१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खोप केन्द्रबाटै संक्रमणको डर

‘खोप त जसरी पनि लगाउनैपर्‍यो तर भीडबाटै कोरोना सर्ने डरले अत्याएको छ’

काठमाडौँ — सर्वसाधारणको लामो लाइन छ । सरकारी मापदण्ड ‘भौतिक दूरी’ लाई लाइनमा गुम्सिएकाहरूले गिज्याइरहेका छन् । खोप केन्द्रमा पुगेका कतिपयले त मास्कसमेत लगाएका छैनन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल स्वास्थ्य चौकीमा सोमबार देखिएको दृश्य हो यो ।

खोप केन्द्रबाटै संक्रमणको डर

कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन करिब ६ सय सर्वसाधारणको अनियन्त्रित भीड भए पनि यहाँ खोप भने ४ सय डोज मात्र उपलब्ध थियो । भीड नियन्त्रणका लागि वडाध्यक्ष किरण थापा र स्वास्थ्यकर्मीको समन्वयमा टोकनको व्यवस्था गरियो । तर स्थानीय भने भीडबाट निस्किन आनाकानी गरिरहेका थिए । वडाध्यक्ष थापाले टोकन नहुनेलाई फिर्ता हुन र मंगलबार फेरि आउन पटकपटक आग्रह गर्नुपर्‍यो ।

‘आउन–जानको दुःख मात्र भयो, २ घण्टा लाइन बसिसकेर फिर्ता पठायो,’ सूर्यविनायकबाट सिपाडोल पुगेकी सुकुमाया भुजेलले भनिन्, ‘अस्ति भेरोसेल खोप लगाउन आएकी थिएँ, सिद्धियो भन्दै फर्कायो ।’ सूर्यविनायक–८ ठूलोगाउँकी सीता केसीले भने ३ घण्टा भीडभाडमा बसेरै भए पनि खोप लगाउन भ्याइन् । ‘खोप त जसरी पनि लगाउनैपर्‍यो,’ उनले भनिन्, ‘तर भीडबाटै कोरोना सर्ने डरले अत्याएको छ, खोप केन्द्र व्यवस्थित भएन ।’ स्थानीय सुरेन्द्र कार्कीले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नहुने हो भने वर्षौंसम्म पनि कोरोना नहट्ने बताए ।

वीर अस्पतालको नयाँ भवनको भुइँ तलामा खोप लगाउने व्यवस्था गरिएको थियो । गेटबाट नै सुरक्षाकर्मीले उमेर र खोप लगाउनुको उद्देश्य सोध्दै भित्र पठाइरहेका थिए । ‘भौतिक दूरी अपनाउनु भन्यो, एकछिन सर्छन्, फेरि एकै ठाउँमा हुन्छन्,’ अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत कार्कीले भने । मन्त्रालयबाट फोन आए पनि करिब साढे २ बजेदेखि रजिस्ट्रेसन र वैदेशिक रोजगारमा जानकै लागि खोप लगाउन आउनेलाई खोप बन्द गरिएको उनले बताए । निजामती कर्मचारी अस्पताल (सिभिल) ले भने खोपका लागि टोकन प्रणाली लागू गरेको छ । टोकनकै लागि अस्पतालको गेटभन्दा बाहिरसम्म लाइन देखिन्थ्यो । अस्पतालका खोप संयोजक डा. दीपक पौडेलले ५०–५४ उमेरका, स्वास्थ्यकर्मी, अपांगता भएका र विदेश जान लागेका व्यक्तिलाई खोप लगाइएको बताए । ‘हिजोअस्ति त अझ धेरै भीड थियो,’ उनले भने, ‘टोकन सिस्टम लागू गरेपछि आजदेखि व्यवस्थित भएको छ ।’

राजधानीमा काठमाडौं महानगरसहित ११ वटा नगरपालिकाका अस्पताल तथा स्वास्थ्य संस्थामा ५५ वटा खोप केन्द्र तोकिएको छ । ललितपुर महानगरमा भने खोपको जिम्मेवारी वडाध्यक्षहरूले लिएका छन् । तर केन्द्रको उचित व्यवस्थापन नहुँदा ज्येष्ठ नागरिकले बढी सास्ती भोग्नुपरेको छ ।

