फ्रान्सबाट कहिले फर्काइन्छ नेपाली मूर्ति ?- समाचार - कान्तिपुर समाचार

फ्रान्सबाट कहिले फर्काइन्छ नेपाली मूर्ति ?

पाटनको च्यासलहिटी र भक्तपुरको नासमना टोलबाट हराएका मूर्ति फ्रान्सको संग्रहालयमा 
देवेन्द्र भट्टराई, ददी सापकोटा

काठमाडौं, पेरिस — पाटनको च्यासलहिटीको विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) र भक्तपुर नासमना टोलको उमा–महेश्वर प्रस्तर मूर्ति ६ दशकअघि चोरी भएर सुटुक्क नेपालबाट बाहिरिए । खोज्ने र फर्काउने चासो ढिला सुरु भएका दुवै मूर्ति अझैसम्म नेपाल आइपुग्ने प्रक्रिया सुरु भएको छैन ।

६ दशकअघि चोरिएको पाटनको विष्णु–लक्ष्मी र भक्तपुरको उमा–महेश्वर मूर्ति ।

पुरातत्त्व अन्वेषक लैनसिंह वाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ (१९८९) मा विस्तृतमा उल्लेख गरिएका यी दुवै सम्पदा पेरिसको एसियाली कलासम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम) मा छन् भन्ने धेरै वर्षपछि खुल्यो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि फ्रान्स भ्रमणका क्रममा पुरातात्त्विक महत्त्वका यी दुई नेपाल मूर्ति फर्काउने सहमति पनि गरेका थिए । म्युजियम अध्यक्ष सोफी माकारियुसँगको भेटमा सहमति भएको थियो । तर अहिलेसम्म पनि ती मूर्ति नेपाल ल्याइएका छैनन् । विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) को मूर्ति दसौं शताब्दीको हो भने उमा–महेश्वर प्रस्तर मूर्ति १२ औं शताब्दीमा निर्मित हो ।

उमा–महेश्वर प्रस्तर मूर्ति रहेको भक्तपुरको नासमना टोल । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

वाङ्देलको शोधअनुसार लक्ष्मी र गरुड साथमा राखेर उभिएको विष्णु आकृतिको मूर्ति सन् ७० दशकको अन्त्यतिर हराएको थियो । यस्तै उमा–महेश्वरको मूर्ति सन् १९८४ मे २३ मा चोरिएको थियो । यी मूर्ति गिमे म्युजियमा रहेको थाहा पाएपछि आर्ट–क्युरेटर एवं अन्वेषक डिना वाङ्देल (हाल दिवंगत) ले तिनलाई फिर्ता गर्न सन् २०१६ पछाडि लेख्दै र बोल्दै आएकी थिइन् ।

‘गिमे म्युजियममा रहेका सम्पदा घर फर्काउने पहल दुई वर्षयता हुँदै आएको थियो तर सफल भएको थिएन । अहिले फेरि उत्पत्तिको मुलुक तथा स्थानबारे प्रमाणित कागजात पेरिसस्थित नेपाली दूतावासमा पठाएर मूर्ति घरफिर्तीको पहल थालेका छौं,’ पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले कान्तिपुरसँग भने । पुरातत्त्वका अनुसार दुई मूर्ति घर फर्काउन कार्गो र अन्य प्रक्रियाका लागि बजेटसमेत छुट्याइएको थियो । ‘मूर्ति किन फर्काइएन भनेर सोध्न सजिलो छ,’ उनले भने, ‘पुरातत्त्वले काठमाडौंस्थित फ्रेन्च राजदूतसमेतलाई बोलाएर मूर्ति फर्काउनका लागि सहजीकरण गरिदिन अनुरोध गरेको हो तर पार लागेन ।’

महानिर्देशक गौतमका अनुसार सांस्कृतिक सम्पदालाई फिर्ता ल्याउन फ्रान्स सरकारको निर्णय चाहिने भएकाले मूर्तिहरूको ‘उत्पत्तिको प्रमाण’ स्पष्ट पार्ने कागजात फेरि अर्को चरणमा पनि पठाइएको छ । पेरिसस्थित राजदूत दीपक अधिकारीका अनुसार ‘गिमे’ सरकारी म्युजियम भएकाले पनि त्यसमा रहेका नेपाली सम्पदा फर्काउन केही प्रक्रियागत कामकारबाही भइरहेको छ ।

