जसपा एउटै राजनीतिक एजेन्डामा- समाचार - कान्तिपुर समाचार

जसपा एउटै राजनीतिक एजेन्डामा

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी जुन मुद्दाका कारण विभाजित थियो, अहिले त्यही मुद्दाले एक ठाउँमा आइपुगेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी महन्थ ठाकुर पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएसँगै जसपाका दुवै खेमा एउटै राजनीतिक एजेन्डामा आइपुगेका हुन् । 

ओली नेतृत्वको सरकारमा सहभागी भएदेखि जसपा विभाजनउन्मुख छ । उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोगमा गएपछि ठाकुर पक्षले प्रतिदाबी पेस गरेको थियो । यस विषयमा छिनोफानो गर्न निर्वाचन आयोगले इजलास गठन गरेर आइतबारदेखि सुनुवाइ गरिरहेको छ । प्रतिनिधिसभा दोस्रो पटक विघटन हुनुअघि ठाकुर पक्षमा २० र यादव पक्षमा १२ सांसद थिए । बहुमत सांसदका आधारमा ठाकुर पक्षले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको थियो । केन्द्रीय कार्यकारिणी समितिमा भने यादव पक्ष बहुमतमा थियो ।

प्रतिनिधिसभा पुनःस्थापनापछि ठाकुर पक्षका ८ सांसद यादव पक्षमा गएका छन् । अहिले यादव पक्षमा २० सांसद र ठाकुर पक्षमा १२ सांसद छन् । ‘हामीले प्रतिनिधिसभा विघटनका लागि ठाकुर पक्षलाई साथ दिएका थिएनौं, हाम्रो हस्ताक्षर दुरुपयोग गरेर तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटनका लागि समर्थन दिएकाले गम्भीर असन्तुष्टि थियो,’ प्रमोद साहले भने, ‘फेरि हाम्रो हस्ताक्षर दुरुयोग हुन सक्ने देखेर अर्को समूहमा आएका हौं ।’

ठाकुर पक्षको ‘युटर्न’ सँगै जसपामा एकताको चर्चासमेत हुन थालेको छ । जसपा अध्यक्ष यादवले ठाकुर पक्षले लिएको बाटो गलत थियो भन्ने पुष्टि भएको बताए । ‘जसपा अहिलेसम्म दुइटा छैन । उहाँहरू (ठाकुर पक्ष) ले बाटो बिराउनुभएको थियो । गल्ती महसुस गरेर आउनुभएको छ,’ यादवले भने । यादव पक्षले गल्ती महसुस गरेर फर्के एकता हुन सक्ने संकेत गरेको छ ।

ठाकुर पक्षमा रहेका नेता राजकिशोर यादवले पनि पार्टी एकता हुन सक्ने बताए । ‘हिजो गल्ती जजसबाट भए पनि अब पार्टी एकतामा लाग्नुपर्छ,’ उनले भने, ‘मेरो भूमिका अहिले त्यसैमा छ ।’ यसअघि ओली नेतृत्वको सरकारमा मन्त्री भएका यादव ठाकुर पक्षले निर्णय गर्नुअघि नै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णयमा पुगिसकेका थिए ।

प्रकाशित : श्रावण ४, २०७८ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

नाइट्रोजनका नाममा अक्सिजन ग्यास बिक्रीबारे उद्योगीबीच विवाद

राजु चौधरी

काठमाडौँ — ललितपुरस्थित सोपान फर्मास्युटिकल लिमिटेडले नाइट्रोजन ग्यासका नाममा अक्सिजन ग्यास बिक्री गरेको आरोप लागेको छ । नाइट्रोजनका नाममा अक्सिजन ग्यास पठाउँदा करिब एक करोड रुपैयाँ बराबरको आलु चिप्स र क्रन्ची ड्यामेज भएको श्री बीआईटी उद्योगले आरोप लगाएको छ ।

बीआईटीको एनडीएच ब्रान्ड आलु चिप्स र क्रन्ची उत्पादन ड्यामेज भएको उद्योग सञ्चालक कमल सिंहले बताए ।

