अंशुवर्माकालीन ‘पार्वती’ को मूर्ति अमेरिकामा फेला

भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरबाट चार दशकअघि हराएको थियो
देवेन्द्र भट्टराई

काठमाडौँ — भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वती मूर्ति हराएको वर्षौंपछि अमेरिकाको येल विश्वविद्यालयमा भेटिएको छ । लिच्छवी राजा अंशुवर्माको कृति उजिल्याउने उक्त मूर्ति अमेरिकामा भेटिएकामा गोलमढीका श्रद्धालुजनले समेत आश्चर्य मानेका छन् । 

नेपालबाट चोरिएका/हराएका सम्पदाको खोजीनितीसम्बन्धी अन्तर्राष्ट्रिय अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले गत साता सार्वजनिक गरेको सूचनाबाट गोलमढीको उक्त मूर्तिबारे थाहा भएको हो । लस्ट आर्ट्स अफ नेपालले सन् ८० को दशकमा वीरभद्रेश्वर मन्दिरबाट हराएको ताराको मूर्ति अमेरिकाको कनेटिकटस्थित येल युनिभर्सिटीको संग्रहालयमा रहेको उल्लेख गरेको छ । श्रद्धालुले भने उक्त मूर्ति ताराको नभई पार्वतीको रहेको बताएका छन् । गोलमढीका ८३ वर्षीय चन्द्रमान राजभण्डारीले आफ्नो खलकले वर्षौंदेखि पाठपूजा गर्दै आएको पार्वतीको मूर्ति २०३५ सालतिर हराएको सुनाए ।

येल विश्वविद्यालयको वेबसाइटमा उक्त मूर्तिलाई ‘बुद्धिस्ट गडेस तारा’ भनेर चर्चा गरिएको छ । वेबसाइटका अनुसार सन् १९७६ मा भक्तपुर, गोलमढीबाट प्राप्त उक्त मूर्ति सुरुमा स्पिन्क एन्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कलासम्पदाका संग्रहकर्ता जेम्स एन्ड मार्लिन एल्सडर्फलाई बेचेको थियो । सन् १९८४ मा जेम्स दम्पतीले यो सम्पदा किनेका हुन् । मूर्ति सन् २००२ मा माइकल एन्ड जर्जियाले न्युयोर्कमा पुर्‍याएको देखिन्छ । येल विश्वविद्यालयमा भने सन् २०१५ मा यो सम्पदा पुगेको देखिन्छ । कसले उक्त विद्यालयमा बुझाएको हो भन्ने स्पष्ट खुलेको छैन । गोलमढीबाट हराएको कलात्मक मूर्ति अमेरिकाको प्रतिष्ठित विश्वविद्यालयको आर्ट ग्यालरीमा फेला परेको सूचना आएपछि विश्वविद्यालयकी आर्ट–क्युरेटर एन्टोनिया बर्तोलसँग जिज्ञासा राखिए पनि जवाफ आएको छैन ।

वीरभद्रेश्वर महादेव मन्दिरका पुजारी कीर्तिनाथ मिश्रका अनुसार पार्वतीको मूर्ति एकाएक हराएपछि प्रतिलिपि मूर्ति बनाएर नित्यपूजा हुँदै आएको छ । इतिहासको अभिलेखमा स्वीस अध्येता उसर्लच भोन स्क्रोडरले समेत भक्तपुर भ्रमणका क्रममा गोलमढीस्थित पार्वतीको तस्बिर २०३३ सालमा खिचेका थिए । उनले उक्त मूर्तिसम्बन्धी विवरण ‘नेप्लिज स्टोन स्कल्प्चर्स’ शीर्षक पुस्तकमा समेटेका छन् ।

सम्पदाविद् रवीन्द्र पुरीका अनुसार गोलमढीस्थित वीरभद्रेश्वर महादेव परिसरकै शिलालेखमा उल्लेख भएअनुसार त्यहाँको शिव–पार्वती मूर्ति अंशुवर्माकालीन रहेको प्रमाणित भएको छ । इतिहासविद् धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ (२०३०) पुस्तकमा गोलमढी शिवदेव संवत् ५१६ मा अंशुवर्मा ‘महासामन्त’ उपाधिबाट विभूषित भएपछि स्थापना गरिएको उल्लेख छ । ‘अमेरिकी विश्वविद्यालय र अरू अध्येताले ताराको मूर्ति भनेर प्रचार गरे पनि यो पार्वतीकै मूर्ति रहेको स्पष्ट देखिन्छ,’ पुरीले भने ।