‘प्रधानमन्त्री ओलीलाई दुई वर्षअघि म आफैंले गिमे म्युजियम लिएर गएको थिएँ । त्यतिबेला आफ्नो प्राचीन सम्पदा घर फर्काइनुपर्ने विषयमा कुराकानी भएको थियो,’ उनले भने । तर सम्पदा उत्पत्तिको पहिचानसम्बन्धी कागजी प्रक्रिया र अन्य कानुनी कारणले मूर्ति फर्काउने काममा ढिलाइ भए पनि यसमा तदारुकता रहने उनले बताए । युनेस्को अभिसन्धिअनुसार पुरातात्त्विक महत्त्वका यस्ता सम्पदा वा सामग्री जे जहाँ रहे पनि हकदाबीका आधारमा ‘उत्पत्तिको मुलुक’ लाई फिर्ता गर्नुपर्छ ।

विष्णु–लक्ष्मी–गरुड (श्रीधर विष्णु) मूर्ति रहेको पाटनको च्यासलहिट । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

पाटन, च्यासलका ७२ वर्षीय काजीबाबु व्यञ्जनकारका अनुसार च्यासल क्षेत्रबाटै अन्य केही ऐतिहासिक मूर्ति पनि हराएका छन् । विष्णु–लक्ष्मीको मूर्ति हराएपछि यसबारे चासो राख्ने वा खोजीनिती गर्ने काम कुनै निकायबाट नभएको उनले सुनाए । भक्तपुरवासी सम्पदाविद् रवीन्द्र पुरीले नासमना टोलबाटै पुरातात्त्विक महत्त्वका मूर्ति हराए पनि स्थानीय निकायले सम्पदा संरक्षण वा सुरक्षा संयन्त्रबारे कुनै चासो राख्न नचाहेको बताए । नासमना टोलबाट हराएको १५ औं शताब्दीमा निर्मित लक्ष्मीनारायण मूर्तिबारे वाङ्देलको ‘स्टोलन इमेजज अफ नेपाल’ मा पनि उल्लेख गरिएको छ । यो प्रस्तर मूर्ति सन् ८० दशकको सुरुवातमै हराएको हो ।

यो पनि पढ्नुहोस्

प्रकाशित : असार ३१, २०७८ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्

अन्तरविधागत सहकार्य र अनुसन्धान

अन्तरविधागत विषयलाई नचिन्ने प्रणालीबाट शिक्षित र दीक्षित विद्यार्थीहरू कुनै समस्यालाई समग्रतामा हेर्ने र बहुआयामिक ढंगले सोच्नेभन्दा अमुक एक विधाको पैरवीकर्तामै सीमित हुने खतरा रहन्छ । त्यसैले विद्यार्थीलाई एक विधाको गहिराइमा डुबाए पनि बहुविधाको चौडाइमा पौडिन सिकाउनुपर्छ ।
उत्तमबाबु श्रेष्ठ

सन् १८७८ ताका अमेरिकी अन्वेषक, वैज्ञानिक र उद्यमी थोमस एल्वा एडिसन एउटा नयाँ वस्तुको आविष्कार गर्ने क्रममा थिए । संसारमा विद्युत्को आविष्कार भइसके पनि करेन्टलाई प्रकाशमा बदल्ने वस्तु चिम (लाइट बल्व) बनिसकेको थिएन । त्यसैले भरपर्दो चिमको निर्माणमा त्यतिबेला एडिसनलगायतका २२ जना अध्येता विश्वभर अनुसन्धानरत थिए । चिमको विकासपछि आममानिसको दैनिक क्रियाकलापमा आमूल फेरबदल भयो; चिम बन्नुभन्दा पहिले कृत्रिम उज्यालोमा खाना खानु ‘लक्जरी’ थियो ।

यतिखेर एडिसनको चिम लगभग विस्थापित भइसकेको छ र त्यसको सट्टा अहिले कम विद्युत् खपतमै बढी उज्यालो दिने एलईडी (लाइट इमिटिङ डायड) चिमको प्रयोग गरिन्छ । तथापि चिमको विकासलाई आधुनिक मानव सभ्यताकै क्रान्तिकारी आविष्कारमध्येको मानिन्छ । जसलाई बनाउन एडिसनलाई ठूलै पापड बेल्नुपरेको थियो ।

