कांग्रेस पदाधिकारी बैठक : नेतामाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न निर्देशन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस पदाधिकारी बैठक : नेतामाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न निर्देशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आसन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिनका लागि गठित समिति सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र संलग्न अन्य कार्यकर्ताहरुलाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई निर्देशन दिएको हो ।

शनिबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणमा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण लिई ३ दिनभित्र कारबाही गर्न सभापति देउवाले अनुशासन समितिलाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बस्नेत नेतृत्वको टोलीले शुक्रबार बिहान पार्टीका केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासनविपरीत रहेको निष्कर्ष निकाल्दै कांग्रेसले कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो ।

प्रवक्ता शर्माले भने, 'आजको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेर ल्याएको पत्र बमोजिम नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवम् सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरुउपर २४ घण्टाभित्र स्पष्टिकरण सोधेर ३ दिनभित्र संगठनको अनुशासनको कारबाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनु भएको छ ।'

बैठकले क्रियाशील सदस्यता छानबिन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानबिन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टीपंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताए ।

बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६–१९ गतेका लागि तोकिएको छ ।

प्रकाशित : श्रावण २, २०७८ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्

कांगेसद्वारा केन्द्रीय सदस्य घिमिरेमाथिको आक्रमणको निन्दा

रासस

काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथिको आक्रमणको निन्दा गरेको छ । केन्द्रीय सदस्य घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यताको कार्यप्रति असन्तुष्ट पार्टीकै केही कार्यकर्ताले आक्रमण गरेका थिए ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्तिमार्फत क्रियाशील सदस्यताको छानबिन स्थलमा पुगेर साङ्गठनिक कार्यमा व्यस्त रहेको समयमा एकाएक गरिएको आक्रमण पार्टीको अनुशासित सदस्यको परिचय हुन नसक्ने उल्लेख गरेका छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशन तयारी सम्दर्भमा शुक्रबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले पनि घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको थियो । प्राप्त छोटो समय र कोभिड–१९ महामारीका बीच पनि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको कियाशील सदस्यता छानबिन समितिले रातदिन कार्य सम्पादन गरिरहेको विषयलाई पार्टी नेतृत्व तहले बैठक क्रममा उच्च प्रशंसा गरेको छ । समितिको कार्यलाई सघाउनु पार्टीका हरेक तहको नेतृत्व र सदस्यको जिम्मेवारी रहेको उल्लेख गर्दै प्रवक्ता शर्माले सदस्यतासम्बन्धी कुनै निर्णयउपर निर्दिष्ट गरिएको उजुरीको निश्चित विधि र सुनुवाइको प्रक्रिया बाहिर गएर प्रकट हुने अराजक, अनुशासनहीन र दण्डनीय गतिविधि अस्वीकार्य हुने बताए ।

प्रकाशित : श्रावण २, २०७८ १८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×