संकलित रगत आधाभन्दा बढी खेर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संकलित रगत आधाभन्दा बढी खेर

समयमा रगत नपाउनु कम मात्रामा रगत संकलन हुनु मात्र होइन, सरोकारवाला निकाय र बिरामीका आफन्तबीच समन्वय अभाव पनि हो
प्रशान्त माली

काठमाडौँ — क्यान्सरको उपचार गर्न बागलुङका ६७ वर्षीय डम्बरबहादुर बोहरा पोहोर ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा पुगे । चिकित्सकले तत्काल शल्यक्रिया गर्नुपर्ने भन्दै ७ पिन्ट रगत आवश्यक पर्ने बताए । उनका आफन्तले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रमा तीन दिन कुरेर रगत जम्मा गरे । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।

चिकित्सकले उनलाई ४ पिन्ट मात्र रगत चढाउन भ्याए । बाँकी ३ पिन्ट न अस्पतालले फिर्ता गर्‍यो न त मृतकका आफन्तले लिए । अस्पतालमै खेर गयो । बोहराका बुहारी यशोधा भन्छिन्, ‘लास गाउँ लैजान र बिलिङ गर्नमै व्यस्त भइयो । तनावले गर्दा रगत फिर्ता माग्नेतर्फ ध्यानै गएन ।’

  • नुवाकोटबाट क्षयरोग बल्झेर त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न चैतमा आएका ६१ वर्षीय भीमसेनबहादुर भुजेलका आफन्तलाई चिकित्सकले ४ पिन्ट रगत जम्मा गर्न लगाए । दुई पिन्ट चढाएपछि बिरामीको मृत्यु भयो । बाँकी रगत के भयो भन्नेबारे उनका छोरा रामशरणलाई थाहै छैन । ‘अस्पतालले औषधि फिर्ता गर्‍यो । रगत गरेन,’ उनले भने, ‘मागिराख्ने कुरा पनि भएन । लास गाउँ ल्याउनै दौडधुप थियो ।’
  • चितवनबाट फागुनमा मुटुको भल्भको शल्यक्रिया गर्न सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आएकी ६१ वर्षीय सुमित्रा पाण्डेलाई ४ पिन्ट चढाइयो । चिकित्सकले उनका आफन्तलाई ६ पिन्ट जम्मा गर्न लगाएका थिए । उपचार सफल भए पनि बाँकी रगत अस्पतालले फिर्ता दिएन । पाण्डेकी नातिनी सुशना गौतमले भनिन्, ‘हतार थियो । अस्पतालले पनि केही भनेन । हामीले पनि मागेनौं ।’

अस्पतालमा रगत कसरी खेर गइरहेको छ भन्ने यी केही उदाहरण मात्र हुन् । बिरामीले समयमा रगत नपाएर दुःख पाउनुको कारणमध्ये कम मात्रामा रगत संकलन हुनु मात्र होइन । सरोकारवाला निकाय र बिरामीका आफन्तको लापरबाहीले रगतको चरम अभाव भइरहेको हो । उपत्यकामा सामान्य अवस्थामा दैनिक साढे ३ सयदेखि ४ सय पिन्ट माग छ । कोभिडका बेला २ सयदेखि साढे २ सय पिन्ट माग छ । मुलुकभर १२ सय पिन्ट माग हुन्छ ।

एकातिर रगत खेर गइरहेको छ भने अर्कोतिर ब्लड बैंकहरूले मागअनुसार रगत सहज रूपमा उपलब्ध गराउन सकेका छैनन् । बिरामीका आफन्तले दाता खोजेर वा तीन/चार दिन दौडधुप गरेर रगतको जोहो गर्न बाध्य छन् । यसरी बिरामीका आफन्तले हन्डर खाएर संकलन गरेको रगतमध्ये ३० देखि ३५ प्रतिशत मात्र प्रयोग हुन्छ । बाँकी विभिन्न कारणले ६५ देखि ७० प्रतिशत खेर गरिरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए । ‘बढी मात्रामा रगत खेर जानुमा बढी कमजोरी चिकित्सक र अस्पताल प्रशासनको छ । बिरामीका आफन्त पनि जिम्मेवार छन्,’ उनले भने ।

