कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

महान्यायाधिवक्ता खातीले लिए शपथ 

काठमाडौँ — नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले शपथ लिएका छन् । सर्वोच्च अदालतमा एक समारोहबीच शुक्रबार खातीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथ लिएपछि खातीले महान्यायाधिवक्ता कार्यालय रामशाहपथ पुगेर पदभार ग्रहण गरेका छन् ।

महान्यायाधिवक्ता खातीले लिए शपथ 

महान्यायाधिवक्तालाई शपथ ग्रहण गराउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित भइनन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ गरिएको हो ।

'२०७८ वैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट लिने बाहेकका प्रधानन्यायाधीशबाट हुने सबै शपथ सर्वोच्च अदालतमा हुन थालेको हो,' सर्वोच्चका सञ्‍चारविज्ञ किशोर पौडेलले जानकारी दिए ।

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् । महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् ।

महान्यायाधीवक्ता खातीले आफू राष्ट्रपति, सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको र राष्ट्रपतिबाटै नियुक्ति गरिएको हुँदा शपथ पनि विगतको अभ्यास अनुसार हुनुपर्ने अडान लिएका थिए । तर राष्ट्रपति कार्यालयले भने सर्वोच्चलाई नै परिपत्र गरिएकोले उतै शपथ लिन र राष्ट्रपतिलाई भेट्ने भए आउन भनेको स्रोतले बतायो । यसअघिका महान्यायाधीवक्ता रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।

यसअघि वैशाखमा कोरोना संक्रमणको कारण देखाउँदै न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमा नै गरिएको थियो । गत वैशाखमा राष्ट्रपतिले कोरोना संक्रमण फैलिने भन्दै न्यायाधीशको शपथमा उपस्थित हुन नसकिने बताएकी थिइन् ।

प्रकाशित : श्रावण १, २०७८ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?