संक्रमण स्थिर, मृत्यु बढ्दो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण स्थिर, मृत्यु बढ्दो

कडाइका साथ स्वास्थ्य मापदण्ड नअपनाए दसैंताका कोभिडको तेस्रो लहर आउने विज्ञको दाबी 
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ को दैनिक संक्रमण दरमा खासै वृद्धि नदेखिए पनि पछिल्ला दिन मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो चार दिनमा झन्डै चार गुनासम्मले मृत्यु बढेको छ । अस्पतालमा अझै पनि आईसीयू र भेन्टिलेटरमा चाप रहेकाले आगामी दिनमा पनि मृत्यु संख्या उल्लेख्य घट्न नसक्ने संकेत देखिएको विज्ञहरूको भनाइ छ । 

गत मंगलबार १२ जनाले ज्यान गुमाएका थिए, शुक्रबार झन्डै चार गुणा बढी ४२ जनाको मृत्यु भएको छ । ‘पछिल्लो साता दैनिक संक्रमण दरमा परिवर्तन देखिएको छैन । संक्रमण दर न बढेको छ, न त घटेकै छ । २० देखि २२ प्रतिशतकै सेरोफेरोमा छ,’ वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘मृत्यु हुनेहरूको संख्या उल्लेख्य रूपमा घटेकै छैन ।’ विज्ञहरूका अनुसार संक्रमण दर स्थिर हुनुमा कोभिड नियन्त्रणका लागि भएका प्रयास प्रभावकारी रूपमा सञ्चालन नहुनु हो । स्वास्थ्य मन्त्रालयले संक्रमण दर नबढे पनि जोखिम नटरेको जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले संक्रमण उस्तै रहेकाले स्वास्थ्य सावधानीमा हेलचेक्य्राइँ गर्न नहुने बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. जीडी ठाकुर भने परीक्षणको दायरा विस्तार गर्नुपर्नेमा जोड दिन्छन् । कन्ट्याक्ट ट्रेसिङको माध्यमले लक्षणसहित वा लक्षणरहितका संक्रमितको पहिचान गरी घरमै वा संस्थागत आइसोलेसनमा राख्न नसक्दा मुलुकमा संक्रमण जस्ताको तस्तै रहेको उनको विश्लेषण छ । ‘दैनिक संक्रमण दर स्थिर देखिनुमा हालसम्म कोभिड नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन नहुनु नै हो,’ उनले भने ।

शुक्रबार ९ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा २०.८६ प्रतिशत अर्थात् २ हजार ६ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार भने पीसीआर परीक्षणमा २१.५८ प्रतिशत संक्रमित देखिएका थिए । एन्टिजेन परीक्षणबाट पनि करिब उस्तै परिणाम देखिएको छ । शुक्रबार ४ हजार ५ सय ६९ नमुनाको एन्टिजेन परीक्षण गर्दा २०.३५ प्रतिशत अर्थात् ९ सय ३० जनामा कोभिड पोजिटिभ देखिएको छ ।

चार दिनयता मृत्यु भएका १ सय ६ जनामध्ये बहुसंख्यक ५० वर्षमाथिका छन् । ८० प्रतिशत व्यक्ति ५० वर्षमाथिका रहेको बताउँदै डा. बीसीले २५ प्रतिशत ५० देखि ५९ वर्षका र ६० माथिका ५५ प्रतिशत रहेको जानकारी दिए । ‘अहिले उपत्यकामा आधाभन्दा बढी आईसीयू भरिइसकेका छन् । अहिलेदेखि नै योजना बनाएर निजी क्षेत्रको आईसीयूको उपलब्धता सुनिश्चित नगरे अवस्था झन् जटिल बन्नेछ,’ उनले भने । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार हाल देशभरिमा २६ हजार ८ सय २७ जना अर्थात् ४.०२ प्रतिशत सक्रिय संक्रमित छन् । हुम्लामा ९ र रुकुम पूर्वमा ९ जना गरी एक अंकमा सक्रिय संक्रमित रहेका जिल्ला दुईवटा मात्र छन् । हजारभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला ८ वटा छन् । झापामा १ हजार ३ सय ८०, मोरङमा १ हजार ४ सय ७४, सुनसरीमा १ हजार २ सय ७०, चितवनमा १ हजार २ सय २९ र कास्कीमा १ हजार ४ सय ७२ जना सक्रिय संक्रमित छन् । काठमाडौंमा ५ हजार ४ सय ४३, भक्तपुरमा १ हजार ४५, ललितपुरमा १ हजार १ सय ३१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

