कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाघ जोगाउन विशेष कार्यक्रम घोषणा

मान्छेसँगको द्वन्द्व न्यूनीकरण हुने दाबी, आगामी पुस–माघमा नेपालमा बाघ गणना
अब्दुल्लाह मियाँ

काठमाडौँ — खेतमा घाँस काट्न पसेका दुई जनालाई बाघले झम्टियो । गत शनिबार गुलरिया–३ हस्नापुरकट्टीमा घाइते हुनेमा स्थानीय वीरेन्द्र यादव र राकेश बानियाँ छन् । उनीहरूको बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । बाघ भारतीय सीमा कतरनियाघाट वन्यजन्तु आरक्षबाट निस्केको आशंका बर्दिया वन कार्यालयको छ ।

बाघ जोगाउन विशेष कार्यक्रम घोषणा

गत चैत तेस्रो साता कञ्चलपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा पर्यटकले एउटा बाघ निदाएको जस्तो देखे । निकुञ्ज कर्मचारी पुगेर हेर्दा थाहा भयो त्यो मरेको थियो । पासोमा परेको जस्तो लाग्ने बाघको घाँटीमा गहिरो घाउ थियो । त्यही चोटले मरेको हुनुपर्ने अनुमान निकुञ्जले गर्‍यो । सोही साता बर्दिया निकुञ्जमा गैंडा गणनामा खटिएका हात्तीसारका एक कर्मचारीको बाघको आक्रमणमा मृत्यु भयो ।

धेरैमध्येका यी केही प्रतिनिधि घटना हुन् । बाघ बढे मान्छेलाई जोखिम, मान्छेका बस्ती र आवागमनका क्षेत्रमा पुगे बाघको ज्यानमा संकट बढेको छ । निकुञ्जभित्र र बाहिरसमेत पाटे बाघको संख्या उल्लेख्य बढेर नजिकका बस्तीमा दुःख दिएका घटना बढेपछि सरकारले ‘बाघ संरक्षण विशेष कार्यक्रम’ घोषणा गरेको छ । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको राष्ट्रिय बाघ संरक्षण समितिको बैठकले हरेक वर्ष १५ करोड रुपैयाँ खर्चने गरी उक्त कार्यक्रम घोषणा गरेको हो ।

केही वर्षअघिसम्म हरेक वर्ष बाघ संरक्षणका गतिविधिका लागि वार्षिक ५ करोड रुपैयाँ खर्च गर्ने गरिएकामा ६ वर्षदेखि रोकिएको थियो । प्रधानमन्त्री अध्यक्ष रहने समितिको बैठक यसअघि ओली नै प्रधानमन्त्री हुँदा २०७३ को असार पहिलो साता भएको थियो । पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला भने समितिको बैठक बसेको थिएन । विश्व बाघ दिवसको पूर्वसन्ध्यामा बैठक भएको हो । बाघ पाइने संसारका १२ देशले बर्सेनि जुलाई २९ मा यो दिवस मनाउँछन् ।

समितिको सातौं बैठकले बाघको द्वन्द्व घटाउन आहार र बासस्थान व्यवस्थापनमा विशेष जोड दिनुपर्ने ठहरसमेत गरेको छ । ‘बासस्थान र आहारको उचित व्यवस्थापन गर्न सकियो भने बाघको मान्छेसँगको द्वन्द्व घट्न मद्दत पुग्छ,’ बैठकमा अध्यक्ष ओलीले भनेका थिए, ‘बाघ बढाउन हामी सफल भयौं, अब यसको उचित व्यवस्थापन गर्न सकियो भने विश्वकै लागि सन्देश हुन्छ ।’

संरक्षण रणनीति र कार्ययोजनामा प्रस्ताव गरिएबमोजिम बाघ संरक्षणसम्बन्धी विषयमा सरकारलाई नीतिगत सहयोग गर्न २०६७ जेठ २ मा प्रधानमन्त्री अध्यक्ष रहने गरी समिति बनाइएको थियो । समितिमा गृह, अर्थ, रक्षा, वन तथा वातावरण र कानुनमन्त्री सदस्य हुन्छन् भने बाघमा काम गर्नेमध्येबाट २ र बाघ संरक्षणमा काम गर्ने संस्थामध्येबाट एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

बाघको संख्या बढेसँगै मुलुकका विभिन्न जिल्लामा समस्या आएका छन् । वन तथा वातावरण मन्त्रालयका एक अधिकारीले आइतबार कान्तिपुरसँग भने, ‘नयाँ आर्थिक वर्षदेखि विशेष कार्यक्रम सञ्चालन हुनेछ ।’ बाघको वैज्ञानिक अनुसन्धानका साथै आवश्यक जनशक्ति र प्रविधिको विकासमा समेत जोड दिइने उनले बताए ।

सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ । पर्सा, चितवन, बर्दिया, बाँके र शुक्लाफाँटा निकुञ्जमा बाघ पाइन्छन् । पछिल्लो पटक डडेलधुरामा २५०० मिटर र इलाममा करिब ३२०० मिटर उचाइमा समेत बाघ पुगेको भेटिएको छ । संख्या बढेसँगै बाघ र मान्छेबीच द्वन्द्वसमेत बढेको छ । बर्दिया निकुञ्ज आसपासमा २०७६ को साउनदेखि यो वर्षको असारसम्म बाघको आक्रमणबाट १८ जनाको मृत्यु भएको छ । बाँकेमा पनि बाघको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशका राष्ट्रप्रमुखको भेलाले सन् २०२२ सम्म बाघको संख्या दोब्बर पार्ने संकल्प गरेका थिए । नेपालसहितका केही देश त्यो लक्ष्यको नजिक पुगेका छन् । त्यो बेला नेपालमा बाघको संख्या १ सय २१ थियो । त्यसअनुसार नेपालले बाघको संख्या २ सय ५० पुर्‍याउने संकल्प गरेको थियो ।

बाघ पाइने दक्षिण एसियाली मुलुकमध्ये नेपाल अग्रस्थानमा छ । दोब्बर पार्ने घोषणाताका विश्वभर बाघको संख्या ३ हजार २ सय हाराहारी थियो । सन् २०२२ सम्म ६५०० पुर्‍याउने लक्ष्य राखिएको छ । बाघको आउजाउ हुने करिडोर र बासस्थल भएको क्षेत्रमा ठूला संरचनाहरू पुल र नहर निर्माण गर्दा वन्यजन्तुमैत्री संरचनामा जोड दिने गरी निर्देशिकाहरू संशोधन गरिने भएको छ ।

यसअघिको बाघ संरक्षण कार्ययोजना (सन् २०१६–२०२०) को अवधि सकिएकाले निकुञ्ज विभागले सरोकारवालाहरूसँग सहकार्य गर्दै समितिले नयाँ कार्ययोजना पनि तयार गरिरहेको छ ।

पुस–माघमा बाघ गणना

गामी पुस–माघमा नेपालमा बाघ गणना गरिने भएको छ । निकुञ्ज विभागका सूचना अधिकारी इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि सन् २०१८ मा गणना गरिएको थियो । अहिले चुरे र महाझारतसम्मै बाघ देखिएकाले संख्या बढेको अनुमान विशेषज्ञहरूको छ ।

प्रकाशित : असार २७, २०७८ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?