘म संलग्न बैठकमा छलफल भएको छैन, अरू ठाउँमा भएको भए मलाई थाहा भएन,’ उनले भने । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच २५ वटा मन्त्रालयलाई चारवटा समूहमा राखेर भागबन्डा गर्ने सैद्धान्तिक समझदारी बनेको छ । जसपा नेता डम्बर खतिवडाका अनुसार शक्तिशाली, विकास र सामाजिक समूहका मन्त्रालयमध्ये गठबन्धन दलहरूबीच कम्तीमा एक/एकवटा भागबन्डा गर्ने सैद्धान्तिक छलफल भएको छ ।

गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलमध्ये एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा जाने/नजाने निश्चित भइनसकेका कारण पनि मन्त्रालय भागबन्डाले निकास पाउन सकेको छैन । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल नेपाल पक्षलाई केही समय पर्खेर भए पनि सरकारमा ल्याउनुपर्ने पक्षमा छन् । नेपालले पनि सरकारमा सहभागी हुने संकेत गर्दै आएका छन् तर दोस्रो तहका नेताहरूले अझै पनि पार्टी एकताको आस मारेका छैनन् । उनीहरूकै आग्रहमा नेपाललाई सरकारमा जाने निर्णय लिन समस्या परेको छ ।

‘नेता नेपालले सरकारमा आउने संकेत गरिरहनुभएको छ तर केही दिन पार्टीभित्रको स्थिति हेरेर निर्णय लिन्छौं भन्नुभएको छ,’ प्रधानमन्त्री देउवानिकट स्रोतले भन्यो, ‘उहाँको निर्णय आएपछि मात्रै मन्त्रालय भागबन्डाको औपचारिक रूपमा टुंगो लाग्न सक्छ ।’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिर्गमन गराएर नयाँ गठबन्धनको सरकार बनाउनमा नेपाल निर्णायक शक्ति भएकाले उनलाई चिढाएर कुनै पनि गतिविधि नगर्ने पक्षमा देउवा–दाहाल छन् ।

‘नेपाल पक्ष सरकारमा आउने/नआउनेबारे निर्णय भएपछि मात्रै गठबन्धन दलहरूबीच कति–कति मन्त्रालय भागबन्डा गर्ने भन्ने तय हुन्छ,’ माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले भने, ‘मैले सुनेअनुसार नेपाल पक्षले एक–दुई दिन पर्खन आग्रह गरेको छ । त्यसपछि मात्रै कसरी अघि बढ्ने थाहा होला ।’

प्रधानमन्त्री देउवाले तीन दिनअघि सरकारमा सहभागी हुने–नहुने विषयमा छलफल गर्न नेपाललाई बोलाएका थिए । छलफलमा नेपालको प्रतिनिधित्व गर्दै नेता विजय पौडेल गएका थिए । ‘प्रधानमन्त्रीले बोलाएको बैठकमा हाम्रोतर्फबाट पर्याप्त कोभिड भ्याक्सिन उपलब्ध गराउने र बाढीपहिरोमा परेका पीडितका लागि राहत उपलब्ध गराउनेलगायतका सुझाव दियौं, सरकारमा सहभागी हुने कुरा गरेका छैनौं,’ पौडेलले भने । उनका अनुसार पार्टीभित्र एकताको प्रक्रिया अघि बढिरहेकाले तत्काल सरकारमा जाने सम्भावना छैन । ‘पार्टी एकताले पूर्णता पाउने हो कि फरक बाटो लिनुपर्ने हो भन्ने बीचमा हामी छौं । कि राष्ट्रिय सरकार बन्नुपर्‍यो, होइन भने बीचको अवस्थामा हामी सरकारमा जाने कुरा हुन्न,’ पौडेलले भने ।

सरकारमा नजाने भए पनि राष्ट्रिय सभामा नवनिर्वाचित खिमलाल देवकोटा र सांसद नभएका आफूनिकट केही नेतालाई सरकारमा पठाउने कि भन्ने विमर्शमा नेता नेपाल छन् । दल त्यागका कारण पूर्वगृहमन्त्री रामबहादुर थापा पदमुक्त भएपछि उनको ठाउँमा स्वतन्त्र हैसियतका देवकोटा सत्ता गठबन्धनको बलबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

प्रधानमन्त्री देउवाले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिँदा एमाले अध्यक्ष ओली समूहकै आठ जना सांसदले पनि सरकारको पक्षमा मतदान गरेका थिए । तत्कालीन ओली नेतृत्वको सरकारमा सहभागी जसपा अध्यक्ष महन्थ ठाकुर समूह पनि अन्तिम घडीमा ‘युटर्न’ हुँदै सरकारको पक्षमा उभिएको थियो । देउवाले विश्वासको मत दिने ओली पक्ष र ठाकुर समूहलाई पनि सरकारमा सहभागी गराउने चाहना राखेका छन् ।