‘म असफल भएको होइन, मैले दसौं हजार बेकामे विधिहरू सिकेँ’ भन्ने एडिसनले चिममा प्रयोग हुने ‘फिलामेन्ट’ को खोजीमा ६ हजारभन्दा बढी वस्तुहरू परीक्षण गरेका थिए । सन् १८८० अगस्ट २ मा उनले उपयुक्त वस्तु — जापानमा पाइने विशेष प्रजातिको बाँस — फेला पारे । परम्परागत रूपमा मुरलीलगायतका हस्तकलाका सामानहरू बनाउन प्रयोग गरिने उक्त बाँस एक जना साथीले उनलाई जापानबाट पठाइदिएका थिए । उक्त बाँसबाट निकालिएको मसिनो रेसा फिलामेन्टको रूपमा प्रयोग गर्दा लाइट बल्ब एक हजार घण्टाभन्दा बढी समयसम्म बल्ने भयो । मानव सभ्यतालाई नयाँ उचाइमा पुर्‍याउने चिमको निर्माण भौतिक विज्ञानभन्दा बाह्य विधागत ज्ञानको उपयोगले मात्र सम्भव भएको थियो अर्थात् त्यो अन्तरविधागत ज्ञानको उपज थियो ।

अन्तरविधागत अनुसन्धान

भिन्न विधाका ज्ञानको उपयोगले सफलता पाउने एडिसन एक्लो होइनन् । चार्ल्स डार्बिनले प्रकृति छनोटको सिद्घान्तलाई बुझ्ने र व्याख्या गर्ने क्रममा राजनीतिक अर्थशास्त्री थोमस माल्थसको जनसांखिकी सिद्घान्तको सहारा लिएका थिए । १७ औं शताब्दीका आइज्याक न्युटनदेखि १९ औं शताब्दीका लुई पास्चरसम्मले आफ्नो अनुसन्धान र अन्वेषणको क्रममा आफूले पढेका भन्दा फरक विधाका ज्ञानको उपयोग गरेका थिए । त्यसै गरी जीवशास्त्री जेम्स वाट्सन र भौतिकशास्त्री फ्रान्सिक क्रिकको सहकार्यले डीएनए पत्ता लागेको थियो । पछिल्लो समयमा लेजर सर्जरीदेखि मानव जिनोमसम्म, अणुबम बनाउनेदेखि राडरसम्म र पृथ्वीको हरितक्रान्तिदेखि चन्द्रमामा पुग्नेसम्मका विज्ञान प्रविधिका उपलब्धिहरू बहुविधागत र अन्तरविधागत सहकार्यका परिणाम हुन् ।

आफ्नो वरपरका प्रकृति र आफूलाई बुझ्ने उत्सुक मानवीय स्वभावका कारण संसारमा ज्ञान उत्पादन सम्भव भयो । सुरुमा सम्भवतः सहजताका लागि ज्ञानको खोजीलाई विषयगत वर्गीकरणमार्फत संस्थागत गरियो । पूर्वीय दर्शनका चार वेदमा विद्यमान विषयगत विशिष्टतादेखि एरिस्टोटलको समयमा भएको ज्ञानको विधागत वर्गीकरणले त्यसलाई पुष्टि गर्छ । एरिस्टोटलको समयमा ज्ञानलाई तीन भागमा — धर्म, गणीत, भौतिकशास्त्रलाई सैद्घान्तिक ज्ञानÙ नैतिकता र राजनीतिलाई व्यावहारिक ज्ञानÙ र ललितकला, साहित्य र इन्जिनियरिङलाई उत्पादनमूलक ज्ञान — को रूपमा वर्गीकरण गरिएको थियो । औद्योगिक क्रान्तिपछि युरोपका विश्वविद्यालयहरूमा विभागहरू बनाएर उच्च शिक्षाको अध्ययन र अनुसन्धानमा विधागत विशिष्टता भित्र्याइयो । जसको अनुसरण गर्दै विश्वभरका विश्वविद्यालयहरूमा विभाग खोल्ने, त्यसअन्तर्गत पढ्ने, पढाउने र उपाधिले विद्यार्थीलाई विभूषित गर्ने परम्परा बस्यो ।

