कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोरोना कथा : अनि मदनकृष्ण एक्लै रोए

‘हामी यति शिथिल हुँदै गयौं कि पानी तताएर खान दिने शक्ति कसैमा थिएन । एकले अर्कालाई टुलुटुलु हेर्ने भयौं । लाचार भयौं ।’
जनकराज सापकोटा

काठमाडौँ — मदनकृष्ण श्रेष्ठका लागि यो नयाँ वर्ष उल्लासमय भएन । परिवारका पाँचै जना एकै पटक संक्रमित भए । पार्किन्सनका दीर्घरोगी मदनकृष्ण संक्रमित भएपछि दुई पटक गरेर २२ दिन अस्पताल बसे । घर फर्केको केही दिनमै मुटुमा समस्या देखियो । मुटुका दुई रक्तनलीमा ९० प्रतिशतभन्दा धेरै ‘ब्लकेज’ देखिएपछि उनी फेरि दुई दिन अस्पताल बसे ।

कोरोना कथा : अनि मदनकृष्ण एक्लै रोए

कोरोना संक्रमणमाझ महिना लामो अस्पताल बसाइमा उनले जीवनकै फरक अनुभूति सँगाले । एक मुठी अक्सिजनको खोजीमा तड्पिइरहेका बिरामी र सबैको शत्रु भनिएको कोरोनासँग लड्न छाडेर आ–आफैं लडिरहेका नेताहरूका आवृत्ति उनको अगाडि नाचिरहे ।

परिवारका सबै सदस्य संक्रमित भएपछिका चार दिन त मदनकृष्णले जेनतेन घरमै काटे । ‘हामी यति शिथिल हुँदै गयौं कि पानी तताएर खान दिने शक्ति कसैमा थिएन । एकले अर्कालाई टुलुटुलु हेर्ने भयौं । लाचार भयौं,’ उनी सुनाउँछन् । चौथो दिन अस्पताल भर्ना भएपछि उनले प्राण जोगाउन संघर्ष गरिरहेका बिरामीलाई नियाल्न पाए ।

आठ दिन निजी अस्पतालको जनरल वार्डमा बस्दा उनले जोडसँग खोकिरहेका बिरामीलाई नजिकबाट देखे । उनलाई लाग्थ्यो, ‘खोक्दै गरेका बिरामीको कतै छाती त फुट्दैन ?’ वार्डमा कोही बिरामी अक्सिजनका भरमा बाँचिरहेका थिए । कोही गुजुल्टो परेर बसिरहेका थिए । मदनकृष्ण जेनतेन बेडबाट झरेर हिँड्न सक्थे । उनी बेडमा पुगेर मुसुक्क हाँसेर नमस्ते गर्थे तर उनी हाँसेको अरूले देखुन् कसरी, मास्कले मुख छोपिएको हुन्थ्यो । वार्डमा एक जना कोरियन संक्रमित पनि थिए । कोरियामा पटक–पटक कार्यक्रम गर्न जाँदा मदनकृष्णले एकाध कोरियन शब्द सिकेका थिए । उनी ‘आनिहास्योअ’ अर्थात् नमस्ते भन्थे ।

आठ दिनमा डिस्चार्ज भएर घर फर्किने बेला उनलाई ह्वीलचियरमा बाहिर निकालिँदै थियो । उनले सबै बिरामीको अनुहारमा खुसी फर्कियोस् भनेर केही महिनाअघि आफूले गाएको ‘फूलबुट्टे सारी सपक्क पारी पछ्यौरी मलमलको...’ गीत गाए । घर फर्केको अर्को दिनमै उनी फेरि शिथिल भए । त्यतिबेला उनलाई अब तङ्ग्रिन सक्दिनँ कि भन्नेजस्तो लाग्यो । त्यो क्षण सम्झिँदै उनी भन्छन्, ‘यति शिथिल भएँ कि तङ्ग्रिन नसकेरै मर्छु जस्तो लाग्यो । अनि फेरि अस्पताल पुगिहालें ।’