चिकित्सकहरूले अधिकांश केसमा भैपरी आउँदा तत्काल खोज्न गाह्रो हुने हिसाबले बिरामीलाई आवश्यक परेको भन्दा केही मात्रामा बढी रगत जम्मा गर्न लगाउँछन् । तर, उपचारपछि प्रयोग नभएको रगत फिर्ता गर्न अस्पताल मात्र होइन, बिरामीका आफन्तले नै ध्यान दिएका छैनन् । नियामक निकाय नेपाल रेडक्रस सोसाइटी र राष्ट्रिय रक्तसञ्चार ब्युरोले पनि चासो नदिँदा समस्या विकराल बनेको अध्यक्ष कर्माचार्यले बताए । ‘प्रयोग गर्न मिल्ने समय धेरै रहेका रगत प्रयोग पनि हुन्छन् । तर, म्याद सकिन लागेका रगत अस्पताल वा रक्तसञ्चार केन्द्रमै थन्किएका हुन्छन्,’ उनले भने, ‘पछि म्याद सकियो भने नालीमा फाल्ने गरिन्छ ।’

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले रगत ल्याउँदा नै थोरै म्याद बाँकी हुने भएकाले प्रयोगमा नआएपछि खेर जाने गरेको बताए । ‘कुनै पनि बिरामीको अप्रेसन गर्न केही पिन्ट रगत स्ट्यान्डबाई राख्नुपर्छ,’ उनले भने । उनका अनुसार एक जना रक्तदाताबाट चार वटा रक्ततत्त्व तयार पार्न सकिन्छ । रगतको तत्त्वहरूको आ–आफ्नै आयु हुन्छ । होल्ड ब्लडको ३५ दिन, प्याक सेल ४२ दिन, पीआरपी ७२ घण्टा, एफएफपी माइनस ४० डिग्रीमा स्टोर गर्न सकेमा एक वर्ष र प्लेटलेट्सको केही दिनका लागि मात्र हुन्छ ।

नेपाल रेडक्रस सोसाइटीअन्तर्गत स्वास्थ्य विभाग, स्वयंसेवी विभाग, जुनियर रेडक्रस विभाग, एचआरजस्ता विभाग पनि छन् । जनशक्ति पर्याप्त छ । तैपनि उनीहरूले दायित्व पूरा गर्न नसकेको सरोकारवाला बताउँछन् । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक दिव्यराज पौडेल भन्छन्, ‘रगत खेर जाने विभिन्न कारणमध्ये मुख्य त अस्पताल प्रशासनको कमजोरी हो । अस्पतालमा रगत कति प्रयोग भयो/भएन । त्यसको यकिन तथ्यांक राख्ने गरिएको पाइँदैन ।’

उनका अनुसार आर्थिक वर्ष २०७६/७७ मा केन्द्रको पहलमा ५५ हजार ९ सय ५३ पिन्ट संकलन हुँदा जीवाणुका कारण ४ सय ८२ पिन्ट मात्र खेर गयो । ‘अनुगमन गर्ने निकाय राष्ट्रिय रक्तसञ्चार ब्युरो टेकुको हो । प्रयोगमा नआएको रगत फिर्ता गर्न अस्पताल प्रशासनलाई हामीले बेलाबेला आग्रह गरेका छौं । तर फिर्ता गर्दैनन्,’ उनले भने, ‘केन्द्रले नयाँ रक्तदाता स्वयंसेवी आकर्षण गर्न सकिरहेको छैन । कारण आर्थिक अवस्था हो । केन्द्र बर्सेनि घाटामा गइरहेको छ ।’ उनले सरकारबाट छुट्टै बजेटको व्यवस्थापन नहुँदा समस्या निम्तिरहेको दाबी गरे । ‘२०७६/७७ मा ६ करोड १७ लाख ३८ हजार खर्च भएकामा ३ करोड ५६ लाख ९५ हजार मात्र संकलन भयो । २०७५/७६ मा ३ करोड घाटा छ,’ उनले भने ।

राष्ट्रिय रक्तसञ्चार ब्युरो टेकुका फोकल पर्सन डा. रेखा मानन्धरले प्रयोगमा नआएका रगत अस्पतालभित्र अन्य बिरामीलाई दिने गरेको दाबी गरिन् । ‘फिर्ता गर्न फ्रिजमा राख्ने/निकाल्ने गर्दा गुणस्तरमा ह्रास आउने समस्या छ,’ उनले भनिन्, ‘रगत अभाव हुनुमा रक्तदाताकै कमी मुख्य कारण हो ।’ यस्तै, कोभिड संक्रमणमुक्त रक्तदाताले चाहेर पनि प्लाज्मा दान गर्न सकिरहेका छैनन् । सरकारले रेडक्रस सोसाइटीलाई रातो र सेतो रगत छुट्याउने अत्याधुनिक मेसिन उपलब्ध गराएको वर्षौं बित्दा पनि सञ्चालनमा नआउँदा समस्या भएको हो ।