विश्वविद्यालयको विधागत संरचनाले दुई कुरामा सहजता ल्यायो । एउटा त्यसले डिग्रीधारीलाई पहिचान दियो जस्तै ः इन्जिनियरिङमा स्नातक, समाजशास्त्रमा स्नातकोत्तर, भौतिक विज्ञानमा विद्यावारिधि । दोस्रो डिग्रीलाई रोजगारी वा अन्य विश्वविद्यालयमा अध्ययनका लागि विनिमयको आधार पनि दियो । साथै त्यसले विधागत गहिराइमा पुग्न अध्येताहरूलाई मद्दत गर्‍यो । जसका कारण पछिल्लो समय संसारभर हरेक विधाहरूले ज्ञान सृजनामा उल्लेख्य प्रगति गरे । विषयगत गरिराइको जानकारीसँगै विधागत सीमितता पनि सतहमा आयो । फलस्वरूप बृहत् र जटिल समस्याहरूको समाधान गर्न, नीति उपयोगी ज्ञान उत्पादन गर्न र मानवीय निर्णयहरूलाई सघाउन एकल विधागत ज्ञानले मात्रै अपुग हुने कुराको अवगत भयो । त्यसले बहुविधागत प्राध्यापन, अन्तरविधागत सहकार्य र अनुसन्धानको मर्म र आवश्यकतालाई प्राज्ञिक क्षेत्रमा स्थापित गरायो । बिस्तारै विश्वविद्यालयहरूमा अन्तरविधागतका पढाइ, तालिम र अनुसन्धान परियोजनाहरू सुरु हुन थाले । सन् १९९० पछि त जैविक इन्जिनियरिङ, न्यानोटेक्नोलोजी, बायोइन्फरम्याटिक्सजस्ता नयाँ अन्तरविधागत विषयहरू जन्मिए ।

कुनै निश्चित समस्या समाधानका लागि एकभन्दा बढी ज्ञान–विज्ञानका विधाहरूको तथ्यांक, सूचना, विधि, उपाय, सिद्घान्त र अवधारणाको प्रयोग गरी गरिने अनुसन्धानलाई अन्तरविधागत अनुसन्धान (इन्टरडिस्पिलिनरी रिसर्च) भनिन्छ । जसले एकल विधाको बुझाइ, क्षमता, दक्षता र दृष्टिकोणले नभ्याउने अनुसन्धान गरी नयाँ ज्ञान उत्पादन गर्न वा समस्याको समाधान खोज्न सहयोग गर्छ । अन्तरविधागत अनुसन्धान कार्य एकै व्यक्ति वा विभिन्न विधामा विशिष्टता हासिल गरेका व्यक्तिहरूको समूह मिलेर गर्न सकिन्छ । पछिल्लो समयमा मानवजातिले भोगिरहेका समस्याहरू खाद्यसुरक्षा, गरिबी, जलवायु परिवर्तन, मानव स्वास्थ्य, जैविक विविधताको ह्रास, वातावरणीय विनाशसाथै अटोमेसन र कृत्रिम बौद्घिकीजस्ता प्रविधिको विकाससँगै थपिएका मानवीय, सामाजिक र पर्यावरणीय चुनौतीहरूलाई बुझ्न र त्यसलाई समाधान गर्न अन्तरविधागत बुझाइ, सहकार्य र अनुसन्धान अपरिहार्य बनेको छ ।

अन्तरविधागत सहकार्यका तगारा

नेपालमा पछिल्लो समयमा बायोइन्फर्म्याटिक्स, बायोटेक्नोलोजी, प्राकृतिक स्रोतको व्यवस्थापनजस्ता विषयमा पढ्ने पढाउने, विज्ञान कूटनीति, दिगो विकासजस्ता अन्तरविधागत विषयमा बहस–छलफल गर्ने चलन बढे तापनि अन्तरविधागत सहकार्य र अनुसन्धानको अवस्था कमजोर छ । नेपालमा अन्तरविधागत सहकार्य र अनुसन्धानको प्रमुख तगारो वर्तमान शैक्षिक प्रणाली हो, जसले विद्यार्थीहरूमा बहुविधागत सिकाइको आयतन बढाउनुको साटो एकल विधामै कैद गराउँछ । यहाँ विद्यार्थीको सिकाइको विधागत विशिष्टता पढाइको प्रारम्भमै अर्थात् उच्च माध्यमिक तहबाटै गराइन्छ । विद्यार्थीहरूले व्यवस्थापन, विज्ञान, कला कुन विषय पढ्ने हो त्यतिखेर नै निर्णय गर्नुपर्ने हुन्छ । उच्च माध्यमिक तहमै एकल विधाको शैक्षिक सुरुङमा पसेपछि अपवादबाहेक (विज्ञान पढ्नेले अन्य विधा पढ्न सक्ने) उक्त विद्यार्थी त्यस सुरुङबाट निस्कन असम्भव छ । र, मन लागी नलागी सोही विधामै स्नातकोत्तर वा विद्यावारिधिसम्म पढ्नुपर्ने बाध्यता छ ।

