कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माथिल्लो मनाङ फड्केको भरमा

चामेबाट माथिल्लो क्षेत्र पुग्ने डेढ किलोमिटर बाटो बाढीले भत्काएको छ, कडा चट्टानी भीरमा नयाँ ट्य्राक खोल्न काम सुरू भएन 
आश गुरुङ

लमजुङ — जेठ १४ मा मनाङमा पहिलो पटक भीषण बाढी आयो । तिमाङखोला छहरा र माथिल्लो क्षेत्रमा काठेपुल बगायो । थान्चोक र तिमाङबीचको काठेपुल पनि बगायो । जेठ ३१ को बाढीले तिमाङखोलाको बेलिब्रिज र स्याल्क्युखोला लघु जलविद्युत् आयोजना पनि बगायो ।

माथिल्लो मनाङ फड्केको भरमा

त्यतिबेला मर्स्याङ्दीको बाढीले नासों गाउँपालिका–१ तालबजार डुबाएको थियो । चामेमा ५ घर डुबाएको थियो । घट्टेखोलाले ५ घर बगाएको थियो । असार २ को बाढीले धारापानीमा नासों गाउँपालिका कार्यालय, २ वटा बैंकका कार्यालयसहित १० घर बगायो । त्यहीबेला बेंसीसहर–चामे सडकको मनाङ खण्ड तालगाउँदेखि चामेसम्म तहसनहस बनायो ।

त्यतिबेला धेरैलाई माथिल्लो मनाङको सडकबारे चासो थिएन । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका छिरिङ गुरुङका अनुसार तलेखुदेखि माथिल्लो क्षेत्र तहसनहस छ । माथिल्लो मनाङदेखि भ्राताङ भीर नजिकैसम्म मर्मतको काम भइरहेको छ । ‘भ्राताङ भीरबाट सडक निकाल्ने कुनै उपाय छैन । एग्रो मनाङ (स्याउ फार्म) का कर्मचारी र स्थानीयले काठको फड्के बनाएका छन् । जोखिम मोलेर त्यहींबाट वारपार हो,’ उनले भने, ‘केही गरी फड्के भाँचियो या हिँड्नेको खुट्टामात्रै ठोक्किएमा पनि सिधै मर्स्याङ्दीमा खसिन्छ । मर्स्याङ्दीको बाढीमा मिसिएपछि सास न लास ।’

मनाङका अगुवा विनोद गुरुङका अनुसार भ्राताङदेखि तलेखुसम्मको सडक सबै बिग्रिएको छ । मान्छे हिँड्न पनि गाह्रो छ । ‘मर्स्याङ्दीको बाढीले चट्टानमा बनेको बाहेक सबै सडक तानेको छ । गाडी त के, मान्छे हिँड्ने बाटोसमेत छैन,’ उनले भने । मर्स्याङ्दी छेउका सडक सबै बाढीले भत्काएको छ । ‘डेढ महिना भयो भ्राताङ भीरमाथि अलिअलि बाटो बनाएको छ । भ्राताङ भीर कटेर जानआउन कठिन छ,’ उनले भने ।

तल्लो क्षेत्रबाट मानिससमेत आउजाउ गर्न नसक्ने अवस्था आएपछि मुस्ताङबाट थोराङ्ला (५,६१६ मि.) उचाइको पास गरेर खच्चडमार्फत खाद्यान्न ल्याइएको छ । माथिल्लो मनाङमा खाद्यान्न नआएको डेढ महिना भयो । सडक नभएकाले तल (बेंसीसहर–चामे) बाट केही आउँदैन । भोकै हुने अवस्था आएपछि मुक्तिनाथ फेदीबाट दुई दिन लगाएर माथिल्लो मनाङमा खाद्यान्न आपूर्ति सुरु गरिएको हो । उनका अनुसार पिसाङमा दुई ट्रिप र खाङसारमा एक ट्रिप चामल, नुनतेल, दाललगायत खाद्यान्न ल्याइएको छ । उनका अनुसार मुक्तिनाथ फेदीसम्म सवारी चल्ने र त्यसपछि खच्चडमार्फत खाद्यान्न ल्याइएको हो ।

‘बेंसीसहरबाट गाडीमा ल्याउँदा प्रतिकिलो १० रुपैयाँ पर्थ्यो । अहिले मुस्ताङबाट थोराङला पास गरेर खच्चडमार्फत ल्याउँदा प्रतिकिलो ४० रुपैयाँ भाडा परेको छ,’ उनले भने । सबैभन्दा बढी मर्का मजदुरलाई परेको छ । ‘स्थानीयले १/२ महिना जोहो गरेका हुन्छन् । मजदुरले सकिनेबित्तिकै किनेर खाने हो । किनेर खानलाई दोकानमा खाद्यान्न छैन । तलबाट ल्याउने बाटो छैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार माथिल्लो मनाङ पुग्ने करिब डेढ किलोमिटर बाटो छैन । भीर मात्रै भएकाले नयाँ बाटो खोल्न गाह्रो परेको उनले बताए । ‘भ्राताङदेखि तलेखुसम्मको बाटो खुलाउन सकिएको छैन,’ उनले भने ।

प्रकाशित : श्रावण ५, २०७८ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?