दाताले चाहेमा १० देखि १२ दिनको अन्तरालमा प्लाज्मा दान गर्न सक्छन् । प्लाज्माको माग कोभिड–१९ को महामारीमा बढी छ । त्यस्तै, रक्तसमूह छुट्याउने मेसिन पनि ५ वर्षदेखि थन्किँदा अर्को समस्या थपिएको छ ।

प्रकाशित : असार ३१, २०७८ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्

मुद्दा नटुंगिँदा पीडित संकटमा

सहकारीमा करोडौं रकम डुबाएका पीडितहरु छिट्टै मुद्दा किनारा लगाइदिन भन्दै अदालत धाउँदै
प्रशान्त माली

ललितपुर — २०७७ चैतमा ललितपुर जिल्ला अदालतमा कुमारीपाटीको गुडविल बचत तथा ऋण सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा दर्ता भयो । सञ्चालकमाथि १ सय ३४ जनाको करिब ८१ करोड रुपैयाँ ठगी गरेको आरोप छ । अदालतले गुडविलका अध्यक्ष दिवाकर श्रेष्ठसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

कारागार चलान हुनेमा अन्यमा उपाध्यक्ष सैंबुका दीपेन्द्र कोइराला, कोषाध्यक्ष दोलखाका सपना खड्का, सचिव धापाखेलका विशाल केसी छन् । सदस्यहरू सातदोबाटोका किसन गणेश श्रेष्ठ, गोविन्द महर्जन, विवेक महर्जन, मतिमान महर्जन, डम्बरबहादुर श्रेष्ठ भने धरौटीमा छुटेका छन् ।

  • २०७७ माघमा एकान्तकुनाको नौलो बिहानी सहकारीका अध्यक्ष गंगालाल श्रेष्ठसहित सञ्चालक समितिमाथि ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भयो । श्रेष्ठलगायत सञ्चालक समितिविरुद्ध ८३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीमा उजुरी परेको थियो । प्रहरीले माघमा अध्यक्ष श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । २०७७ माघमै मानभवनको गंगाजल बहुउद्देश्यीय सहकारीका अध्यक्ष नीरबहादुर श्रेष्ठलाई पनि ७० लाख रुपैयाँ ठगेको भन्दै ललितपुर अदालतमै मुद्दा दायर गरिएको थियो । दुवै मुद्दा विचाराधीन छन् ।
  • २०७७ मंसिरमा लुभुको सहयोगी सहकारीका तत्कालीन प्रबन्धक कमलकुमार श्रेष्ठलाई १ करोड ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा ललितपुर जिल्ला अदालतमा दायर मुद्दा पनि विचाराधीन छ ।

सहकारीबाट ठगिएको भन्दै मुद्दा दायर भएका यी केही प्रतिनिधि घटना मात्र हुन् । यस्तो आरोप लाग्ने कतिपय दोषी ठहर हुँदै कारागारमा छन् भने कति फरार छन् । ग्वार्कोको नबिल सहकारी संस्थाकी सञ्चालक विमला लामा ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा छिन् । उनीलगायत सहकारी सञ्चालकविरुद्ध २०७५ माघ २९ मा मुद्दा दायर गरिएको थियो । उनीहरूविरुद्ध ८ करोड रुपैयाँ ठगी गरेको उजुरी परेको थियो ।

ठगीका घटनासम्बन्धी मुद्दाहरू अदालतमा बढे पनि समयमै न्याय निरूपण नहुँदा पीडितहरू झन् समस्यामा परिरहेका छन् । बिहीबार उच्च अदालत पाटनमा कुमारीपाटीको गुडविल सहकारीका सञ्चालकविरुद्ध ललितपुर जिल्ला अदालतले गरेको आदेशसम्बन्धी पेसी थियो तर उक्त पेशी अर्को बिहीबारका लागि सर्‍यो । जिल्ला अदालतले सञ्चालकविरुद्ध गरेको आदेश न्यायोचित छ/छैन भनी एक तहमाथिको अदालतले हेर्ने प्रावधान छ । उच्च सरकारी वकिल पाटनका उपन्यायाधिवक्ता सोमराज काफ्लेका अनुसार गुडविल मुद्दामा धेरै प्रतिवादी छन् । ‘कतिपय अनुसन्धानको क्रममा पनि छन् । छुट्टाछुट्टै नभई एकैपल्ट हेर्ने हिसाबले पेसी सरेको हो,’ उनले भने ।