अस्तव्यस्त भएकै कारण ललितपुर महानगरपालिका–१४ मा त विवाद नै सिर्जना भयो । कतिपय वडाले ज्येष्ठ नागरिकलाई आराम गर्न कुर्सीसमेत व्यवस्था गरेनन् । विशाल चोककी ६४ वर्षीया सत्यवती राईले खोप लगाउनकै लागि निकै कष्ट बेहोर्नुपरेको सुनाइन् । घुँडाको समस्याले लामो समय उभिन नसक्ने उनी नखिपोट क्षेत्रमा तोकिएको उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्र पुगेकी थिइन् । विशाल चोकका गंगाराम राईले जनप्रतिनिधिको बेवास्ताले दुःख भोग्नुपरेको दुखेसो पोखे । ‘दुई स्थानमा खोप केन्द्र तोकेर एउटामा महिला र अर्कोमा पुरुषलाई दिने व्यवस्था मिलाएको भए सहज हुन्थ्यो,’ उनले भने । अस्पताल प्रशासनले पनि व्यवस्थित गर्न नसकेको उनले बताए ।

काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भीडभाडलाई मध्यनजर गरेर खोप केन्द्र विस्तार गर्न सकिने बताइन् । ‘व्यवस्थापन गर्न अस्पताल प्रशासन, सुरक्षा निकाय र महानगरका प्रतिनिधिबीच समन्वय गर्ने भन्ने थियो,’ उनले भनिन् । काठमाडौं महानगरले भने खोप व्यवस्थापनका लागि पालिकास्तरबाट नभई माथिल्ला निकायले मिति र समय तोक्दा कार्यक्रम प्रभावकारी नबनेको जवाफ दिए । महानगर प्रवक्ता ईश्वरमान डंगोलले अस्पतालले कोटा माग गरेपछि व्यवस्थापकीय समस्या सिर्जना भएको बताउँछन् ।

सहिद शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बाँस्तोलाले अस्पतालमा कति खोप आउने भन्ने निश्चित नभएको बताए । ‘खोप दिने भनेपछि जताततैबाट मानिस आउँछन् । लाइनमा बस्नासाथ लगाउन पाइन्छ भनेर सोच्छन्,’ उनले भने, ‘यसले गर्दा भीडभाड हुने गरेको हो ।’

खोप केन्द्र व्यवस्थित बनाउन नगरसँग बजेटको अभाव भने छैन । ललितपुर महानगरले प्रत्येक वडाका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको छ । १४ नम्बरका वडाध्यक्ष रामबाबु महतले सामुदायिक स्वास्थ्यकर्मी (भोलिन्टर) र परिवार नियोजनका स्वास्थ्यकर्मीबीच विवाद हुँदा समस्या निम्तिएको बताए । जिल्ला खोप समन्वय तथा अनुगमन समिति संयोजक ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले अनुगमन गरेर व्यवस्थित गर्न निर्देशन दिइसकेको दाबी गरे । काठमाडौंसहित ११ वटा नगरमा १ लाख ५२ हजार खोप वितरण गरिने स्वास्थ्य कार्यालय काठमाडौं प्रमुख बद्रीबहादुर खड्काले बताए ।

वैदेशिक रोजगारीका लागि युक्रेन जान लागेका यामबहादुर नेपाली सोमबार ३ बजेसम्म टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा खोप लगाउन बसिरहेका थिए । तर अस्पतालले १ बजेदेखि नै वैदेशिक रोजगारमा जाने र शरणार्थीका लागि खोप बन्द गरिसकेको थियो । उनको भिसाको म्याद चार दिन बाँकी छ । एजेन्सीले सोमबार साँझको टिकट काटिसकेको छ । उनीसहित तीन जना युक्रेन जान लागेका हुन् । ‘खोप पाएनौं भने हामी जान पाउँदैनौं, हाम्रो पैसा डुब्छ,’ नेपालीले गुनासो गरे, ‘कहिले खोप पाउँछौं भनेर जवाफ पनि दिएनन् ।’

