३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुई हजारमा नेपाली नागरिकता !

ससुरालाई बुबा बनाएर नागरिकता लिन खोज्ने एक भारतीयसहित तीन पक्राउ
अवधेशकुमार झा

राजविराज — ससुरालाई बुबा बनाएर नेपाली नागरिकताको प्रतिलिपि लिन खोज्ने भारतीय नागरिक श्रीनन्दन यादवलाई जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार नियन्त्रणमा लिएको छ । नक्कली बुबा बनेर सनाखत गर्न पुगेका ससुरा राजविराज नगरपालिका–१५ का देवन यादव र उनका छोरा सुरेशलाई पनि नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

दुई हजारमा नेपाली नागरिकता !

भारत बिहारको सुपौलका श्रीनन्दनको ५ वर्षअघि राजविराज–१५ देउरीभरुवाका देवनकी छोरीसित विवाह भएको थियो । पछिल्लो एक वर्षयता नेपालमै बस्न थालेका श्रीनन्दनले ससुरालाई बुबा बनाएर नेपाली नागरिकता लिन खोजेका हुन् । श्रीनन्दनले आफूलाई राजविराज–१५ कै सञ्जीव यादव भन्ने व्यक्तिले २ हजार रुपैयाँमा नेपाली नागरिकता दिलाइदिने सहमति गरेको ससुरा देवनलाई सुनाएका थिए ।

‘सञ्जीवले दुई हजार ल्याऊ, सिफारिसहरू सबै हुन्छ । सिफारिस भइसकेपछि नागरिकता बन्न कुनै समस्या हुँदैन । नागरिकता बनेपछि थप केही पैसा दिनु भन्दै मसँग २ हजार रुपैयाँ लिए,’ भारतीय नागरिक श्रीनन्दनले प्रहरीसमक्ष स्वीकारे, ‘उनले नागरिकताको अनुसूची फाराममा वडाध्यक्षको समेत सिफारिस गरेर ल्याइदिए ।’

सिफारिसको एक महिनापछि श्रीनन्दन अनुसूची फाराम लिएर ससुरा देवन र सालो सुरेशसँगै नेपाली नागरिकता लिन बिहीबार जिल्ला प्रशासन पुगेका हुन् । नागरिकता फाँटमा उनले अनुसूची फाराम, अन्य सिफारिस र कागजात पेस गरेपछि कर्मचारीले एक महिनाअघिको सिफारिस लिएर अहिले किन नागरिकता बनाउन आएको भन्दै शंका गरेका थिए । अनुसूची र सिफारिसमा रहेको वडाध्यक्ष रामप्रसाद यादवको हस्ताक्षर नमिलेपछि प्रशासनका कर्मचारीलाई झन् सशंकित बनाएको हो । ‘धेरै समयअघिको सिफारिस लिएर आएपछि कर्मचारीले शंका गरे,’ प्रजिअ आचार्यले कान्तिपुरसँग भने, ‘वडाध्यक्षको हस्ताक्षर पनि फरक–फरक देखिएपछि खोजबिन थाल्यौं ।’

प्रशासन कार्यालयले तत्कालै राजविराज–१५ का वडाध्यक्ष यादवलाई झिकायो । उनी प्रशासन कार्यालयमा आएर सिफारिसमा रहेको हस्ताक्षर आफ्नो नरहेको बताएपछि किर्ते गरी नागरिकता लिन खोजेको खुलेको हो । त्यसपछि प्रजिअ आचार्यले सोधपुछका क्रममा श्रीनन्दनले आफू भारतीय नागरिक भएको र ससुरालाई बुबा बनाएर नागरिकता लिन खोजेको स्वीकारेका थिए । देवनले आफ्नो एक्लो छोरा सुरेश रहेको र श्रीनन्दन जेठी छोरीसँग बिहे गरेका ज्वाइँ भएको खुलाएका थिए । उनीहरूले किर्ते गरी नेपाली नागरिकता लिन आएको स्वीकार गरेपछि तीनै जनालाई नियन्त्रणमा लिएको प्रजिअ आचार्यले बताए ।

‘दुई हजार रुपैयाँ देऊ, सबै कुरा मिलिहाल्छ भन्दै सञ्जीवले नागरिकता बनाउने जिम्मा लिए,’ श्रीनन्दनले भने, ‘सञ्जीवले भनेअनुसार नै सबै काम गरिरहेको थिएँ तर पक्राउ परें ।’ उनको नागरिकता बनाइदिने भनेर दुई हजार रुपैयाँ लिएका सञ्जीवको खोजी भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष यादवले भने, ‘उनीहरू नागरिकताको सिफारिस गराउन आएकै छैनन् । मेरो हस्ताक्षर नै किर्ते गरी अनुसूची र सिफारिसमा आफैंले गरेछन् ।’

केही दिनअघि मात्र सुनसरीको धरानबाट ब्राउन सुगरसहित पक्राउ परेका भारतीय नागरिक राजकुमार सिंहको पनि सप्तरीबाट किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको खुलेको थियो ।

प्रकाशित : श्रावण १, २०७८ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?