निषेधाज्ञा खुकुलो भएसँगै अदालतमा मुद्दाबारे बुझ्न आउने सहकारीपीडित बढ्न थालेका छन् । आइतबार झापाका सन्दीप, रूपा (नाम परिवर्तन) लगायत पीडितहरू ललितपुर जिल्ला अदालतमा भेटिएका थिए । बिहीबार उनीहरू पाटन उच्च अदालत पनि पुगे । सन्दीपको २०७६ पुस १ मा गुडविलमा मुद्दती खातामा राखेको ८ करोड रुपैयाँ डुबेको थियो भने रूपाको १० लाख रुपैयाँ । सन्दीपले मुद्दा छिटो टुंगो लगाउन ध्यानाकर्षण गर्न अदालत पुग्ने गरेको बताए । ‘अदालतले चाँडो मुद्दाको छिनोफानो गरेर पीडितलाई न्याय दिलाइदिनुपर्‍यो,’ उनले भने, ‘समयमै मुद्दा छिनोफानो नहुँदा हामी थप आर्थिक संकटमा धकेलिएका छौं ।’

६६ वर्षीय सन्दीपको कामको सिलसिलामा अधिकांश समय विदेशमा बित्यो । युवावस्थामा कमाएको पैसाले बुढेसकालमा घडेरी किनेर घर बनाउने योजनामा थिए । ‘छोराबुहारी बेरोजगार छन् । अहिले घर खर्च चलाउन पनि मुस्किल परेको छ,’ उनी भन्छन्, ‘बुढेसकालमा एउटा गाडी किनेर घुमफिर गर्ने योजना पनि चकनाचुर भयो ।’

रूपाको पैसा डुबेकै कारणले दाजुभाइसँगको सम्बन्ध बिग्रियो । उनले आमाले जोगाएर राखेको पैसा बढी ब्याज पाउने आसमा कर गरेर गुडविलमा राख्न लगाएकी थिइन् । ‘सहकारीले ऋण जोखिम कोषको व्यवस्था गरे डुबे पनि संस्थालाई खासै असर गर्दैन तर अधिकांशले सहकारी ऐनअनुरूप ऋण जोखिम कोषको व्यवस्था गर्दैनन् । सहकारी डुब्ने मुख्य कारण यही हो,’ उनले भनिन्, ‘बढी रकम जम्मा गर्नेले यसतर्फ अनिवार्य ध्यान दिन जरुरी छ ।’

गुडविल सहकारी ठगीमा जोडिएका भनिएका ३० जनाभन्दा बढी व्यक्ति अझै फरार रहेको ललितपुर जिल्ला अदालतका तहसिलदार युवराज पौडेलले बताए । यस्ता मुद्दाको संख्या लगातार बढिरहेको उनको भनाइ छ । ‘अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दाको चाङ नै छ । फाइल अध्ययन गर्दा अघिल्ला वर्षहरूभन्दा यस्ता मुद्दा बढेको देखिन्छ,’ उनले भने, ‘ठगीसम्बन्धी सम्पूर्ण मुद्दा एउटैमा छ । सहकारीको मात्र भनेर छुट्याएर राखेको छैन ।’ निषेधाज्ञा पूर्ण रूपमा खुलेपछि मात्रै मुद्दाको सुनुवाइ राम्रोसँग अघि बढ्ने उनले बताए ।

महानगरीय प्रहरी परिसर जावलाखेलका प्रवक्ता प्रज्वल महर्जनले फरार व्यक्तिहरूको खोजी भइरहेको बताए । ‘गुडविलका मुख्य अभियुक्त देखिएका व्यवस्थापकलाई सम्पर्कमा आउन अनुरोध गर्छु,’ उनले भने, ‘जति लामो समय फरार भयो, त्यति सजाय बढ्दै जान्छ ।’

मुलुकभर बचत तथा ऋण, बहुउद्देश्यीय, कृषि, दुग्ध, उपभोक्ता, विद्युत्लगायत गरेर २९ हजार ८ सय ८६ वटा सहकारी संस्था छन् ।

प्रकाशित : असार २५, २०७८ १३:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×