कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पशुपतिमा सुनको जलहरी : अख्तियारले थाल्यो छानबिन

सुन खरिद गर्दाका मुचुल्कालगायत कागजात उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोषलाई पत्राचार
दामोदर न्यौपाने

काठमाडौँ — पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भएको शंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अनियमितताबारे उजुरी आएपछि सुन खरिद गर्दाका मुचुल्कालगायत कागजात उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोषलाई पत्र पठाएको अख्तियार स्रोतले जानकारी दियो ।

पशुपतिमा सुनको जलहरी : अख्तियारले थाल्यो छानबिन

कोषका सदस्यसचिव प्रदीप ढकालले अख्तियारले पत्र पठाएको स्वीकार गरे । ‘यो दुई कार्यालयबीचको मामिला हो । धेरै कुरा गर्न मिल्दैन,’ उनले भने, ‘अख्तियारले मागेका विवरण बुझाउने तयारी गरिरहेका छौं ।’

स्थानीय र सरोकारवालाको विवाद हुँदाहुँदै कोषले गत वर्ष शिवरात्रिमा सुनको जलहरी राखेको थियो । २०७० मै कोषले जलहरी राख्ने निर्णय गरे पनि विवाद उत्पन्न भएपछि काम अघि बढेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ ११ गते पशुपतिनाथ दर्शन गर्न जाँदा तत्काल ३० करोड रुपैयाँ सरकारले उपलब्ध गराउने बताएपछि प्रक्रिया अघि बढेको थियो । प्रधानमन्त्रीले वचन दिएको पर्सिपल्टै कोष सञ्चालक परिषद्को बैठकले काम अघि बढाउने निर्णय गरेको थियो । सदस्यसचिव ढकालका अनुसार जलहरी राख्न ८० करोड रुपैयाँ खर्च भएको छ ।

कोषले १ सय ८ किलो राखेको भने पनि ९७ किलो मात्र राखेको मन्दिरका एक भण्डारीले दाबी गरेका छन् । जलहरी राख्दाराख्दै अदालतको आदेश आएकाले केही काम रोकिएको ढकालको भनाइ छ । अन्तरिम आदेश दिएकै दिन जलहरी राखिएको थियो ।

वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्चमा छुट्टाछुट्टै रिट दिएका थिए । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जलहरी राख्ने काम रोकेर १५ दिनभित्रमा जलहरी राख्नुपर्ने कारण पेस गर्न आदेश दिएको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पशुपति क्षेत्र विकास कोषका संरक्षक प्रधानमन्त्री ओली, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, कोषका सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापालाई विपक्षी बनाइएको छ । उक्त मुद्दाको किनारा भने लागेको छैन ।

‘जलहरीमा किला ठोकेर मिलाउन बाँकी छ,’ उनले भने, ‘अख्तियारले जलहरी उप्कायो भनेर बाहिर हल्ला भएको छ । त्यस्तो होइन ।’ मन्दिरको ज्योतिर्लिङ्ग भट्टले बाहेक अरूले छुन पाउँदैनन् । ढकालका अनुसार ४ जना भट्टले जलहरी जोडेका थिए । ज्योतिर्लिङ्गमा ५ वटा मुख भएकाले सुनका पातालाई ५ टुक्रा बनाएर जोडिएको ढकालले बताए ।

प्रकाशित : असार २६, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?