बृहत्तर राष्ट्रिय एकताको खाँचो : सभामुख सापकोटा

काठमाडौँ — सभामुख अग्निप्रसाद सापकोटाले बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद् भवन नयाँ बानेश्वरमा निरीक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीचमा बृहत्तर राष्ट्रिय एकता आवश्यक रहेको बताएका हुन् ।

बृहत्तर राष्ट्रिय एकताको खाँचो : सभामुख सापकोटा

उनले नेपालीको आत्मनिर्णयको अधिकार प्रयोग गरेर अगाडि बढ्न तथा संविधान जारी भएसँगै जनताले राखेका आशालाई विश्वासमा परिणत गर्नका लागि बृहत् राष्ट्रिय एकताको खाँचो रहेको बताए । उनले भने, ‘अहिले समग्र स्थितिलाई हेर्दाखेरी, समग्र राष्ट्रिय परिस्थितिलाई विचार गर्दाखेरी फेरि पनि बृहत्तर राष्ट्रिय एकताको खाँचो छ । किनभने हामीले आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गर्दै अगाडि बढ्नको लागि अनि त्यसपछि जनताले जुन आशा गरेका थिए संविधान जारी भइसकेपछि ती सबै जनताको आशालाई विश्वासमा परिणत गर्नका लागि र हरेक हिसाबले बृहत् राष्ट्रिय एकताको खाँचो छ । त्यो बृहत् राष्ट्रिय एकता कायम गर्नका लागि मुख्यत: पार्टीहरुको भूमिका हुन्छ ।’

उनले बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिधिसभा भएको र प्रतिनिधिसभाबाट राष्ट्रिय एकताको सन्देश दिनुपर्ने पनि बताए । उनले भने, ‘बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलोचाहिँ प्रतिनिधिसभा हो । यहाँबाट त्यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ ।’

सभामुख सापकोटाले राष्ट्रिय एकता कायम गर्न आफूले इमान्दारीतापूर्वक र निष्ठाका साथ समन्वय गर्ने पनि बताए । उनले संसद् बैठक व्यवस्थित ढंगले गर्ने पनि बताए ।

प्रकाशित : श्रावण १, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?