२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

बढ्यो चन्दको दौडधुप

बुधबार दाहाल र बिहीबार नेपाललाई भेटेका चन्द प्रधानमन्त्री देउवालाई पनि भेट्ने तयारीमा, तीनबुँदे सहमति कार्यान्वयनमा मुख्य चासो
बबिता शर्मा

काठमाडौँ — केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे सहमति गर्दै हिंसात्मक बाटो त्यागेर खुला राजनीतिमा आएपछि नेकपाका महासचिव नेत्रविक्रम चन्द काठमाडौंबाहिर सक्रिय थिए । राजधानी आएका बेला उनी ओलीबाहेकका नेताहरूलाई खासै चासो दिँदैनथे । ओली र तत्कालीन गृहमन्त्री रामबहादुर थापासँग भेटघाट हुन्थ्यो । सत्ता समीकरणमा फेरबदल आएपछि भने चन्दले अन्य दलका शीर्ष नेतासँगको भेटलाई तीव्रता दिएका छन् ।

बढ्यो चन्दको दौडधुप

चन्द बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनकै निवास खुमलटार पुगे । माओवादी केन्द्रबाटै विद्रोह गरेर हिँडेका चन्दले दाहालसँग सरकारसित भएको विगतको सम्झौतालाई मूल रूपमा उठाएका थिए । बिहीबार उनी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगे । त्यही बेला माओवादी केन्द्रका अध्यक्ष दाहाल पनि कोटेश्वर नै आए । चन्दका साथमा उनको पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोला पनि थिए । चन्दले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने भएका छन् । चन्दको यो दौडधुप ओलीबाट देउवा, दाहाल र नेपालतर्फ किन सोझियो त ? नेकपाका नेता बाँस्तोलाको जवाफ छ, ‘विगतका सहमति कार्यान्वयनमा हाम्रो चासो छ । त्यसैका लागि भेट भइरहेको हो ।’

दाहाल र नेपालसँगको भेटमा अघिल्लो सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको उनले बताए । जेलमा रहेका नेता–कार्यकर्ता छुटाउने सहमति कार्यान्वयन चन्दका लागि मुख्य प्राथमिकतामा छ । नेता बाँस्तोलाले दाहाल र नेतासँगको भेटमा समसामयिक राजनीति, बदलिँदो परिस्थितिलगायतका विषयमा पनि सामान्य छलफल भएको जानकारी दिए । ओली सरकारसँग गत फागुन २१ मा तीनबुँदे सहमति गर्दा केही नेता–कार्यकर्ता छुटे पनि १ सय २३ जना अझै कारागारमा छन् ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले पनि भेटमा चन्दले सम्झौता कार्यान्वयनको विषयमा चासो राखेको बताए । ‘विप्लवजीहरूले पहिलेको सरकारसँग सम्झौता गर्नुभयो, त्यो कार्यान्वयन भएन । नयाँ सरकारले कार्यान्वयन गरोस् भनेर चासो राख्नुभएको छ । हिजोको सरकारले बेइमान गर्‍यो भनेर विभिन्न दललाई अनुरोध गरिराख्नुभएको छ,’ उनले भने । सहमतिपत्रमा हस्ताक्षर गरेका दिन तत्कालीन प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई थुनामुक्त गर्न सुरु गरिसकेको बताएका थिए ।

फेरि वाम ध्रुवीकरणको चर्चा

एकपछि अर्को विकसित राजनीतिक घटनाक्रम र शीर्ष नेताहरूबीच आपसी टकरावले २०७४ को चुनावपूर्वको वाम गठबन्धन तहसनहस भए पनि त्यसमा आबद्ध नेताहरूले फेरि वाम ध्रुवीकरणको चर्चा गर्न थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाल र एमाले वरिष्ठ नेता नेपालसहितका नेताबीच ओलीबाहेकको वाम ध्रुवीकरणका विषयमा छलफल हुन थालेको हो । कोटेश्वरस्थित नेपाल निवासमा बिहीबार भएको भेटवार्तामा नेताहरूबीच तत्कालीन र दीर्घकालीन सहकार्यका सम्भावनाबारे छलफल भएको नेताहरूको भनाइ छ । कोटेश्वरमा चन्दले पहिला नेपालसँग र पछि दाहालसहित छलफल गरेका थिए ।

