२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदसँग एमालेले सोध्यो स्पष्टीकरण

‘हाम्रो पंक्तिमाथि सम्भाव्य षड्यन्त्र र आक्रमणको अनुमान गरेका छौं, त्यसको सशक्त प्रतिवाद हुनुपर्छ ।’ - केपी शर्मा ओली

काठमाडौँ — पार्टी निर्णय अवज्ञा गर्दै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले स्पष्टीकरण सोध्ने भएको छ । केन्द्रीय कमिटीको सोमबारको दसौं बैठकले स्पष्टीकरण सोध्ने निर्णय लिएको हो ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ सांसदसँग एमालेले सोध्यो स्पष्टीकरण

‘फ्लोर क्रस गर्ने सांसदले २४ घण्टाभित्र स्पष्टीकरण दिनुपर्छ, उहाँहरूले दिएको स्पष्टीकरणका आधारमा पार्टीले कारबाही गर्छ,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘१० बुँदे सहमतिले आफ्नो सरकार ढालेर अर्को पार्टीलाई मत देऊ, पार्टीको निर्णय उल्लंघन गर भन्दैन ।’

देउवालाई विश्वासको मत दिनेमा नेता माधव नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, नीरादेवी जैरु, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए । त्यसैगरी ओली पक्षबाट गोपाल बम, धनबहादुर बुढा, पार्वती विशंखे, समिना हुसेन, प्रेम आले, कृष्णकुमार (किसन) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसीले देउवालाई मत दिएका थिए । देउवालाई मत दिने नेताहरूमाथि कारबाहीको प्रस्तावको विषयलाई लिएर बैठकमा विवाद भएको थियो ।

ओलीले स्पष्टीकरण सोध्ने प्रस्ताव अगाडि सार्दा केन्द्रीय सदस्यहरू महेश बस्नेत, खिमलाल भट्टराई, कर्ण थापा, रामेश्वर फुँयाललगायतले त्यो प्रक्रियामा नगई तत्कालै कारबाही गर्नुपर्ने सुझाव दिएका थिए । तर, बैठकले २४ घण्टाको समय दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

‘आइतबार संसद्मा शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदको कदम हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो,’ बैठकमा अध्यक्ष केपी शर्मा ओलीले भने । नेता नेपालले बहुमत नभएको कमिटीमा आउँदिन भनेर अध्यक्ष पद खोजेको दाबी ओलीले गरे । ‘हिजोमात्रै माधव नेपालले बहुमत नभएको कमिटीमा जान्न भनेछन्,’ उनले भने, ‘सरकार ढलाउने, अपराध गर्ने, उनैलाई अध्यक्ष बनाउनुपर्ने ?’ प्रतिक्रियावादी शक्तिहरूले पार्टीभित्रकै केही व्यक्तिलाई प्रयोग गरेर एमाले विभाजन गर्ने षड्यन्त्र गरिरहेको दाबी पनि ओलीले गरेका छन् । ‘पार्टीभित्रका महत्त्वाकांक्षीहरूलाई सुर्‍याएर एमाले पार्टीलाई कमजोर बनाउने काम भइरहेको छ,’ उनले भने । नेता नेपालमाथि उनले प्रतिक्रियावादी खेमामा गएको आरोप पनि लगाएका थिए ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसद प्रेम आले र किसन श्रेष्ठको पनि ओलीले आलोचना गरेका थिए । आलेलाई आफूले मन्त्री बनाए पनि काम गर्न नसकेपछि हटाएको र फेरि मन्त्री पाइन्छ कि भनेर देउवालाई मत दिएको टिप्पणी गरे । श्रेष्ठले भने आफू नेतृत्वको सरकारमा मन्त्री हुन धेरै जोडबल गरे पनि नबनाएको उनले बताए ।

‘एमालेमाथि हमला हुन सक्छ’

