कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाले सहारा खोस्दा बिचल्ली

भारतमा रोजगारी गरेर परिवार पालिरहेकाहरुको मृत्यु भएपछि खान, लाउनकै चिन्ता
बझाङमा कोरोनाले समस्यामा परेकाको तथ्यांक संकलन गरिँदै

टीकापुर, बझाङ — आशाराम चौधरी सिलाइकटाइको काम गर्थे, अनिता घरको । अनिताको एउटा खुट्टाको भर छैन, त्यसैले आशारामले सकभर उनलाई काम कम लगाउँथे । १० र ५ वर्षका छोरीछोरा, वृद्ध आमाबाबु पाल्न चौधरी दम्पतीलाई आम्दानी मनग्गे त थिएन तर हाँसीखुसी गुजारा भने चलेकै थियो । कैलालीको जानकी गाउँपालिका–२ का आशारामको कोरोना संक्रमणले मृत्यु भएपछि अहिले परिवारको बिजोग छ ।

कोरोनाले सहारा खोस्दा बिचल्ली

आशारामको रिक्ततामा आम्दानी गर्ने नहुँदा हातमुख जोर्नै गाह्रो परेको छ । ‘श्रीमान्ले गर्ने सिलाइकटाइको आम्दानीले रोजीरोटी चलिरहेको थियो,’ २७ वर्षीया अनिताले भनिन्, ‘घर छ, खानलाई आम्दानी हुनैपर्छ । अब कसरी बाँच्ने ?’ घर कसरी चलाउने, छोराछोरी पढाउने खर्च कसरी जुटाउने भन्ने चिन्ता रहेको उनले बताए । ‘उहाँ (आशाराम) भएका बेला म पनि सीप सिक्छु भन्दा म छँदै छु, दुःख गर्नु पर्दैन भन्नुहुन्थ्यो, अब त पूरै अन्धकार भयो,’ उनले भनिन् ।

आशारामको दुई महिनाअघि निधन भएको हो । त्यसबेला अन्तिम संस्कारमा आफन्तले सहयोग गरेका थिए । ‘हामी थारूको मर्नीकर्नी (अन्तिम संस्कार) मा धेरै नै खर्च लाग्छ । त्यो सबै गोतियारले गरिदिए,’ उनले भनिन् । त्यसयता कतैबाट सहयोग नपाएको उनले सुनाइन् ।

यस्तै, टीकापुर–१ का युवक किरण केसीलाई कोरोना संक्रमण भयो । किरण बिरामी भएपछि उनकी आमा चन्द्राले उपचारका लागि नेपालगन्ज लगिन् । छोराको स्याहार गर्दागर्दै संक्रमित भएकी उनको मृत्यु भयो । आमाको निधन भएको केही दिनमा छोराको पनि ज्यान गयो । दुवै आमाछोरा नरहेपछि परिवारमा बिचल्ली छ । किरणका श्रीमती र दुई बच्चा छन् । दुवै आमा–छोराले टीकापुरमा सानो होटल गरेर परिवार पाल्दै आएका थिए । उनीहरूको परिवारमा व्यवसाय गर्ने दुवै जना बितेपछि अहिले संकट भएको किरणकी दिदी सुशीलाले बताइन् ।

‘कमाएर गुजारा गर्ने कोही रहेनन् । अब जरै नभएपछि त कसरी अडिने,’ उनले भनिन् ‘अरू आयस्रोत केही पनि छैन । सानो व्यवसायकै भरमा कान्छो भाइ एमए पढ्दै थियो । बुबा ६३ वर्षको हुनुहुन्छ । अब कसरी छाक टार्ने भन्ने समस्या भयो ।’

टीकापुरको बसपार्कमा रहेको उनीहरूको होटल आमा र भाइको मृत्युपछि अझै बन्द छ । सुशीलाले भनिन्, ‘हाम्रो समाज ठीक छैन । छोरी मान्छेले मात्र कसरी होटल चलाउन सक्छन् । छोरी मान्छे मात्र होटलमा भए भने त्यसै हेला गर्छन् ।’ आमा र भाइको स्याहारमा खटिएकी सुशीला पनि संक्रमित भएकी थिइन् । ५ दिन अस्पताल बसेर घर आएकी हुन् ।

जानकी–२ का वडासदस्य ४२ वर्षीय मदारुद्दिन जागा जनप्रतिनिधि भएकाले कोरोना महामारी फैलँदा समुदायको अगुवाइमा खटिएका थिए । संक्रमणबाट उनको मृत्यु भयो । अहिले परिवारलाई खानलाउन समस्या परेको छ । कैलालीमा कोरोनाबाट ज्यान गुमाएका अधिकांश आफन्तका पीडा समान छन् । कमाउने सदस्य नै गुमाएपछि अधिकांश परिवारमा आर्थिक समस्याले बालबालिकाको पढाइका साथै उनीहरूलाई खानलाउन नै समस्या छ । कोरोनाबाट आफन्त गुमाएका परिवारलाई सान्त्वना दिन कैलालीको टीकापुर नगरपालिकाले किरिया खर्च सहयोग गरेको छ । संक्रमणले आफन्त गुमाएर पीडामा रहेकाहरूको मनोबल बढाउन नगरपालिकाले राहतस्वरूप १० हजार रुपैयाँ सहयोग गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए । उनले भने, ‘कोरोनाका कारण ज्यान गुमाएकाहरूको घरमै गएर राहत रकम हस्तान्तरण गर्ने र काउन्सिलिङको काम पनि गरेका छौं ।’