संक्रमित बस्ने अस्पतालको क्याबिन बिरानो थियो । न कोही भेट्न आउँथे न कतै टहलिन सम्भव थियो । उनले सुनाए, ‘आर्मी क्याम्पमा छिर्न सजिलो होला तर त्यहाँ छिर्न सकिँदैनथ्यो । ढोका खोले रोग सर्ने डरले कोही आउँदैनथे ।’ क्याबिनको एकान्तबासमा उनको मन आफैंसँग डरायो । एक दिन उनले पाइलट विजय लामाको भिडियो हेरे । खाने तेलको विज्ञापनमा ‘मुटु चाहिन्छ मुटु’ भन्दै छातीमा दह्रो हातले हिर्काउने पाइलट लामा पनि कोरोना संक्रमित भएपछिको अनुभव साट्दै रुन खोजेको देखेर उनको मन आत्तियो ।

त्यस्तो हट्टाकट्टा मान्छेलाई त रोगले यसरी गालेको छ । मलाई के बाँकी राख्ला भन्नेजस्तो भाव उनको मनमा आयो । अस्पताल बस्दा नै उनले कोरोना संक्रमणकै कारण नातागोता बितेको थाहा पाए । उनले तिनीहरूका परिवारलाई फोन गरे । त्यो क्षण सम्झिँदै उनले भने, ‘उनीहरू रोए, म पनि रोएँ । कोरोना कति डरलाग्दो रै’छ भन्ने महसुस भयो ।’

एक दिन उनलाई आफू साह्रै कमजोर भएको महसुस भयो । अनि उनी एक्लै रोए । क्याबिनको एकान्तमा उनको आँसु एक जना स्टाफ नर्सले देखिन् । नजिकै आएर सोधिन्, ‘के भयो दाइ तपाईंलाई ?’ गत वर्षमात्रै क्यान्सर रोगका कारण बितेकी पत्नी यशोदाको तिथि परेकाले उनैलाई सम्झेर मदनकृष्ण रोएका थिए । उनको रुवाइमा कोरोनाले कमजोर बनाएको मन र पत्नीको याद एकैसाथ मिसिएको थियो । उनले भने, ‘मरिन्छ कि भन्ने डर र भोलिपल्ट पर्ने श्रीमतीको तिथि दुवै रुवाउन पर्याप्त थिए ।’

सधैं अरूलाई हँसाइराख्ने वरिष्ठ हास्य कलाकारको आँखामा आँसु देखेर नर्सले भनिन्, ‘दाइ चिन्ता नलिनु । इमोसनल नहुनु । म भोलि भाउजूको नाममा बत्ती बाल्छु र कलशमा जल ल्याइदिन्छु ।’ नभन्दै भोलिपल्ट ती नर्सले दुईवटा कलशमा फूल राखेर ल्याइदिइन् । मदनकृष्ण झनै भावुक भए ।

अस्पताल बसाइमा उनले सामाजिक सञ्जाल हेरेर, नजिकका प्रियजनसँग गफ गरेर समय कटाए । एक दिन उनले सामाजिक सञ्जालबाटै थाहा पाए, पूर्वराजारानीलाई पनि कोरोना संक्रमण भयो । मदनकृष्णले फेसबुकमा लेखे, ‘गेट वेल सुन राजा । रेस्पेक्ट यु । लभ यु ।’ संक्रमित पूर्वराजारानीलाई पनि आफूलाई जस्तै गाह्रो भयो होला भन्ने उनलाई लाग्यो ।

एकैछिनमा फेसबुकमा सयौं कमेन्ट आए । कैयन् कमेन्ट सकारात्मक थिए । कैयन् भने तुच्छ । केहीले त उनलाई लेखे, ‘तिमी राजावादी भयौ ।’ केहीले अझै अगाडि बढेर लेखे, ‘युरोपेली युनियनको कति पैसा खायौ हँ ?’ फेसबुकमा आएका प्रतिक्रिया फुर्सदमा पढेपछि मदनकृष्णले पञ्चायतका पालादेखि आफूहरूले लोकतन्त्रको पक्षमा गरेका काम सम्झिए । अनि उनले सोचाइ तन्काउँदै गएर आफैंसँग सोधे, ‘त्यो मान्छेले फेसबुकमा तुच्छ कमेन्ट किन लेख्यो ? त्यो मान्छे किन त्यस्तो भयो ? किन त्यस्तो विष पोख्यो ? कसको संगत पर्‍यो उसलाई ? उसको गुरु को हो ? उसको गुरुको गुरु को हो ?’