दोस्रो तगारो निश्चित विधा मात्रै पढाउने उद्देश्यले खोलिएका शैक्षिक संस्थानहरू हुन् । जस्तै : स्नातक तहमा अस्कलमा विज्ञान, शंकरदेवमा व्यवस्थापन, सरस्वतीमा समाजशास्त्र र ललितकलामा आर्टस् पढाइन्छ । स्नातकोत्तर पढाउने कीर्तिपुर क्याम्पसको विभागीय संरचना पनि उस्तै छ । स्नातक र स्नातकोत्तर तहको यस्तो खण्डित संरचनाले विद्यार्थीलाई विशिष्टताको थप गरिराइमा धकेल्छ । उच्च माध्यमिक तहमै विधागत विशिष्टताको सुरुङमा पसेका विद्यार्थी यस्तो एकाङ्गी शैक्षिक बिसौनीमा उक्लेपछि आफ्नो विधाइतरको विषयमा उत्सुक नहुने, जानकारी नराख्ने मात्रै होइन, अन्य विषय पढ्नेसँग साथी बन्ने, छलफल गर्ने र अन्तरघुलन हुने अवसरबाट वञ्चित हुन्छन् ।

तेस्रो, अन्तरविधागत विज्ञतालाई जबरजस्ती विधागत विज्ञतामा रूपान्तरण । एकातिर यसरी पाठ्यक्रम र क्याम्पसको बनोटले बहु र अन्तरविधागत विज्ञताको उत्पादन रोकेको छ भने अर्कातिर विदेशमा अन्तरविधागत विषयहरू पढेर आएकाहरूलाई जबरजस्ती नेपालमा भएकै विधाको मात्रै समकक्षता प्रमाणपत्र लिन लगाइन्छ । त्यो इन्कारेमा डिग्रीलाई मान्यता नदिनेसम्मको अपराध गरिन्छ । उदाहरणका लागि कसैले नेपालमा पढाइ नहुने फोटोनिक्स वा न्युरोबायोलोजीमा पीएचडी गरेर आएको छ, उसलाई त्रिविविले यहाँ पढाइ हुने विषय, फिजिक्स वा बायोटेक्नोलोजीजस्ताको समकक्षता प्रदान गर्छ ।

त्यसकारण पाठ्यक्रमको बनोट, पढाउने संस्थानहरूको संरचना र अन्तरविधागत विषयलाई नचिन्ने नियमका कारण हाम्रा विश्वविद्यालयहरूमा अन्तरविधागत सहकार्य र अनुसन्धानको विकास हुन सकेको छैन । जसले गर्दा विज्ञानका दुई मुख्य हाँगा समाज विज्ञान र प्रकृति विज्ञानबीचमा सहकार्य हुन त परै जाओस् प्रकृति विज्ञान नै पढेकाहरूबीचमा पनि मिल्दाजुल्दा विषयको जानकारी राख्ने, अन्य विधागत ज्ञानलाई स्विकार्ने र सहकार्य गर्नेसमेत हुन सकेको छैन । परिणाम यहाँ माटो पढ्नेले त्यसमा उम्रने बिरुवा पढ्नेसँग, बिरुवा पढ्नेले त्यसमा लाग्ने कीरा पढ्नेसँग, कीरा पढ्नेले कीरालाई खाने चरा पढ्नेसँग सहकार्य गर्न उत्सुक हुँदैन । यस्तो प्रणालीबाट शिक्षित र दीक्षित विद्यार्थीहरू कुनै समस्यालाई समग्रतामा हेर्ने र बहुआयामिक ढंगले सोच्नेभन्दा अमुक एक विधाको पैरवीकर्तामै सीमित हुने खतरा रहन्छ ।

