१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चोरिएर अमेरिका पुगेका ३ सम्पदा घर फर्काइए

देवेन्द्र भट्टराई

काठमाडौँ — झण्डै ४ दशकअघि काठमाडौं उपत्यकाका सांस्कृतिक/धार्मिक स्थलबाट चोरिएर पछिल्ला वर्षमा अमेरिकामा फेला परेका ३ प्राचीन सम्पदा युनेस्को प्रावधानअनुसार ‘उत्पत्तिको मुलुक’ नेपाल फिर्ता पठाइएको छ ।

चोरिएर अमेरिका पुगेका ३ सम्पदा घर फर्काइए

फिर्ता आएका सम्पदामा १३ औं शताब्दीमा निर्मित अप्सराको काठको रंगीन टुँडाल, भूमिस्पर्श मुद्राको सुनौलो मूर्ति(१४ औं शताब्दी) र बसेको गणेश मूर्ति(१५ औं शताब्दी) हुन् । अमेरिकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूत कार्यालय र अमेरिकी सरकारको न्यूयोर्कस्थित डिष्ट्रिक एर्टनी अफिस (न्यायधिवक्ता कार्यालय)को पहलमा यी सम्पदा घर फर्काइएका हुन् । बिहीबार संस्कृति मन्त्रालयमा आयोजित एक समारोहमा पुरातत्व विभागले यी ३ वटै सम्पदा छाउनी संग्रालयलाई हस्तान्तरण गरेको छ ।

तस्बिरः अंगद ढकाल

समारोहमा उपस्थित संग्रहालयका प्रमुख जयराम श्रेष्ठलाई पुरातत्वका महानिर्देशक दामोदर गौतम तथा संस्कृति मन्त्रालयका सहसचिव तारानाथ अधिकारीले सम्पदा हस्तान्तरण गरेका थिए ।

‘घर फर्किएका सम्पदालाई सकेसम्म सम्बद्ध मठ–मन्दिर वा सांस्कृतिक केन्द्रमै प्रतिस्थापन गरिने प्रबन्ध गर्ने भनिए पनि यी ३ वटै सम्पदाको अवस्थिति र स्थानबारे अझै अन्तिम निर्क्योल हुन बााँकी छ,’विभागका महानिर्देशक गौतमले कान्तिपुरसँग भने—‘त्यही कारण अहिले सम्पदा सुरक्षा र संरक्षणका लागि छाउनी संग्रालयलाई जिम्मा दिएका छौं ।’

अमेरिकी गृह मन्त्रालय तथा सुरक्षा निकायको समन्वयमा फेला परेका यी सम्पदाको ‘कन्ट्री अफ ओरिजिन’ बारे स्थानीय अदालतमा मुद्दा परेको र अदालती छिनोफानोपछि सम्पदा नेपाल फर्काइएको हो ।तस्बिर : अंगद ढकाल

सन् १९७० को युनेस्को अभिसन्धिअनुसार, हराएका वा चोरिएका यस्ता सांस्कृतिक सम्पदा भेटिए सम्बद्ध उत्पत्तिको मुलुकलाई फिर्ता गर्नैपर्ने प्रावधान छ ।

सम्बन्धित समाचार

प्रकाशित : असार ३१, २०७८ १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?