उनले आफैंलाई उत्तर दिए– राजनीतिले नै मान्छेलाई विषाक्त बनायो । राजनीतिकै कारण मान्छेको मनमा विषादी भरिएको छ । उनले आफैंलाई दिएको उत्तरका पछाडि केही कारण थिए । मदनकृष्णले सुनाए, ‘मान्छेहरू सडकमा आएर खानुपर्ने भएको छ । बेरोजगारी बढेको छ । बोर्डरमा उताबाट यता मान्छे आउन पाएका छैनन् । भयावह अवस्था छ तर समाचारमा नेताहरू सत्ताको चलखेलमा मग्न भएको देखिन्छ ।’

अक्सिजनका निम्ति हारगुहार गरिरहेका संक्रमितका आफन्त र बेड नपाएर छटपटिरहेका बिरामीका खबर पढेर उनी भित्रैदेखि उद्वेलित भए । उनले सुनाए, ‘आफूलाई बेडमा सुत्दा त गाह्रो भएको थियो, कैयौं बिरामी भुइँमै पल्टिरहेका थिए । खबर सुन्दा, पढ्दा मन त्यसै भावुक भइरह्यो ।’

उनको मनमा एउटै प्रश्न खेलिरह्यो– ‘देश किन यस्तो भयो ? कसरी बिग्रियो ?’ उनले भने, ‘त्यस्तो अवस्थामा पनि नेताहरू लुछाचुँडीमा ध्यान दिइरहेका थिए । सबैको साझा शत्रु भनेको त कोरोना भाइरस हो नि तर साझा शत्रुलाई बेवास्ता गरेर आफू–आफू झगडा गरिरहे ।’

दोस्रो पटक १४ दिन अस्पताल बसेर फर्केपछि उनलाई छातीमा असह्य पीडा सुरु भयो । उनले सुनाए, ‘पार्किन्सनको दीर्घरोग छँदै थियो, कोरोना संक्रमणसँग पनि जुधेकै थिएँ । फेरि मुटुका दुई रक्तनलीमध्ये एउटामा ९९ र अर्कोमा ९८ प्रतिशत ब्लकेज देखिएछ ।’ उनी हतारहतार अस्पताल भर्ना भए । दुई दिनपछि रक्तनली खुलाउन ‘स्टेन्ट’ राखेपछि उनी डिस्चार्ज भए । उनले सुनाए, ‘तीनवटै रोग मिलेर मलाई अट्याक गरे । तीनवटै कुरुक्षेत्र एकैचोटि जित्नु भनेको त नेपोलियनलाई पनि गाह्रो हुन्छ । धन्न मैले जितें ।’ यति भनेर उनले लामो सास ताने, ‘थ्याङ्स गड ।’

कोरोनाको दोस्रो लहरमा झन्डै तीन महिना उनी घरभित्रै रहे । पछिल्लो एक सातायता मात्रै निस्कन थालेका छन् । कोरोना नहुँदो हो त उनले दोस्रो लहरअघि गाएका दुई गीत बजारमा आइसकेका हुने थिए । प्रोस्टेट, पार्किन्सन, कब्जियत र मुटु रोगलाई जित्न दैनिक २८ थरी औषधि खाइरहेका मदनकृष्ण फेरि नयाँ गीत गाउने अन्तिम तयारीमा जुटेका छन् ।

प्रकाशित : श्रावण ५, २०७८ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?