अस्पतालका एक कर्मचारीका अनुसार वैदेशिक रोजगारमा जान लागेका तीन सयभन्दा बढी खोप नपाएपछि फर्केका छन् । करिब एक सय जनाले बिहानै लाइनमा बसेका कारण खोप पाएको उनले बताए । ‘माथिबाट खोप बन्द गर्ने आदेश आएकाले बन्द गरेका हौं,’ ती कर्मचारीले भने, ‘त्यसपछि आएकालाई फर्काउनुपर्‍यो ।’

टेकुमा झन्डै २ घण्टा लाइन बसेर पनि खोप नपाएपछि कीर्तिपुरका सरोज श्रेष्ठ वीर अस्पताल पुगेका थिए । उनी श्रीमतीसँग अस्ट्रेलिया जाने तयारीमा छन् । श्रेष्ठले वीरमा ३० मिनेट नबित्दै खोप लगाउन पाए । ‘टेकुमा लाइन बस्यौं, श्रीमतीले खोप पाइन्, मेरो पालोमा बन्द गरिदियो,’ उनले भने, ‘त्यसपछि हामी यहाँ आयौं ।’ दुवैले खोप पाए पनि खोप लगाउनै ठाउँबाटै संक्रमण सर्छ कि भन्ने डरले उनीहरूलाई अत्याएको छ । अस्पतालले भौतिक दूरी अपनाउन आग्रह गरिरहे पनि कसैले नटेरेको श्रेष्ठले बताए ।

साउदी अरब जान लागेका जितबहादुर दराई खोपकै खोजीमा बिहान ७ बजेदेखि निस्किएका थिए । सशस्त्र प्रहरी अस्पताल (बलम्बु), परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली हुँदै टेकुमा झन्डै एक घण्टा लाइन बसेर उनी २ बजेतिर वीर अस्पताल पुगेका थिए । लाइनमा गुम्सिएर बसेका उनी खोप पाउने/नपाउने अनिश्चयमै थिए । कोटेश्वरकी मनीषा प्रजापति भने तोकिएको उमेरभन्दा कम भएकाले खोप नलाईकन फर्किइन् । केन्द्रबारे जानकारी पाए पनि कस्ता–कस्ता मानिसलाई खोप लगाउँछन् भन्नेबारे थाहा नभएको उनले बताइन् । कतिपय ज्येष्ठ नागरिकसमेत खोप नलगाई केन्द्रबाट फर्किएका थिए । अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको जोन्सन एन्ड जोन्सन खोप सोमबारदेखि लगाउन सुरु गरिएको छ । एक मात्रा लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाउने सरकारले घोषणा गरे पनि केन्द्रको दृश्यले यो लागू भएको देखिएन । क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरेका देशमा जाने व्यक्ति र सरसफाइकर्मीलाई पनि यो खोप लगाइँदै छ ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न अस्पतालका खोप केन्द्रको निरीक्षण गरेका छन् । देउवा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, महारागन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र वीर अस्पताल पुगेका हुन् । उनीसँगै नेपालस्थित अमेरिकाका राजदूत र्‍यान्डी बेरी पनि गएका थिए । प्रधानमन्त्री देउवालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पतालका कार्यकारी निर्देशक डा. जागेश्वर गौतमले खोपबारे जानकारी गराएका थिए । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन खोप असार २८ मा अनुदानमा उपलब्ध गराएको हो ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा कल्याण शाखा प्रमुख डा. झलक शर्मा गौतमले सोमबारदेखि उपत्यका, काभ्रे र गण्डकी प्रदेशका केही जिल्लामा खोप लगाउन थालिएको जानकारी दिए । जोन्सन एन्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त अपांगता भएका, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइनेछ ।

प्रकाशित : श्रावण ५, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?