आफूले नेतृत्व गरेको सरकारले तीन तहकै निर्वाचन गराउने दायित्व बोकेका कारण देउवाले सम्भावित राजनीतिक द्वन्द्व र टकरावलाई ख्याल गर्दै सबै पक्षलाई सरकारमा समेट्न खोजेका हुन् । यसो गर्दा आंशिक रूपमा राष्ट्रिय सहमतिको सरकारको सन्देशसमेत जाने उनको बुझाइ छ । जसपा अध्यक्ष यादवले भने अर्का अध्यक्ष ठाकुर पक्षलाई सरकारमा लैजान नहुने सुझाव दिएका छन् । ‘प्रतिगमनकारी’ ओलीलाई साथ दिएकाले उनीहरूलाई सरकारमा ल्याउन नहुने तर्क यादव पक्षको छ । नेपाल वा ठाकुर पक्षको सहयोगबिना सरकारको पक्षमा बहुमत पुग्दैन । बहुमत नपाएपछि सरकारले ल्याउने विधेयक र प्रस्तावहरू प्रतिनिधिसभाबाट पारित नहुने जोखिम हुन्छ ।

संसद्मा फेस गर्नसमेत प्रधानमन्त्रीलाई नैतिक संकट पर्छ । प्रधानमन्त्रीनिकट एक नेताका अुनसार ठाकुर पक्षको सहभागिता अर्थपूर्ण हुन सक्ने भएकाले उनीहरूलाई पनि सरकारबाहिर नराख्ने योजनामा प्रधानमन्त्री छन् । सरकारमा सहभागी हुने मनस्थिति बनाएरै ठाकुर पक्षले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको ती नेताको दाबी छ । ‘संविधान संशोधनलगायत मधेसका मुद्दामा सहमति गरेर मात्रै सरकारमा आउने कुराकानी उहाँहरूको छ । तत्काल सरकारमा नआए पनि मन्त्रालय छुट्याएर राख्नुपर्ने अवस्था छ,’ उनले भने ।

सत्ता गठबन्धनमध्ये एक सांसद रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सत्ताको मुख्य घटक माओवादीले सरकारको नेतृत्व कांग्रेसले गरेकाले मन्त्रालय भागबन्डामा बराबरी हैसियत हुनुपर्ने अडान राखेको छ । ठाकुर पक्ष पनि सरकारमा सहभागी हुँदा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षलाई कति मन्त्रालय दिने भन्ने अन्योल छ । यादवपक्षीय नेता खतिवडाले एमालेको नेपाल समूह सरकारमा सहभागी नहुँदा जसपाले कम्तीमा ७ मन्त्रालय पाउनुपर्ने दाबी गर्छन् । ‘टुंगो लागेको छैन, प्रतिनिधिसभा पुनःस्थापना भएपछि २० सांसद आफूहरूको पक्षमा भएकाले कम्तीमा सात मन्त्रालय पाउनुपर्ने हाम्रो दाबी छ,’ उनले भने ।

यसअघि ठाकुर पक्षमा लागेका ८ जना सांसद यादव पक्षतिर पुगेका छन् । उनीहरूलाई व्यवस्थापन गर्नुपर्ने चुनौती पनि अध्यक्ष यादवमा छ । कांग्रेस र माओवादी केन्द्रमा पनि आन्तरिक गुटहरूको व्यवस्थापन गर्न चुनौती छ । कांग्रेसले ९ मन्त्रालय पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चार मन्त्रालयमा दाबी गरेको छ । पूर्वमहामन्त्री सिटौला पक्षसमेत पार्टीमा छुट्टै अस्तित्वमा छ । प्रधानमन्त्री देउवाले पार्टीभित्रै आफ्नो र इतर समूहलाई चित्त बुझाउने चुनौती छ । पहिलो दिनमै शपथ लिएका गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की देउवानिकट हुन् । ‘कसरी र कुन आधारमा साझेदारी गर्ने भन्ने विषयमा मुख्य नेताहरूले छलफल गरिरहनुभएको छ,’ माओवादी नेता पौडेलले भने, ‘सबै कुरा एमालेमा नेपाल पक्षको कस्तो स्थिति रहन्छ भन्नेमा अड्किएको छ ।’

प्रकाशित : श्रावण ५, २०७८ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?