कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ओलीले बैठक रोक्न नमानेपछि नेपाल समूहका नेता बाहिरिए

काठमाडौँ — नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष नेता रोक्न आग्रह गर्दै बैठकस्थल पुगेर निष्किएका छन् ।

ओलीले बैठक रोक्न नमानेपछि नेपाल समूहका नेता बाहिरिए

शुक्रबार करिब १२ बजेदेखि संस्थापन पक्षको स्थायी कमिटी बैठक च्यासलमा जारी छ । बैठक चलिरहेका बेला नेपालपक्षबाट कार्यदलमा रहेका नेताहरु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । नेपालपक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य बैठकस्थल पुगेका थिए ।

नेता रावलले बैठक रोक्न आग्रह गरेको जानकारी दिए । तर, अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपालपक्षका नेताहरु बैठकस्थलबाट बाहिरिएका छन् ।

बैठक रोक्न आग्रह गरे पनि अध्यक्ष ओलीले नमानेपछि आफूहरू निस्किएको नेता रावलले बताए । 'दुई नेताबीच कुराकानी गर्ने र कार्यदलको सहमत अनुसार जाऔं । पार्टीको एकताका लागि हामी प्रतिबद्ध छौं । हामीबाट सहयोग रहन्छ । सबैभन्दा बढी पार्टी अध्यक्षले सोच्नपर्यो, त्यसपछि वरिष्ठ नेताले सोच्नपर्यो भनेर हामीले आग्रह गर्यौं । तर पार्टी अध्यक्षले धेरै केही भन्नु भएन । यो बैठक जारी रहन्छ । यसका कार्यसूचि अगाडि बढाउनुस् भन्नुभयो । त्यसपछि यिनै कुरामा बैठक अगाडि बढ्ने हो भने हाम्रो सहभागिता छैन । हामी हिड्यौं भनेर निस्कियौं,' नेता रावलले भने ।

कार्यदलको सहमतिअनुरुप काम अगाडि बढ्ने आशा गरे पनि त्यसो हुन नसकेको उनले बताए । 'कार्यदलले जे सहमति गरेको छ तदअरुप पार्टीका कामहरु अगाडि बढ्ने छन् भन्ने आशा गरेका थियौं । एमालेको एकता आवश्यक छ । यसलाई टुटाउने काम नगरियोस् । कार्यदलमा भएको सहमतिभन्दा अन्यथा नगरियोस् । राजनीतिक उथलपुथलले गर्दा आज राष्ट्र अप्ठेरो स्थितिमा छ । त्यसकारण एमालेको एकतालाई अगाडि बढाउन स्वयं पार्टी अध्यक्ष र बैठकमा उपस्थित हुनुभएका अरु कमरेडहरुले गम्भीर रुपमा सोच्नुस् । र यो बैठक स्थगित गर्नुस् भनेका थियौँ,' उनले भने ।

ओलीले बालुवाटारबाट बालकोटस्थित निजी निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले आफूहरूलाई झन अप्ठेरो पारेकाले केही समय बैठक स्थगित गर्न आग्रह गरिएको पनि नेता रावलले जानकारी दिए । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले भने, ' हामीले कार्यदलमा भएको सहमतिअनुसार प्रक्रिया अगाडि बढ्ला भन्ने अपेक्षा गरेका थियौं । स्वयं पार्टी अध्यक्षबाट आफ्नो निवासमा सर्नेक्रममा दिएका अभिव्यत्तिहरुले हामीलाई झनै अप्ठेरो पारेको छ । त्यसकारण हामीलाई अलिकति समयको आवश्यकता पर्‍यो । समय दिनुस्, आजको स्थायी र संसदीय दलको बैठक स्थगित गर्नुस्, अनौपचारिक कुराकानी गरौं भन्यौं ।'

बालुवाटारबाट बालकोट सर्ने क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता 'माधव नेपालले गल्ती कमजोरी स्वीकार्ने कुनै ठाउँ छैन' भनेका थिए । ओलीले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफ्नै पार्टीको सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेपालप्रति आक्रोश पोखेका थिए ।

प्रकाशित : श्रावण १, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?