२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

पहिलो चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव

दाहाल पुगे बूढानीलकण्ठ

काठमाडौँ — सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । उनले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव गरेका छन् । 

पहिलो चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव

कांग्रेसका एक पदाधिकारीका अनुसार देउवाले कांग्रेसबाट एक, माओवादीबाट एक र जसपाबाट एकजनालाई मन्त्री बनाउने तयारी गरेका छन् । देउवानिकट स्रोतका अनुसार कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँडलाई मंगलबार मन्त्री बनाउने मनशाय देउवाले व्यक्त गरेका छन् । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग पनि यसबारे छलफल गरेका छन् । 'परिस्थितिमा कुनै फेरबदल भएन भने आज तीनजना मन्त्रीले मात्रै शपथ लिन्छन्, कांग्रेसबाट कार्की वा खाँड हुने सम्भावना छ,' देउवानिकट नेताले बताए । ३० दिनभित्र संसद्‍मा विश्वासको मत लिनुपर्ने प्रावधान भएकाले त्यसअघि ठूलो मन्त्रिपरिषद् नबनाउने तयारी देउवाले गरेको पनि ती नेताले बताए ।

मन्त्रिपरिषद्कै गठनबारे छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । पेरिसडाँडामा पार्टी बैठक सकेर दाहाल देउवालाई भेट्न पुगेका हुन् । मन्त्रिपरिषद्को संख्या र सदस्यबारे उनीहरूले टुंगो लगाउने एक माओवादी नेताले बताए । उनका अनुसार माओवादीबाट जनार्दन शर्मा र जसपाबाट अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने सम्भावना बढी छ ।

राष्ट्रपति कार्यालयले हिजै देउवालाई मंगलबार शपथ हुने जानकारी गराइसकेको छ । मंगलबार दिउँसो २ बजे कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भनी परमादेश जारी गरेको छ ।

प्रकाशित : असार २९, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?