सहकार्य बढाउन नेपाली टोली उज्वेकिस्तानमा



काठमाडौँ — दक्षिण एसियाबाट नजिकै भए पनि नेपालले मध्य एसियाबाट महत्त्वपूर्ण फाइदा लिन सकेको छैन । कूटनीतिक सम्बन्ध स्थापना भए पनि मध्य एसियाली मुलुक र नेपालले दूतावास खोलिसकेका छैनन् ।

मध्य एसियालाई अफ्रिकी क्षेत्र, अरब, दक्षिण अमेरिकाभन्दा शान्त क्षेत्रका रूपमा लिइन्छ । किनकि पूर्वसोभियत युनियनबाट टुक्रिएका त्यहाँका मुलुकहरू काजखस्तान, उज्वेकिस्तान, ताजाकिस्तान, तुर्कमेनिस्तान र किर्गिस्तानमा जमिन बढी र जनसंख्या कम छन् ।
तीमध्ये एसियामा तेल, ग्यासलगायत खनिज पदार्थको भण्डार छ । त्यसैले पनि ‘अबको भविष्य मध्य एसियामा छ’ भन्ने कथन पनि पढ्न र सुन्न सकिन्छ । त्यहीमध्ये एसियाको एक रणनीतिक मुलुकका रूपमा मानिने उज्वेकिस्तानले राजधानी तास्केन्टमा असार ३१ र साउन १ मा दुईदिने ‘मध्य एसिया र दक्षिण एसियाबीच क्षेत्रीय कनेक्टिभिटी, चुनौती र अवसरहरू’ नामक सम्मेलन गर्दै छ ।
उक्त सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्यालको टोली मन्त्रीस्तरीय नेतृत्व गरेर गएको छ । पाकिस्तान र अफगानिस्तानका प्रधानमन्त्रीसमेत सहभागी हुने उक्त सम्मेलनमा भारत, चीन, बंगलादेश, रुसलगायत मुलुकका विदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओली सरकारको पालाका दुई परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र रघुवीर महासेठ पनि पदबाट बाहिरिएपछि नेपालले सुरुआतमै जाने भएर प्रतिबद्धता गरेको कार्यक्रममा सचिव पौड्याल मन्त्रिस्तरीय प्रतिनिधित्व गर्दै गएका हुन् । पौड्यालले सम्मेलनअन्तर्गतको साइडलाइन वार्ता पनि गरिरहेका छन् ।
परराष्ट्र सचिव पौड्याल सम्मेलन दुई क्षेत्रबीचको कनेक्टिभिटी र आर्थिक वृद्धिका लागि उपयोगी हुने दाबी गर्छन् । ‘नेपालजस्तो भूजडित मुलुकले मध्य एसियाली क्षेत्रबाट धेरै फाइदा लिन सक्छ,’ उनले कान्तिपुरसँग भने । पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई मध्य एसिया पाइपलाइन, प्रविधि, खनिजलगायत विभिन्न कारणले प्रख्यात भएको मान्छन् । उनी नेपालले प्राथमिकता तोक्न नसक्दा सम्भावना भएका क्षेत्रबाट फाइदा लिन नसकेको ठान्छन् । ‘हाम्रोमा आन्तरिक रूपमा बढी राजनीति भइदियो । जसले गर्दा बाह्य रूपमा फाइदा लिन सकिएको छैन,’ भट्टराईले भने । उनले उक्त क्षेत्रलाई धेरै मुलुकले रणनीतिक क्षेत्रका रूपमा लिएको पनि मान्छन् ।
बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई), सिल्क रोड, अन्य विकासका परियोजनामा छलफल हुँदा नेपालले मध्य एसियाली मुलुकसँग क्षेत्रीय कनेक्टिभिटी अन्तक्र्रियालाई अघि बढाउनु उचित भएको भट्टराईले बताए । मध्य एसियाली मुलुक पहिले सोभियत युनियन भएको कारण पनि ती प्रविधि र पूर्वाधारका आधारमा स्तरीय छन् । विभिन्न खानीले गर्दा उक्त क्षेत्रलाई धनी पनि बनाएको छ । आर्थिक क्षेत्रमा पनि ती क्षेत्रमा प्रगति भएको छ ।
कूटनीतिज्ञ अर्जुनकान्त मैनाली मध्य एसियालाई ‘भर्जिन ल्यान्ड’ का रूपमा व्याख्या गर्छन् । ‘उक्त क्षेत्रमा जग्गा र तेल धेरै छ । जनसंख्या कम छन् । अबको भविष्य उक्त क्षेत्र हो भन्न पनि सकिन्छ,’ उनले भने । उनी नेपालसहित दक्षिण एसिया र मध्य एसिया बीचमा कनेक्टिभिटी कमजोर भएको मान्छन् । ‘यसलाई सुधार गर्नु आवश्यक छ । नेपालले मध्य एसियामा रहेको स्रोतसाधन उपयोग गरी फाइदा लिन सक्नुपर्छ,’ उनले थपे ।
प्रकाशित : असार ३१, २०७८ ०९:१५




















