कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पुनःस्थापना पर्खंदै बाढीपहिरोपीडित : सिन्धुपाल्चोकमा २५ सयको बिचल्ली

मेलम्ची बाढीअघि नै सिन्धुपाल्चोकमा बाढीपहिरोले १७ सय परिवार विस्थापित 
अनिश तिवारी

सिन्धुपाल्चोक — मेलम्ची नगरपालिकाका श्याम खड्काले आफूलाई थोरै मात्रै जग्गा राखे । धेरै जग्गा बाँडेरै सिध्याए । दुई सञ्चारमाध्यम, प्रमुख राजनीतिक दल, कलाकार, नगरपालिकालगायत स्थानीयलाई आफ्नो नाममा रहेको जग्गा दिएर उनी दानवीर कहलिए । जग्गा बाँड्दै हिँड्ने खड्का अहिले आफैं सुकुम्बासी भएर छिमेकीको गोठमा आश्रय लिइरहेका छन् ।

पुनःस्थापना पर्खंदै बाढीपहिरोपीडित : सिन्धुपाल्चोकमा २५ सयको बिचल्ली

गत असार १ मा इन्द्रावती र मेलम्ची नदी एकसाथ उर्लिएर आएको बाढीले उठीबास लगाएपछि उनको अवस्था यस्तो भएको हो । ‘१७ रोपनी जग्गा मैले सामाजिक क्षेत्रमा सहयोग गरेको छु,’ उनी भन्छन्, ‘अहिले घरखेत सबै बगाएर म सुकुम्बासी भएँ ।’

इन्द्रावती र मेलम्चीको दोभानमा छ मेलम्ची बजार । दुवै उर्लेर आएको बाढीले मेलम्ची नगरपालिकामा ७३ घर पूरै र १ सय ६ घर आंशिक पुरिएका छन् । घटनापछि विस्थापित १ सय ७९ परिवार मेलम्ची बजारमाथि टारमा भाडाको घरमा बसिरहेका छन् । सम्पत्ति सबै एकै रातमा गुमेपछि बाढीपीडितको जीवन कष्टकर छ । दाताले दिएका चुलो, भाँडावर्तन, ओढ्ने–ओछ्याउने र खाद्य सामग्रीको भरमा छन् । यसरी विस्थापित सबैको ५ महिनाको डेरा भाडा नगरपालिकाले तिरिदिने घोषणा गरेको छ । तर उनीहरूलाई आफ्नै घरमा बस्न मन छ । ‘पाँच महिनाको भाडा नगरपालिकाले बेहोर्ने निर्णय भएको छ,’ मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्यालले भने, ‘अस्थायी आवासका लागि पनि कोसिस भइरहेको छ ।’

मेलम्ची नगरसँगै बाढीपहिरोबाट प्रभावित हेलम्बुका बासिन्दाको अवस्था झन् बिजोग छ । घटनापछि एक सातासम्म सडक र सञ्चारबाट विच्छेद भएको हेलम्बुको जनजीवन अझै सामान्य भइसकेको छैन । विस्थापितहरू टेन्ट र त्रिपालमा आश्रय लिइरहेका छन् । नदी छेउबाट उँभोतिर लागेर बारीका पाटामा बसिरहेका छन् । गाउँपालिकाका अनुसार हेलम्बुमा २ हजार ३ सय ३१ जना विस्थापित भएका छन् । १ सय १ घर मेलम्चीको बाढीले बगाएको छ । ४ सय १२ घरमा आंशिक क्षति पुगेको छ । हल्दे, अम्बाथान, तिम्बु, किउल, गणेशेबगर, चनौटे र ग्याल्थुमका बासिन्दा घर छाडेर त्रिपालमुनि छन् ।

असार १ मा हेलम्बु हुँदै उर्लिएको मेलम्ची (मेलम्चीघ्याङ) खोलाको बाढीले हेलम्बुका स्थानीय र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीसहित गरी २० अझै बेपत्ता छन् । बाढीबाट ५ जनाले ज्यान गुमाएका छन् । उक्त बाढीपहिरोले मात्रै मेलम्ची, बाह्रबिसे नगर, हेलम्बु, पाँचपोखरी थाङपाल र भोटेकोसी गाउँपालिकामा गरी झन्डै एक हजार परिवार जोखिममा छन् । सात सय परिवार विस्थापित भएका छन् । बाढीले बेपत्तामध्ये एक जनाको शव भेटियो, हेलम्बुका १४ को अवस्था अझै अज्ञात छ । १५ जनाकै परिवारलाई गाउँपालिकाले एक लाख दरले राहत दिने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने ‘एक महिनाभित्र अस्थायी टहरा बनाएर राख्ने र सरकारले ल्याएको विपद् कार्यविधिअनुसार ६ महिनाभित्र स्थायी बसोबास गराउने लक्ष्य छ ।’

बाढीपहिरोबाट अति प्रभावितमा पर्ने सिन्धुपाल्चोकमा यसअघि पनि यस्ता घटनाबाट झन्डै १ हजार ७ सय परिवार विस्थापित जीवन बाँचिरहेका छन् । गत वर्षको लिदी पहिरोबाट विस्थापित भएकाको अवस्था पनि मेलम्ची र हेलम्बुका बाढीपीडितभन्दा फरक छैन ।

१ सय ७२ परिवारले जुगल–१ बासखर्कमा टेन्ट र पालमै यसरी सास्ती बेहोरेको १० महिना पुगेको छ । बर्खामा हिलो र हिउँदमा हिउँको सिरेटो खपेर बसेका छन् । अघिल्ला घटनामा विस्थापितको अवस्था नबदलिएको देख्दा हेलम्बु, मेलम्चीदेखि पाँचपोखरी थाङपाल–२ का परिवार आत्तिएका छन् । गत वर्ष बाह्रबिसेको जम्बु, जुगल–२ लिदी र बाह्रबिसे–७ घुम्थाङका पहिरोमा परेका ३५ जनाको अवस्था अझैसम्म अज्ञात नै छ ।

‘सुरक्षित बासका लागि प्रबन्ध गर्दै छौं, माथिल्लो निकायले चासो नदिँदा काममा ढिलाइ भएको हो ।’ जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले भने । विस्थापितलाई सुरक्षित ठाउँमा सार्न योजना बनिरहेको बाह्रबिसे नगरकी उपप्रमुख सुशीला पाख्रिनले बताइन् ।

प्रकाशित : श्रावण ५, २०७८ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?