कला–सम्पदा र सभ्यताको कुरा पढाउने अमेरिकी विश्वविद्यालयले नेपालबाट चोरिएको सम्पदा आफ्नो संग्रहालयमा राखेको भन्ने सूचना आफैंमा लाजमर्दो रहेको उनले बताए । युनेस्को अभिसन्धि र ‘सम्पदा उत्पत्ति मुलुक’ को आधारलाई हेरेर पनि यो प्राचीन अंशुवर्माकालीन नेपालको सम्पदा तत्काल घर फर्काइनुपर्नेमा उनले जोड दिए ।

सम्पदासम्बन्धी विज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले भने ‘धार्मिक र सांस्कृतिक सद्भाव रहेको समाजमा शिव मन्दिरभित्र तारा (बौद्धमार्गी) मूर्ति रहन सम्भव रहेको’ धारणा राख्दै यो सम्पदामा देवीको ‘बसुधरा रूप’ देख्न सकिने बताए । ‘यो एउटै मूर्तिलाई हिन्दुहरूले पार्वतीका रूपमा र बौद्धहरूले ताराका रूपमा मान्दै आएका हुन सक्छन्,’ उनले भने, ‘हाम्रो समाजमा सम्प्रदाय गौण रहिआएको छ । यो मूर्तिमा देखिएको प्रतिमा लक्षणकै आधारमा पनि यो ताराकै मूर्ति हो कि भन्ने देखिएको छ ।’

अमेरिकाको कनेटिकट राज्यको नेपाली मामलासमेत हेर्ने न्युयोर्कस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येल विश्वविद्यालयमा रहेको नेपाली सम्पदाबारे जानकारी पाएको उल्लेख गर्दै यसबारे छिट्टै पत्राचार प्रक्रिया अघि बढाउने बताए ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : असार २६, २०७८ ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्

राजकीय इतिहासको खबर पोका–पोकामा

नारायणहिटी दरबारमा भेटिएका सामग्रीको सूचीकरण गरिँदै 
देवेन्द्र भट्टराई

काठमाडौँ — २०५८ सालको दरबार हत्याकाण्डले परिवर्तन ल्याएको नेपालको राजनीतिक र सामाजिक इतिहासमा धेरै अध्येता र सर्वसाधारणको रुचि रहँदै आएको छ । नेपालको इतिहासमा अढाई शताब्दी लामो राजतन्त्रको कालखण्ड र यसबीचका उल्लेख्य गतिविधिबारे जोकोहीलाई चासो हुने गरेको छ ।

तर इतिहासको यो पाटो यसरी गोदाममा थन्किएको छ कि राष्ट्रिय अभिलेखालय वा पुरातत्त्व विभागलाई नै यो पहिल्याउन वर्षौं लाग्ने देखिएको छ ।

नारायणहिटी दरबार परिसरमा श्रीसदन पछाडिको एउटा गोदामजस्तो घरमा कागजी पोकैपोकाको भण्डारण भेटिन्छ । अहिले भने पुराना कागजातको अभिलेखीकरण गरिँदै छ । यसमा राष्ट्रिय अभिलेखालयबाट अवकाश पाइसकेका तीन कर्मचारी जुटेका छन् । ‘२०६३ सालको राजनीतिक परिवर्तनपछि र राजदरबारबाट तत्कालीन राजा ज्ञानेन्द्र बाहिरिएपछि यहाँका असंख्य कागजात र ऐतिहासिक महत्त्वका शोध–सामग्री यसै अलपत्रै राखिएको पायौं,’ नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले भने, ‘कतै कुनै भण्डार कोठामा त कतै भान्सातिर राखिएका कागजात भेला गरेर खोजतलास थालेका छौं ।’