‘लकडाउनकै क्रममा एनडीएचले करिब ४ करोड रुपैयाँ लागतमा आलु चिप्स र क्रन्ची उत्पादन सुरु गर्‍यो । मार्चदेखी उत्पादन बजार पठाउन थाल्यो । तर मार्च र अप्रिलको उत्पादनमा समस्या भएको भन्दै डिलरहरूले फिर्ता गर्न थाले,’ सिंहले भने, ‘अनुसन्धान गर्दै जाँदा सोपानबाट नाइट्रोजनका नाममा अक्सिजन पठाएको देखियो ।’

सोपानले पठाएको सिलिन्डरमा सानो अक्षरले अक्सिजन (ओ२) लेखिएको छ । अक्सिजनकै कारण आलु चिप्स र क्रन्ची कुरकुरे ओसिएको सिंहको दाबी छ । उद्योगका अनुसार आलु चिप्स र क्रन्ची कुरकुरे बनाउन नाइट्रोजन चाहिन्छ । नाइट्रोजनले चिप्सलाई ओसिन दिँदैन । प्याकेजिङ गरिएको उत्पादन बिग्रन नदिने हुँदा नाइट्रोजन प्रयोग हुन्छ । त्यही सिलसिलामा सोपानबाट नाइट्रोजन ग्यास मागिएको सिंहले बताए । तर नाइट्रोजनका नाममा अक्सिजन उपलब्ध गराउँदा उत्पादन चिप्स र क्रन्ची ड्यामेज भएको उनको दाबी छ । यसले सर्वसाधारणको स्वास्थ्यमा समेत असर पुग्न सक्ने उनले बताए ।

डिलरहरूबाट गुनासो आएपछि सञ्चालक सिंहले नेपाल घरेलु तथा साना उद्योग महासंघ गुहारेका थिए । महासंघले पनि असार २२ मा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै वास्तविकता बुझेर छानबिन गर्न र दोषी ठहरिए कारबाही गर्न आग्रह गरेको थियो । जिल्ला प्रशाासन कार्यालय काठमाडौंले पनि असार २३ मा आवश्यक कारबाही गर्न महानगरीय प्रहरी परिसरलाई पत्र पठाएको छ । ‘नेपाल घरेलु तथा साना उद्योग महासंघ, माइतीघर काठमाडौंले असार २२ गते पठाएको पत्रबाट अवगत गरी पत्रमा उल्लिखित विषयका सम्बन्धमा अनुसन्धान तथा छानबिन गरी प्रचलित कानुनअनुसार गर्नु हुन आदेशअनुसार अनुरोध छ,’ पत्रमा भनिएको छ ।

जिल्ला प्रशासनले पत्र पठाउँदासमेत प्रहरीले चासो नदिएको भन्दै सिंहले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र गुणस्तर तथा नापतौल विभागलाई समेत गुहारेको जनाइएको छ । खाद्य प्रविधि र गुणस्तर विभागले पनि परीक्षण गर्ने मेकानिजम नभएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा जान सुझाएको उद्योगले बताएको छ । यता सोपानले वैशाख ९ मा पठाएको बिलमा भने नाइट्रोजन नै उल्लेख छ ।

आफ्नो कम्पनीको कुनै दोष नभएको र फसाउन मात्र खोजिएको सोपान फर्मास्युटिकल लिमिटेडका म्यानेजिङ डाइरेक्टर वसन्तचन्द्र मर्हाठाले बताए । ‘पहिलो कुरा, अक्सिजनको ठाउँमा नाइट्रोजन प्रमाणित कसरी गर्ने ? खाद्य उत्पादन गर्ने कम्पनीसँग ल्याब पनि हुनुपर्थ्यो । प्रयोग गर्नुअगावै नाइट्रोजन हो/होइन परीक्षण गर्नुपर्थ्यो । कच्चा पदार्थहरू परीक्षण गर्नुपर्थ्यो,’ उनले भने, ‘सोपानकै फल्ट भनेर कसरी प्रमाणित गर्ने ? सिलिन्डरमा ओटु (०२) लेखिएको भनिएको छ । तर जानाजान किन प्रयोग गरियो ? यहाँ ब्ल्याकमेलिङ गरिएको हुन सक्छ ।’ वााणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवराज सेढाईंले दुवै पक्षलाई फिल्डमै लगेर छानबिन गरिने बताए ।

प्रकाशित : श्रावण ४, २०७८ ०७:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×