कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लगाइयो जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप

दिपेन्द्र रोक्का

काठमाडौँ — अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना खोप सोमबार लगाउन सुरु गरिएको छ । जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप एक मात्रा लगाए पुग्ने उक्त खोप ५० देखि ५४ वर्ष उमेरसमूहलाई लगाउने सरकारले घोषणा गरेको थियो । त्यस्तै क र ख वर्गको अपांगता भएका, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मीलाई पनि यो खोप लगाइँदै छ ।

लगाइयो जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप

यो खोपलाई मान्यता दिएका देशहरुमा जानेहरुलाई पनि उपत्यकामा यो खोप दिइएको छ । यो खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो ।

अमेरिकी सरकारले कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप गत साता काठमाडौं आइपुगेको थियो । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो ।


यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।


जोन्सन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।


विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ । अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ ।


जोन्सनको विज्ञप्तिअनुसार यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिन्छ ।


नेपालमा यसअघि पनि विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा कोभिसिल्ड र चिनियाँ भेरोसेल खोप लगाइसकिएको छ ।

प्रकाशित : श्रावण ४, २०७८ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?