यसैबीच, विज्ञहरूले कडाइका साथ स्वास्थ्य मापदण्ड नअपनाए दसैंताका कोभिडको तेस्रो लहर आउने सम्भावना रहेको दाबी गरेका छन् । ‘नेपाल र अन्य मुलुकमा देखिएका विभिन्न सूचकले कोभिडको तेस्रो लहर दसैंताका आउन सक्ने देखाएको छ,’ डा. बीसी भन्छन्, ‘तेस्रो लहर आउन नदिन सरकार र निजी स्वास्थ्य संरचना तम्तयार भएर बस्नुपर्छ ।’ प्रभावकारी खोप कार्यक्रम र जनस्वास्थ्यको उपयुक्त मापदण्ड सञ्चालनमा उनले जोड दिए । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोमले बुधबार आपत्कालीन समितिलाई सम्बोधन गर्दै कोभिडको तेस्रो लहरको प्रारम्भिक संकेत आउन थालेको बताएका थिए । विश्व तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको जनाउँदै उनले चार सातादेखि विश्वमा कोभिड संक्रमण बढेको उल्लेख गरेका थिए ।

चीनले थप १६ लाख डोज खोप अनुदानमा दिने

चीनले नेपाललाई थप १६ लाख डोज भेरोसेल खोप अनुदानमा दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले यस्तो जानकारी दिएकी हुन् । चीन सरकारको निर्णयअनुसार नेपाललाई थप १६ लाख खोप डोज सहयोग गर्न लागिएको यान्छीले जानकारी गराएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । देउवासँगको भेटमा राजदूत होउले नेपाललाई महामारीको दौरान खोप सहयोग गरेर सहयोग गरिरहने बताएकी थिइन् ।

चीनले यसअघि पनि नेपाललाई दुईपटक गरेर १८ लाख खोप सहयोग गरिसकेको छ । योसँगै नेपालमा चीनबाट अनुदानमा मात्र ३४ लाख खोप भित्रिनेछ । यसअघिको १८ लाख खोप आएर पनि नेपाली जनताले लगाइरहेका छन् । यस्तै, नेपालले चीनबाट ४० लाख खोप खरिद गरेर ल्याउने प्रक्रियामा छ । योसँगै नेपाललाई सबैभन्दा बढी खोप सहयोग गर्ने मुलुक भएको छ । नेपाललाई यसअघि भारतले ११ लाख अनुदानमा सहयोग गरेको थियो भने २० लाख खरिद गरेकामा १० लाख खोप मात्र हालसम्म दिएको छ ।

अमेरिकाले भने नेपाललाई १५ लाख ३० हजार जोन्सन एन्ड जोन्सनको खोप दिइसकेको छ । जापानले पनि नेपाललाई १६ लाख अस्ट्राजेनेका खोप दिने वाचा गरिसकेको छ । उक्त खोप नेपाल आइपुग्न बाँकी छ । त्यसबाहेक नेपालले ३ लाख ४८ हजार खोप कोभ्याक्सको सुविधामार्फत प्राप्त गरेको थियो ।

काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित

भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा खोप अभियान स्थगन गरिएको छ । असार २९ देखि भेरोसेलको पहिलो मात्राको खोप अभियान सञ्चालन भइरहेको थियो । खोप साउन २ सम्म दिने भनिएको थियो ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले भेरोसेल खोपको मौज्दात सकिएकाले अर्को सूचना नभएसम्मका लागि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम काठमाडौंमा स्थगन गरिएको बताए । यो खोप ५५ वर्षमाथिका प्राध्यापक, सवारी चालक, नागरिक, शिक्षक, कर्मचारी, सहचालकलगायतका समूहलाई प्राथमिकतामा राखेर खोप दिइएको थियो ।

असार ३१ गते अर्थात् बिहीबारसम्म काठमाडौं जिल्लामा १ लाख १५ हजार ७ सय ४१ जनाले भेरोसेलको पहिलो मात्रा लगाएका छन् भने बुधबार ४३ हजार ४ सय ५८ र मंगलबार १३ हजार ६ सय ६३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी गराएको छ ।

