कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

खोप लगाएका सबैजसोमा ‘एन्टिबडी’ तयार

शरीरमा सुरक्षात्मकस्तरको एन्टिबडी कोभिडविरूद्धको पूर्ण मात्रा खोप लिएको दुई सातापछि विकसित हुन्छ
अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिहरूको शरीरमा सुरक्षास्तर विकासबारे विस्तृत अध्ययन नभए पनि खोप जीवनरक्षक सावित भएको छ ।

खोप लगाएका सबैजसोमा ‘एन्टिबडी’ तयार

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको परीक्षणमा खोप लगाएका व्यक्तिहरूमा एन्टिबडी तयार भएको र त्यसले भाइरसविरुद्ध लड्न बल पुर्‍याएको पाइएको छ । प्रयोगशालाले खोप लगाएका करिब ७० जना आफ्नै कर्मचारीको एन्टिबडी परीक्षण गरेको थियो ।

प्रयोगशालाकी निर्देशक डा. रुना झाले खोप लगाएपछि बनेको एन्टिबडी कहिलेसम्म रहनेबारे अध्ययन हुन बाँकी रहेको बताइन् । ‘कम मात्रामा यस्तो परीक्षण भए पनि खोप लगाएका सबैजसोमा एन्टिबडी बनेको पाइयो तर त्यो कहिलेसम्म रहन्छ भन्नेबारे थप परीक्षण भएको छैन,’ उनले भनिन्, ‘अहिले परीक्षण गरिएकाहरूको एन्टिबडीको अवस्था ६ महिनापछि फेरि हेर्छौं ।’

कोभिड संक्रमण भइसकेका कर्मचारीमा पहिलो मात्रा खोप लगाएपछि नै राम्रो स्तरमा एन्टिबडी बनेको थियो तर पहिले प्राकृतिक रूपमै संक्रमण नभएकामा भने दोस्रो मात्रा लगाएपछि मात्र एन्टिबडी राम्रोसँग बनेको डा. झाले बताइन् । खोप लगाएपछि बन्ने एन्टिबडीबारे बृहत् वैज्ञानिक अध्ययन आवश्यक देखिएको छ । ‘खोप लगाएका जनसंख्यामा कोभिडविरुद्ध कति समयसम्म सुरक्षा हुन्छ, अध्ययन आवश्यक छ,’ वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. राजेन्द्र बीसीले भने, ‘यसले हाम्रा लागि कुन खोप उपयुक्त छ, यसको सुरक्षास्तर कहिलेसम्म रहन्छ, थप मात्राहरू कतिको आवश्यक छ भन्ने जानकारी पाउन सकिन्छ ।’

सामान्यतः शरीरमा सुरक्षात्मकस्तरको एन्टिबडी कोभिडविरुद्धको पूर्ण मात्रा खोप लिएको दुई सातापछि विकसित हुन्छ । नेपालमा कोभिडको पूरै मात्रा खोप लगाएका व्यक्तिमा एन्टिबडी बनेकाले संक्रमणबाट मृत्यु हुने संख्या कम भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । आवर वर्ड इनको तथ्यांकअनुसार सार्क मुलुकमा भुटानले कोभिडविरुदद्ध सबैभन्दा बढी जनसंख्यालाई खोप लगाएको छ । भुटानले हालसम्म ६२.९० प्रतिशत जनसंख्यालाई खोप लगाएको छ । हालसम्म भुटानमा २ हजार २ सय ५२ जना संक्रमित भएकामा एक जनाको मात्र मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोख्रेलले कोभिडविरुद्घ खोप लगाएका र नलगाएकाहरूको शरीरमा प्रोटेक्सन लेभेल (सुरक्षास्तर) कस्तो छ भन्नेबारे ‘सेरो सर्भिलेन्स’ अध्ययन सुरु गरेको जानकारी दिए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको उक्त अध्ययनका लागि दुई–तीन महिना लाग्ने जनाउँदै डा.पोख्रेलले भने, ‘यसबाट खोपको प्रभावकारिताबारेसमेत जानकारी पाउन सकिन्छ ।’

कोभिडविरुद्ध खोप लगाएका कतिपय व्यक्तिको शरीरमा प्रतिरोधक क्षमता कम भए पनि रोगविरुद्ध लड्न नसक्ने भन्न हतार हुने विज्ञको भनाइ छ । कोभिडसँग लड्ने क्षमताबारे जानकारी कोषको मेमोरी सेलमा हुन्छ । ‘यो बनाउन सके खोप लगाएपछि शरीरमा एन्टिबडी नदेखिए पनि मेमोरी सेलमा भएको सूचनाले गर्दा शरीरले चाहिएका बेला रोग प्रतिरोधक क्षमता निर्माण गर्न सक्छ,’ डा. बीसीले भने, ‘कसैकसैको शरीरले देखाएरै ६ महिना वा योभन्दा धेरै समयसम्म एन्टिबडी राख्न सक्छ तर कसैकसैको शरीरमा एक–दुई महिनापछि नै एन्टिबडी नदेखिन सक्छ ।’

प्रकाशित : असार २६, २०७८ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?