प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्‍वासको मत लिने

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद् सचिवालय स्रोतका अनुसार आइतबारको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने कार्यसूची पनि राखिएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्‍वासको मत लिने

सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशन आइतबार ४ बजेदेखि सुरु हुँदै छ ।

करिब साढे तीन वर्ष सत्ता चलाएको एमाले सरकारबाट बहिर्गमनपछि प्रमुख प्रतिपक्षको हैसियतमा रहनेछ । सत्तामा कांग्रेस र माओवादी केन्द्र छन् ।

आइतबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतको प्रस्ताव संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्‍वासको मत लिने सम्बन्धीको प्रस्ताव परामर्श समितिको बैठकमा लगेका थिए । कांग्रेस सचेतक पुष्पा भुसालले सरकारले ल्याएको प्रस्तावअनुसार नै कार्यव्यवस्था समितिले निर्णय गरेको जानकारी दिइन् ।

विघटनविरुद्धको रिटमा सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र साताभित्र बैठक बोलाउन परमादेश जारी गरेको थियो । आदेशपछि करिब दुई तिहाइ बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएका छन् ।

चालु अधिवेशनमै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि प्रधानमन्त्री देउवाले संसद्को पहिलो बैठकमै विश्‍वासको मत लिने तयारी गरेका हुन् ।

विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–१९) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।


प्रकाशित : श्रावण ३, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?