बैठकमा ओलीले गठबन्धनबाट बनेको सरकारले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला गर्न सक्ने भन्दै त्यसको सशक्त प्रतिवाद हुनुपर्ने बताए । ‘हाम्रो पंक्तिमाथि सम्भाव्य षड्यन्त्र र आक्रमणको अनुमान गरेका छौं,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य महेश बस्नेतले भने, ‘त्यसको सशक्त प्रतिवाद हुनुपर्छ ।’

कांग्रेस विगतदेखि नै झगडिया प्रवृत्तिको र माओवादी पनि अपराध कर्मबाट आएको पार्टी भएको ओलीले बताए । ‘कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी हो,’ बैठकमा उनले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो ।’ तर, जनताबाट अपार समर्थन पाएको एमाले पार्टीलाई कसैले औंला उठाउन नसक्ने ओलीको भनाइ छ । उनले भने, ‘सबैलाई याद होस्, एमाले चिचिलो काँक्रोजस्तो अरूले औंला ठड्याएर देखाउँदा झरेर जाने होइन । जनताको अपार समर्थन भएको पार्टी हो ।’

बैठकलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री देउवाले कोभिडविरुद्धको खोपलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताए । ‘केही पनि नभएको ठाउँबाट सबैले कोभिड खोप लगाउन पाउने अवस्थामा पुर्‍याएका छौं,’ उनले भने, ‘दक्ष जनशक्ति, खोप लगाउने केन्द्रहरू र सबै नेपालीलाई क्रमशः लगाउन पुग्ने गरी खोपको व्यवस्था गरेका छौं । अब कसैले प्राथमिकतामा खोप, खोप, खोप भनेर जोड दिइरहनुको खास अर्थ छैन ।’

अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिन सुझाव दिएका छन् । ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने । सकिन्छ भने अझै राजीनामा फिर्ता लिनुस्,’ उनले भनेका थिए । रावलले प्रधानमन्त्री देउवालाई विश्वासको मत नहालौं भन्दा नेपालले उनलाई हप्काएर पठाएको ओलीको दाबी छ । ‘भीम रावलहरूले देउवालाई विश्वासको मत नहालौं, पार्टीलाई एकताबद्ध बनाऔं भन्दा माधव नेपालले म विधि–पद्धति निर्णय मान्दिनँ, एक्लै भए पनि भोट हाल्छु भनेर हप्काएर पठाए,’ उनले भने । देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि रावलले संसद् भवनमा सञ्चारकर्मीहरूको अगाडि राजीनामा पत्र पढेर सुनाएका थिए ।

कार्यदलको सहमति कार्यान्वयन गर्दै ‘दसौं बैठक’

असार १८ गते बसेको केन्द्रीय कमिटी बैठकलाई १३ औं बैठक भनिए पनि सोमबार बसेको बैठकलाई एमालेले दसौं बैठक भनेको छ । एमाले विवाद समाधान गर्न गठित कार्यदलले असारमा २७ मा गरेको १० बुँदे सहमति कार्यान्वयनका लागि १३ औं बैठकलाई दसौंमा रूपान्तरण गरिएको हो ।

१० बुँदे सहमतिमा पार्टी कमिटीलाई २०७५ जेठ ३ पूर्वबाट सञ्चालन गर्ने भनिएको छ । प्रवक्ता ज्ञवालीका अनुसार २०७५ जेठ ३ मा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रस्तावको अनुमोदन नवौं केन्द्रीय कमिटी बैठकले गरेको थियो । त्यहीअनुसार केन्द्रीय कमिटीको १० औं बैठक २०७५ जेठ २ को सिलसिलामा जोडिएको उनले बताए । तर बैठकमा पूर्वमाओवादी नेताहरू पनि सहभागी थिए । बैठकमा नेपाल पक्ष भने थिएन । बैठकले पार्टी विवाद समाधान कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेको छ । बैठक मंगलबार पनि बस्नेछ ।

प्रकाशित : श्रावण ५, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?