प्रकाशित : श्रावण २, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

खोप लगाएका सबैजसोमा ‘एन्टिबडी’ तयार

शरीरमा सुरक्षात्मकस्तरको एन्टिबडी कोभिडविरूद्धको पूर्ण मात्रा खोप लिएको दुई सातापछि विकसित हुन्छ
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिहरूको शरीरमा सुरक्षास्तर विकासबारे विस्तृत अध्ययन नभए पनि खोप जीवनरक्षक सावित भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा खोप लगाएका व्यक्तिहरूमा एन्टिबडी तयार भएको र त्यसले भाइरसविरुद्ध लड्न बल पुर्‍याएको पाइएको छ । प्रयोगशालाले खोप लगाएका करिब ७० जना आफ्नै कर्मचारीको एन्टिबडी परीक्षण गरेको थियो ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले खोप लगाएपछि बनेको एन्टिबडी कहिलेसम्म रहनेबारे अध्ययन हुन बाँकी रहेको बताइन् । ‘कम मात्रामा यस्तो परीक्षण भए पनि खोप लगाएका सबैजसोमा एन्टिबडी बनेको पाइयो तर त्यो कहिलेसम्म रहन्छ भन्नेबारे थप परीक्षण भएको छैन,’ उनले भनिन्, ‘अहिले परीक्षण गरिएकाहरूको एन्टिबडीको अवस्था ६ महिनापछि फेरि हेर्छौं ।’

कोभिड संक्रमण भइसकेका कर्मचारीमा पहिलो मात्रा खोप लगाएपछि नै राम्रो स्तरमा एन्टिबडी बनेको थियो तर पहिले प्राकृतिक रूपमै संक्रमण नभएकामा भने दोस्रो मात्रा लगाएपछि मात्र एन्टिबडी राम्रोसँग बनेको डा. झाले बताइन् । खोप लगाएपछि बन्ने एन्टिबडीबारे बृहत् वैज्ञानिक अध्ययन आवश्यक देखिएको छ । ‘खोप लगाएका जनसंख्यामा कोभिडविरुद्ध कति समयसम्म सुरक्षा हुन्छ, अध्ययन आवश्यक छ,’ वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. राजेन्द्र बीसीले भने, ‘यसले हाम्रा लागि कुन खोप उपयुक्त छ, यसको सुरक्षास्तर कहिलेसम्म रहन्छ, थप मात्राहरू कतिको आवश्यक छ भन्ने जानकारी पाउन सकिन्छ ।’

सामान्यतः शरीरमा सुरक्षात्मकस्तरको एन्टिबडी कोभिडविरुद्धको पूर्ण मात्रा खोप लिएको दुई सातापछि विकसित हुन्छ । नेपालमा कोभिडको पूरै मात्रा खोप लगाएका व्यक्तिमा एन्टिबडी बनेकाले संक्रमणबाट मृत्यु हुने संख्या कम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । आवर वर्ड इनको तथ्यांकअनुसार सार्क मुलुकमा भुटानले कोभिडविरुदद्ध सबैभन्दा बढी जनसंख्यालाई खोप लगाएको छ । भुटानले हालसम्म ६२.९० प्रतिशत जनसंख्यालाई खोप लगाएको छ । हालसम्म भुटानमा २ हजार २ सय ५२ जना संक्रमित भएकामा एक जनाको मात्र मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले कोभिडविरुद्घ खोप लगाएका र नलगाएकाहरूको शरीरमा प्रोटेक्सन लेभेल (सुरक्षास्तर) कस्तो छ भन्नेबारे ‘सेरो सर्भिलेन्स’ अध्ययन सुरु गरेको जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको उक्त अध्ययनका लागि दुई–तीन महिना लाग्ने जनाउँदै डा.पोख्रेलले भने, ‘यसबाट खोपको प्रभावकारिताबारेसमेत जानकारी पाउन सकिन्छ ।’

कोभिडविरुद्ध खोप लगाएका कतिपय व्यक्तिको शरीरमा प्रतिरोधक क्षमता कम भए पनि रोगविरुद्ध लड्न नसक्ने भन्न हतार हुने विज्ञको भनाइ छ । कोभिडसँग लड्ने क्षमताबारे जानकारी कोषको मेमोरी सेलमा हुन्छ । ‘यो बनाउन सके खोप लगाएपछि शरीरमा एन्टिबडी नदेखिए पनि मेमोरी सेलमा भएको सूचनाले गर्दा शरीरले चाहिएका बेला रोग प्रतिरोधक क्षमता निर्माण गर्न सक्छ,’ डा. बीसीले भने, ‘कसैकसैको शरीरले देखाएरै ६ महिना वा योभन्दा धेरै समयसम्म एन्टिबडी राख्न सक्छ तर कसैकसैको शरीरमा एक–दुई महिनापछि नै एन्टिबडी नदेखिन सक्छ ।’

प्रकाशित : असार २६, २०७८ ०६:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×