एकाङ्गी विज्ञताले अरूको विधागत ज्ञानलाई निषेध गर्छ र आफ्नो मात्रै ज्ञानलाई ठूलो ठान्ने अहंकार जन्माउँछ । यहाँ वन संरक्षणको जिम्मा पाएको निकायले भौतिक पूर्वाधार बनाउनेलाई र भौतिक पूर्वाधार बनाउनेले वनलाई परस्पर शत्रु ठान्छ । जैविक विविधता संरक्षणका लागि संरक्षण क्षेत्र बनाइँदा स्थानीय समुदायको जीविकाप्रति संवेदनशील भएर बन्दैन । पुरातात्त्विक महत्त्वको ठाउँमा सडक खन्नेले त्यहाँको ऐतिहासिकता देख्दैन । खेतमा सहर बसाल्नेले खाद्यको दिगोपनबारे सोच्दैन । फलस्वरूप हाम्रो विकासको सोच, गराइ र नतिजा टाक्सिन पुगेको छ ।

वर्तमानमा नेपालले भोगिरहेको विकास र प्रगतिका समस्याहरू अन्यत्रजस्तै बहुआयामिक छन् । हामीले भोगिरहेको अव्यवस्थित सहरीकरणदेखि जलवायु परिवर्तनको प्रकोपसम्म, आर्थिक विपन्नतादेखि सामाजिक पछौटेपनसम्म, जैविक विविधताको ह्रासदेखि प्रदूषणसम्मका समस्याहरूको हल कुनै एक विधागत विज्ञताले मात्रै गर्न सम्भव छैन । त्यसका लागि बहुविधागत सहकार्यको आवश्यकता र अन्तरविधागत ज्ञान उत्पादन र बृहद् सोचको जरुरी छ । त्यसका लागि हामीले हाम्रा विद्यार्थीहरूलाई एक विधाको गहिराइमा डुबाए पनि बहुविधाको चौडाइमा पौडिन सिकाउनुपर्छ । सिकाइलाई विषय ज्ञाता बनाउनेभन्दा समस्याको समाधान गर्न सक्ने बनाउन जरुरी छ । जसका लागि हामीले बहुविधागत अन्तरक्रिया र समायोजनको वातावरण बनाइदिने, अन्तरविधागत ज्ञान उत्पादनलाई उत्प्रेरणा दिने, पाठ्यक्रम र विधागत रोजाइलाई सकेसम्म खुकुलो र स्वतन्त्र बनाइदिने गर्नुपर्छ ।

लेखक डेभिड इप्स्टिनले आफ्नो पुस्तक ‘रेन्ज : ह्वाई जनरालिस्ट ट्राइम्फ इन अ स्पेसलाइज्ड वर्ल्ड’ मा रोचक सन्दर्भ दिएका छन् । अमेरिकी गल्फ खेलाडी टाइगर उड जसले १८ महिनाको उमेरमै पटर समाते, तीन वर्षमा नाइन होल कोर्स खेले, १८ वर्षमा अमेरिकी एम्याच्योर गल्फ च्याम्पियनसिप जिते र २१ वर्षको उमेरमा विश्वको एक नम्बरको गल्फ खेलाडी बने । स्विस टेनिस खेलाडी रोजर फेडेररले आठ वर्षमा र्‍याकेट समाते, भलिबल, फुटबल, बास्केटबल, ह्यान्डबल, टेनिसजस्ता गोलो वस्तु सबै खेले, १६ वर्षमा टेनिसमा थिग्रिएका उनले २१ वर्षमा विम्बल्डन जिते र ३६ वर्षमा विश्वको एक नम्बर टेनिस खेलाडी बने ।

इप्स्टिन भन्छन्– अहिलेको अत्यन्त विशिष्टीकृत युगमा हामीलाई उडहरू कम फेडररहरू ज्यादा चाहिन्छ । अन्तरविधागत सहकार्य र अनुसन्धानका लागि फेडररजस्तै अन्य खेल बुझेका तर एउटामा विशिष्टता हासिल गरेका थुप्रै विज्ञको खाँचो हामीलाई छ । अबको हाम्रो पढाइ र सिकाइको गन्तव्य त्यतातिर मोडिन जरुरी छ ।

प्रकाशित : असार ३१, २०७८ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×