गएको आमनिर्वाचनमा वाम गठबन्धन बनाएका एमाले र माओवादी केन्द्रले २०७५ जेठ २ मा पार्टी एकता गरेका थिए । अहिले माओवादी केन्द्र, एमालेको खनाल–नेपाल समूह र जनमोर्चा कांग्रेससहितको गठबन्धनमा छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कायमै राखेर वैकल्पिक मार्गचित्रका रूपमा वामपन्थी शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिँदै आएका छन् । पूर्वमाओवादीबीच सम्भव भए एकता नभए कार्यगत एकता र पछि अन्य कम्युनिस्ट पार्टी र एजेन्डा मिल्ने शक्तिसँग गठबन्धन बनाएर चुनावी सहकार्य गर्ने उनको रणनीति छ ।

एमालेमा अध्यक्ष ओलीसँग अन्तरसंघर्ष चलाइरहेका वरिष्ठ नेता नेपालले पनि बृहत् कम्युनिस्ट एकताको अवधारणा अघि सार्दै आएका छन् । उनी आफूले भिन्नै पार्टी बनाउनेबारे अहिलेसम्म स्पष्ट गरेका छैनन् । नेपालनिकट केही नेताले अलग्गै पार्टी बनाउन सुझाएका छन् । ओलीले एमालेमा नेपाललाई कुनै ठाउँ नरहेको बताएर सम्भावित फुटलाई संकेत गरेका छन् । सर्वोच्च अदालतको आदेशले गत फागुन २३ मा तत्कालीन नेकपा एकतापूर्वको अवस्थामा पुगेर एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेपालले लिखित र मौखिक सबैजसो अभिव्यक्तिमा बृहत् कम्युनिस्ट एकतामा जोड दिँदै आएका छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलन र नेपाली क्रान्तिका उपलब्धिहरूको रक्षा गर्नुपर्ने दायित्व आफ्नो काँधमा आएको दाबीसमेत गर्दै आएका छन् ।

कम्युनिस्ट आन्दोलनको भविष्यको रक्षा गर्नु नै आजको तात्कालिक कार्यभार रहेको खनाल–नेपाल समूहका नेताहरूको भनाइ छ । यसका लागि नेपालले ‘संविधान, लोकतन्त्र, संसद्, राष्ट्रिय स्वाधीनता र स्वाभिमान रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरूसँग सहकार्य’ गर्ने नीति पनि लिएका छन् । माओवादीका नेताहरूले एमालेमा गएका पूर्वसहकर्मी घर फर्कन तयार भए संवाद गर्ने पक्षमा छन् । तर ओलीले खनाल–नेपाल समूह अलग हुने सम्भावित परिदृश्यलाई ध्यान दिँदै पूर्वमाओवादी नेताहरूलाई भने आफैंसँग राख्ने योजना बनाएका छन् ।

माओवादी केन्द्रका नेता पुनले भने पूर्वमाओवादी नेताहरूसँग अनौपचारिक रूपमा कुराकानी भइरहेको बताए । ‘हिजो एउटा सन्दर्भमा उहाँहरू जानुभयो । अहिले उहाँहरूलाई त्यहाँ अप्ठ्यारो परिरहेको छ । अहिले हामीले लाज मान्नुपर्दैन । विचार मिल्नेहरू एक ठाउँ बस्ने हो । अब पुनर्विचार गर्न सक्नुहुन्छ भनेका छौं,’ उनले भने । नेकपाका नेता बाँस्तोलाले आफ्नो पार्टीको नीति नै बृहत् कम्युनिस्ट एकता भएको बताए । ‘सामान्यतया हाम्रो पार्टीको नीति भनेको समाजवादका निम्ति बृहत् कम्युनिस्ट एकता हुनुपर्छ भन्ने हो । अहिले ससाना पार्टीसँगको एकता त्यति प्राथमिकता छैन,’ उनले भने, ‘नेपालमा वैज्ञानिक समाजवाद कसरी स्थापना गर्ने र त्यसलाई कसरी लागू गर्ने भन्नेबारे छलफल गरेर बृहत् कम्युनिस्ट एकता गर्न सम्भव छ । त्यो हुनुपर्छ ।’

नेता वलीलाई छाड्न आदेश

हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ, राजद्रोह र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका चन्द नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

थुनामै रहेका बेला मुटुसम्बन्धी बिरामका कारण गंगालाल अस्पतालमा रहेका वलीलाई मानवीय दृष्टिकोणबाट थुनामुक्त गर्न न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले आदेश दिएको हो । प्रहरीले उनलाई २०७५ चैतमा काभ्रेबाट पक्राउ गरेको थियो ।

प्रकाशित : श्रावण १, २०७८ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?