कागजातको टिपोट उतार्न दुई वर्षयता सक्रिय हिरारत्न वज्राचार्यले राजकाजमा चलेका बिर्ता र मोहीको हिसाब, सतुंगलदेखि साँखुसम्मको राजकीय जग्गाजमिनको भोगचलनसम्बन्धी कागजात पाएको जानकारी दिए । ‘यहाँ इतिहासको भण्डार छ,’ उनले भने । उनले दरबारमा थुप्रिएका सामग्रीको लगत उतार्न र चाहिने/नचाहिने कागजातको फर्स्योट गर्नै अझै केही समय लाग्ने बताए । ‘सतुंगलको बोसीगाउँदेखि कीर्तिपुरको न गाउँसम्म कान्छा मुमा बडामहारानी र अन्य राजकीय सदस्यका नाममा जग्गाजमिन रहेको वृत्तान्त अहिले उतारिरहेका छौं,’ अभिलेखीकरणमा संलग्न अर्की कर्मचारी बिन्दिया भण्डारीले भनिन्, ‘भोगचलन गरिआएको जग्गाबाट आएको धानचामलको लगत, घिउ–तेल र अन्य सामग्रीको हिसाबकिताब पनि यहाँ भेटिएको छ ।’

अभिलेखीकरणमा राजेन्द्रमान स्थापित पनि खटिएका छन् । संग्रहालयका कार्यकारी निर्देशक दाहालका अनुसार यी ऐतिहासिक कागजातको अभिलेखीकरणका लागि अभिलेखालयले वार्षिक ५ लाख रुपैयाँ बजेट दिएको छ । केही स्वयंसेवी कर्मचारीलाई दरबार संग्रहालयले समेत खटाएको छ । राष्ट्रिय अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानांगले बजेटको अभावका कारण अहिले दरबारमा भेटिएका सामग्रीको ‘सूचीकरण’ मात्रै भइरहेको उल्लेख गर्दै डिजिटल–स्क्यानिङ वा ‘अर्काइभिङ’ को थप काम हुन नसकिरहेको बताइन् ।

‘राजारानीको तस्बिरको बाकसै भेटिएको छ, अरू दुर्लभ सामग्री पनि भेटिएका छन्,’ उनले भनिन्, ‘बजेट अभावका कारण यी ऐतिहासिक सामग्रीको स्थायी अभिलेखीकरण गर्न सकिएकै छैन ।’ अहिलेसम्म छानबिन गरिएका आधारमा कम्तीमा पछिल्ला ५० वर्षको राजकीयसहित नेपाली समाज र घटनाक्रमको इतिहास अध्ययन गर्न सकिने अभिलेखालयले जनाएको छ ।

संग्रहालयका कार्यकारी निर्देशक दाहालका अनुसार नारायणहिटी दरबारमा परराष्ट्र मन्त्रालयको पासपोर्ट शाखा राखिएपछि कुनै व्यवस्थापकीय तर्जुमा र प्रबन्धबिनै तत्कालीन राजदरबारसम्बन्धी कागजात यत्रतत्र फालिएको थियो । ‘त्यो बिजोग देखेर दरबार संग्रहालयको तत्त्वावधानमा अभिलेखालयलाई अनुरोध गर्दै कागजातको सूचीकरण थालिएको हो, तर यत्तिकै सीमित जनशक्ति र साधनस्रोतका भरमा यो काम सक्न अरू ५/७ वर्ष लाग्न सक्छ,’ दाहालले भने ।

दरबारको भण्डारणमा भेटिएको पोका–पोकामा तत्कालीन राजा वीरेन्द्र र महेन्द्र शाहले पढ्ने पुस्तक–पत्रिकाको सूची पनि छ । उत्तर कोरियाली नेता किम इल सुङका ‘सेलेक्टेड वर्क’ देखि ‘धिमाल लोक जीवन अध्ययन’ सम्म राजाहरूको अध्ययन सूचीमा भेटिएका छन् । ‘श्री ५ युवराजाधिराज वीरेन्द्रको शुभविवाह समारोह समिति (२०२६) को बैठक निर्णय’ देखि ‘श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी सरकारको शुभविवाहसम्बन्धी फाइल (२०५४)’ सम्मका कागजात पनि यही थुप्रोमा भेटिएका छन् ।



प्रकाशित : असार २३, २०७८ ०७:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×