परदेशमा चुँडियो सहारा

केही समय परदेशमा कमाइ गर्ने र फर्किएर परिवारलाई सुखले पाल्ने इच्छा थियो, खप्तड छान्ना गाउँपालिका–७ गडरायका जनक रोकायाको । श्रीमती र दुई छोरी लिएर उनी भारतको बैंग्लोर पुगे । एक घरमा चौकीदारी गर्थे । श्रीमती बिहान–साँझ सरसफाइ गर्थिन् । दुवै मिलेर लाउनखान पुग्ने कमाइ गर्थे । छोरीहरूलाई उतै पढाएका थिए । परिवारको खर्च कटाएर बचेको रकम आमाबुबाका लागि नेपाल पठाउँथे ।

गरिबीका कारण छोरा हुर्काउन निकै कष्ट भोगेका ६७ वर्षीय बुबा नरबहादुर रोकाया र ६५ वर्षीया आमा कम्पनीदेवी जनकको कमाइले खुसी नै थिए । रोकाया दम्पतीको खुसी धेरै टिक्न पाएन । गत जेठमा कोरोना संक्रमणबाट जनकको मृत्यु भयो । उनका श्रीमती र दुई छोरी नेपाल आउने खर्च अभावमा भारतमै एक आफन्तको शरणमा बसिरहेका छन् । ‘बुढेसकालको सहारा दैवले चुँडिदियो । हाम्रो त टेक्ने भुँइ पनि रहेन, समाउने हाँगो पनि रहेन,’ कम्पनीदेवीले भनिन्, ‘यो उमेरमा आएर बेसहारा भयौं ।’ अहिले आफूहरूले छिमेकीको सहयोगमा छाक टारिरहेको उनले बताइन् ।

भारतमा ज्यान गमाएका बझाङको खप्तड छान्ना गाउँपालिका–७ गडरायका जनक रोकायाकी आमा र छोरी घरमा । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

चैत अन्तिम साता भारतको उत्तराखण्डस्थित खडीखानबाट फर्किएका मस्टा गाउँपालिका–५ का ५५ वर्षीय शेरबहादुर ओखेडालाई कोरोना संक्रमण भयो । वैशाख पहिलो साता जिल्ला अस्पतालमा उनको मृत्यु भयो । भारतमा मजदुरी गरेर उनले ११ जनाको परिवार पालिरहेका थिए । अहिले परिवारको बिजोग छ । ‘बुबा गुमाएको पीडा त छँदै छ । उहाँ गइसकेपछि हामीलाई खानलाउन पनि समस्या भयो,’ छोरा गोपालले भने, ‘एक जनाको कमाइले परिवार धान्न मुस्किल भइरहेको छ ।’ जयपृथ्वी–६ नौरागाउँका ४८ वर्षीय रामबहादुर सिंहले पनि कोरोनाकै कारण ज्यान गुमाए । भारतको तामिलनाडुमा मजदुरी गरिरहेका उनको भरमा सात जनाको परिवार थियो । ‘कमाउने मान्छे नै नरहेपछि परिवारको बिल्लीबाठ भयो,’ उनका आफन्त नरेन्द्र सिंहले भने ।

कोरोनाका कारण परिवारको मुख्य सहारा गुमाएपछि रोकाया, ओखेडा र सिंहको परिवार मात्रै होइन बझाङका धेरै परिवार यस्तो बिचल्ली परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म बझाङमा २० जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको जस्तै लक्षणले मृत्यु भएकाको संख्या ४० भन्दा बढी रहेको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए । मृत्यु हुनेमध्ये धेरैजसो भारतबाट रोजगारी गुमाएर फर्किएकाहरू छन् । ‘भारतमा मात्रै ३५ भन्दा बढी बझाङका मान्छेको मृत्यु भयो भन्ने सुन्नमा आएको छ,’ उनले भने ।

थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले अब तथ्यांक संकलन गर्न थालिएको बताए । ‘कमाइ गर्ने मान्छेको परदेशमै मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ,’ उनले भने, ‘हाम्रो पालिकाका मात्रै ८/९ जनाको भारतमा मृत्यु भएको भन्ने खबर आएको छ । यस विषयमा गाउँगाउँमा बुझ्दै छौं ।’

जिल्ला प्रहरी कार्यालयका अनुसार बझाङबाट भारतमा रोजगारीका लागि वार्षिक करिब ४० हजार जना जाने गरेका छन् । कोरोना महामारीका कारण चैतयता मात्रै १५ हजार जनाभन्दा बढी जिल्ला फर्किएका छन् ।

प्रकाशित : श्रावण २, २०७८ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?