२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

लापरबाहीले बढ्यो संक्रमण

निषेधाज्ञा खुकुलो भएसँगै भाइरस नै सिद्धिए जसरी हिँडडुल र भीडभाड

लुम्बिनी, नेपालगन्ज — निषेधाज्ञा खुकुलो बनाइएसँगै रूपन्देही र बाँकेमा कोरोना संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । सरकारको नीतिअनुसार सुरु भएको ‘स्मार्ट’ निषेधाज्ञामा सर्वसाधारणले लापरबाही गर्दा संक्रमितको संख्या बढ्न र समुदायमा फैलिन थालेको हो ।

लापरबाहीले बढ्यो संक्रमण

सार्वजनिक स्थल तथा सवारीसाधनमा मास्कको प्रयोग र भौतिक दूरी कायम गर्न छोडिएको छ । यसले गर्दा घट्दै गएको संक्रमण दर पुनः बढ्न थालेको हो ।

रूपन्देहीमा बिहीबार मात्रै ४७ जना संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३ सय ८१ पुगेको स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बताए । गएको असार १९ गते ३१ मा झरेको संक्रमितको संख्या क्रमशः उकालो लाग्दै बिहीबार ४७ पुगेको हो । गएको एक सातामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ । डा. गिरीले पछिल्लो समय पालिकाले मुख्य चोक र सडकमै समेत परीक्षणको दायरा बढाएकाले संक्रमित पत्ता लाग्ने क्रम बढेको बताए । नाकामा गरिएको कडाइ र एन्टिजेन परीक्षणले भारतबाट आउन सक्ने खतरालाई टारेको र सावधानी अपनाए रोग न्यूनीकरण गर्न सकिने उनको भनाइ छ ।

कोरोना संक्रमितको उपचारका लागि तोकिएको बुटवलको कोरोना विशेष अस्पतालमा रहेका सबै बेड शुक्रबार बिरामीले भरिएको अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताए । आकस्मिक कक्षमा रहेका १४, मेडिकल वार्डका ३८ र आईसीयूका १४ गरी सबै बेडमा बिरामी रहेको उनले बताए । ‘निषेधाज्ञा खुकुलो भएपछि जाँच गराउन आउनेको संख्या पनि बढेको छ,’ उनले भने, ‘सर्वसाधारणले स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमण दर बढ्दो देखिएको हो ।’ बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमै सारिएको जानकारी दिँदै डा. पाठकले अस्पतालमा कोरोनाबाहेकका बिरामी भर्ना र शल्यक्रियासमेत गरिरहेकाले संक्रमण दर बढ्दै गए अरू सेवा प्रभावित हुने बताए ।

त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा अहिले १४ जना कोरोनाका बिरामीको उपचार भइरहेको छ । जिल्लाभित्रकै बिरामी धेरै आउने गरेको अस्पतालका सूचना अधिकारी डा. सिद्धार्थ पाण्डेले बताए । सर्वसाधारणले निषेधाज्ञा खुकुलो भएसँगै भाइरस नै सिद्धिए जसरी हिँडडुल र भीडभाड बढाइरहेकाले संक्रमण बढ्ने निश्चित रहेको उनले बताए ।

दैनिकी सहज बनाउन निषेधाज्ञा खुकुलो गरिएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । कोरोनाको जोखिम पहिलेको तुलनामा धेरै कम भइसकेकाले पुरानै बिन्दुमा पुग्ने स्थिति नआउने उनले दाबी गरे । ‘जसका लागि खुकुलो गरिएको हो उसैले मापदण्ड नआपनाइदिँदा समस्या आएको हो,’ उनले भने ।

बाँकेमा पनि उस्तै

स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको मापदण्डमा संक्रमण दर घट्न सकेको छैन । तर जिल्लामा संक्रमण घटेको भन्दै निषेधाज्ञालाई खुकुलो पारिएको हो । पछिल्लो समय एक साताका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको छ । तर बजार, यातायात, सरकारी कार्यालय पूर्ण रूपमा खुलिसकेका छन् । सर्वसाधारणले मास्क लगाउन छाडेका छन् । भीडभाड बढेको छ । सावधानी नअपनाउँदा संक्रमण दर पनि बढेको छ ।

जिल्लामा दैनिक संक्रमण दर २५ प्रतिशतमा झर्दा बजार खोलिएको थियो । त्यसयता यो दर ३२ प्रतिशतसम्म पुगेको छ । ‘पछिल्लो ४ दिनको अभिलेख हेर्नेर् हो भने १२ देखि ३२ प्रतिशतसम्म देखिएको छ । त्यसैले संक्रमणले डरलाग्दो रूप लिन सक्ने खतरा टरेको छैन,’ भेरी अस्पताल नेपालगन्जका कन्सल्टेन्ट प्रमुख फिजिसियन डा. राजन पाण्डेले भने, ‘नेपालगन्जमा सावधानी अपनाएको देखिँदैन । त्यसैले संक्रमण बढ्ने सम्भावना बढी छ ।’

गत वर्ष संक्रमण घटेको भन्दै असारमा निषेधाज्ञा हटाइएकामा दोस्रो लहरमा पनि नेपालगन्ज कोरोनाको हटस्पट बनेको थियो । यस वर्ष पनि त्यही दृश्य देखिएको छ । चिकित्सकहरूले निषेधाज्ञा हटाइए पनि सावधानी अपनाउन र स्वास्थ्य मापदण्ड पूरा गर्न सुझाए पनि कार्यान्वयन भएको छैन । जसका कारण संक्रमण काबुबाहिर जाने खतरा उत्तिकै छ । ‘संक्रमण घटेको हो तर नियन्त्रण भएको होइन,’ डा. पाण्डेले भने, ‘सबैभन्दा ठूलो कुरा सावधानी अपनाउनु नै हो ।’

संक्रमण घटेपछि नेपालगन्ज शिक्षण अस्पतालले कोरोना वार्ड बन्द गरिसकेको छ । तर भेरी अस्पतालले भने तेस्रो लहर आउन सक्ने भन्दै तयारीमा जुटेको जनाएको छ । भेरी अस्पतालका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डा. संकेत रिसालले पछिल्लो समय लापरबाही बढेकाले फेरि पनि अवस्था भयावह हुन सक्ने चेतावनी दिए । ‘स्वास्थ्य मापदण्ड अपनाइएको छैन । पूरै बेवास्ता छ,’ उनले भने, ‘कोरोना नियन्त्रणका लागि दूरी कायम गर्नु नै मुख्य कुरा हो तर त्यस्तो देखिन्न ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले थप एक साताका लागि निषेधाज्ञालाई निरन्तरता दिएको बताए । उनले स्वास्थ्य मापदण्ड पालना गर्न सबैलाई आग्रह गरिएको जनाए । जिल्लामा हालसम्म संक्रमितको १७ हजार ४ सय २६ र संक्रमणमुक्त हुनेको संख्या १७ हजार १ सय २४ छ । जिल्लाभित्रका ३ सय ११ र बाहिरका ३ सय ६६ जनाले ज्यान गुमाएका छन् । हाल ३१ जनाको आईसीयूमा र बाँकी ३ सय ६७ संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रकाशित : असार २६, २०७८ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?