कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमाले कार्यदलमा जुटेन सहमति, नेता विष्ट भन्छन्- भोलि सार्थक निष्कर्षमा पुग्‍नेछौं

काठमाडौँ — नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदल शुक्रबार भएको भनिएको 'सहमति' लाई अन्तिम रुप दिन असफल भएको छ । 

एमाले कार्यदलमा जुटेन सहमति, नेता विष्ट भन्छन्- भोलि सार्थक निष्कर्षमा पुग्‍नेछौं

सिंहदरबारस्थित अर्थमन्त्रालयमा शनिबार एक घण्टाभन्दा बढी समय बसेको कार्यदल बैठकले 'सहमति' लाई अन्तिम निष्कर्षमा पुर्‍याउन नसकेको हो । शुक्रबार बसेको कार्यदल बैठकमा सहमति जुटेको र त्यसलाई शनिबार अन्तिम रुप दिने नेताहरुले दाबी गरेका थिए ।

बैठकपछि कार्यदल सदस्य एवं नेता गोकर्ण विष्टले भोलि सार्थक निष्कर्षमा पुग्ने गरी बैठक सकिएको बताए । 'हामी विगत केही दिनदेखि पार्टी एकताको लागि अनौपचारिक र औपचारिक रूपमा लागिरहेका छौं । पार्टी एकताका समस्या के थिए भन्नेमा लागिरहेका छौं । अन्तिम समयमा आइपुगेका छौं । समस्याको समाधान खोज्ने क्रममा छौं । आज त्यो घोषणा गर्न सकिरहेका छैनौं', नेता विष्टले भने, 'भोलिको दिन एकताको निष्कर्ष सुन्ने दिन हुनेछ ।'

त्यस्तै नेता भीम रावलले छलफलको अन्तिम विन्दुमा रहेको बताउँदै छिट्टै निष्कर्षमा दिने दाबी गरे । 'हामीले विभिन्न विषयमा छलफल गरेका छौं । छलफलको अन्तिम विन्दुमा छौं । सम्भवतः छलफललाई छिट्टै पुरा गरेर निष्कर्षमा पुग्नेछौं ।'

कार्यदलका अर्का सदस्य घनश्याम भूसालले भने केही प्रतिक्रिया नदिई बाहिरिएका थिए ।

कार्यदलमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेता नेपालको पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

प्रकाशित : असार २६, २०७८ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?