२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षाभत्ताको ३९ लाख गायब

वसन्तप्रताप सिंह

बझाङ — बुङ्गल नगरपालिका वडा नं ९ र ११ का बासिन्दालाई वितरण गर्न भनी लगिएको  सामाजिक सुरक्षाभत्ताबापतको रकम वडा सचिवकै कोठाबाट हराएको छ । कोठामा राखिएको नगद ३९ लाख रुपैयाँ चोरी भएको वडा सचिव बपिन्द्र महतोले दाबी गरेका छन् । 

वडा सचिवको कोठाबाट सामाजिक सुरक्षाभत्ताको ३९ लाख गायब

उनी नगरपालिकाकै वडा सदस्य धनवीर बोहराको घरमा भाडामा बस्दै आएका छन् । उक्त रकम सोही घरमा राखेको र त्यहीँबाट चोरी भएको महतोले बताएका छन् । तर कोठामा तोडफोड नभएको र पैसा राखेर ताला लगाइएको भनिएको दराज फुटाइएको कुनै संकेत नदेखिँदा घटना शंकास्पद रहेको स्थानीयको भनाइ छ ।

सचिव महतोले भने दराजमा ताला लगाएर पैसा राखेको र त्यसपछि ९ बजेतिर इन्टरनेट चलाउन नजिकैको वडा कार्यालय गएको बताएका छन् । उक्त घरमा सचिव महतोलगायत अरू २ जना भाडामा बस्ने गरेको र घरबेटी अर्कै घरमा बस्ने गरेको बुझिएको छ ।

महतोले सामाजिक सुरक्षाभत्ता वितरण गर्न गत साता मात्रै ६१ लाख रकम नगदै झिकेर लगेको बताए । करिब २१ लाख ९१ हजार रकम वितरण गरिसकेको र ३९ लाख वितरण गर्न कोठामा राखिएको उनको भनाइ छ ।

प्रहरीले वडा सचिव महतो, नगरपालिकाका एक प्राविधिक सहायक र घरबेटीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जनाएको छ । प्रहरी अस्थायी पोस्ट पुतलीलेक र इलाका प्रहरी कार्यालय झापाले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रुपक खड्काले बताए । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला ल्याउन निर्देशन दिइएको खड्काले जानकारी दिए ।

प्रकाशित : असार ३१, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?