चीनको लान्चौ मेलामा नेपाललाई उच्च प्राथमिकता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनको लान्चौ मेलामा नेपाललाई उच्च प्राथमिकता

लक्ष्मी लम्साल

बेइजिङ — उपप्रधानमन्त्री एवं अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री विष्णुप्रसाद पौडेलले बढ्दो आर्थिक सहयोग नेपाल-चीन सम्बन्धको अर्को संकेत भएको बताएका छन् । उनले नेपालको विकास र कोभिड महामारीविरूद्धको लडाइँमा चीनको लगातारको समर्थनको पनि प्रशंसा गरेका छन् ।

बिहीबारदेखि चीनमा सुरू भएको चार दिने ‘२७ औं लान्चौ लगानी तथा व्यापार मेला’का लागि ‘गेस्ट अफ अनर’ मुलुकका तर्फबाट भिडियो भाषण पठाउँदै उपप्रधानमन्त्री पौडेलले चीन हाल नेपालको सबैभन्दा ठूलो लगानीकर्ता मुलुक भएको बताए । उनले भने, ‘नेपाल-चीन द्विपक्षीय व्यापारको मात्रा बढ्दो छ र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या पनि बढिरहेको छ ।’

लान्चौ द्विपक्षीय व्यापारको लागि महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ । नेपालसँग दुई देशका मुख्य व्यापारिक सामानहरू लान्चौ सुख्खा बन्दरगाह हुँदै आउने गरेको बताउँदै उनले कान्सु प्रान्त र यसको राजधानी लान्चौबीच नेपालको दीर्घकालीन आर्थिक, सामाजिक र सांस्कृतिक आदानप्रदान रहेको बताए । ‘थाङ र युआन राजवंशकालमा नेपाली कलाकारहरू यहाँ आएर यस क्षेत्रका गुफा र गुम्बामा बौद्धकलामा योगदान दिए । कान्सु त्यस बेला बौद्ध शान्तिको अवधारणा फैलाउने प्रमुख माध्यम पनि थियो’, उद्घाटन भिडियो मन्तव्यमा उनले भने ।

आउँदो सोमबारसम्म चल्ने यो मेलामा अनलाइन तथा अफलाइनमार्फत् विभिन्न मुलुक सहभागी भएका छन् । बीआरआई निर्माण तथा दोहोरो चक्रको नयाँ विकास ढाँचाको निर्माणमा केन्द्रित, गहन आर्थिक तथा व्यापारिक सहयोग भन्ने विषयका साथ सुरू यो मेलामा नेपाल र उरुग्वे आमन्त्रित पाहुना देशका रूपमा रहेका छन् ।

बेइजिङबाट सहभागी हुन पुगेका नेपाली राजदूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले कान्सु प्रान्तले नेपाललाई उच्च प्राथमिकता दिएर यो महोत्सव आयोजना गरेको बताए । लान्चौ बन्दरगाह भएर दक्षिण एसिया लम्किने कान्सु प्रान्तकै बाटो भएकाले चीनले नेपाललाई महत्त्व दिएको पराजुलीले बताए । उनले भने, ‘लान्चौ पोर्ट भनेको नेपाल हुँदै दक्षिण एसिया छिर्ने माध्यम भएकाले व्यापारिक तथा वाणिज्य गतिविधि बढाउने रणनीति चीनले लिएको देखिन्छ । त्यसैले पनि नेपाललाई उच्च महत्त्व दिएको हो ।’

मेलाका दौरान नेपाली राष्ट्रिय पेभेलियन पनि सुरूवात गरिएको छ ।

बीआरआई सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिनिधि गरी पाँच सय विदेशी, पाँच सय चिनियाँ र चीनका उत्कृष्ट पाँच सय निजी गरी उद्ममी नेताहरू, व्यावसायिक साझेदार तथा लगानीकर्ताहरू मेलामा सहभागी छन् । मेलामा नेपालकातर्फबाट चिया, पश्मिना लगायत वस्तुहरू प्रदर्शन गरिएको छ । नेपाली वस्तुहरूको व्यवसाय गर्ने चीनस्थित व्यापारीहरूले सो प्रदर्शनीमा भाग लिएका छन् ।

पछिल्ला वर्षहरूमा चीनले बीआरआईको प्रारूपमा सम्बन्धित मुलुकहरू, क्षेत्रहरू र उद्यमहरूबीच व्यावहारिक सहयोग र मैत्रीपूर्ण आदानप्रदान विस्तार गर्नमा जोड दिइरहेको छ । गरिबी निवारणको एउटा लक्ष्य पार गरिसकेपछि चीनको ध्यान अब पश्चिमी भेगको गुणस्तरीय विकासमा केन्द्रित भएको छ । यो मेलालाई पश्चिमी चीनको एक प्रख्यात र प्रभावशाली आर्थिक र व्यापारिक महोत्सवको रूपमा विकसित गरिएको छ ।

मेला अवधिमा आर्थिक तथा व्यापार मेला र रेशम मार्ग सहयोग तथा विकास, बीआरआई निर्माणलाई गहिरो बनाउने, नयाँ विकासको बान्की निर्माण गर्ने र उच्च गुणस्तरको आर्थिक विकासलाई प्रवद्धन गर्ने, नयाँ पश्चिमी भू-समुद्र च्यानल र राष्ट्रिय रसद (लान्चौ) हबको निर्माण गर्ने, बीआआई प्रविधि आविष्कार, बौद्धिक सम्पत्ति संरक्षण, आधुनिक रेशम मार्ग र सुख्खा कृषि उच्च-गुणस्तरीय विकास लगायतका अनेकन बहस मञ्चहरू पनि रहेको पराजुलीले जानकारी दिए ।

प्रकाशित : असार २४, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

कसैको ‘दादागिरी’ नसहने चिनियाँ राष्ट्रपति सीको चेतावनी

लक्ष्मी लम्साल

बेइजिङ — चिनियाँ राष्ट्रपति सी चिनफिङले कुनै पनि मुलुकले आफूमाथि गर्ने अनावश्यक हेपाहा प्रवृत्तिको सामना गर्ने चेतावनी दिएका छन्।

बेइजिङको केन्द्रस्थित थ्यानआनमन चोकमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै सीले चीनको थाइवान क्षेत्र लगायतमा बाह्य मुलुकबाट बारम्बार भइरहेको अवरोधप्रति संकेत गरे। पछिल्लो पटक चीनको थाइवानका लागि भन्दै हातहतियार, खोप लगायतका विषयमा अमेरिकाले चालेका कदमप्रति राष्ट्रपति सीको यो भनाइ लक्षित भएको हुनसक्ने विश्लेषकहरूले बताएका छन्।

सम्बोधनका क्रममा सीले हङकङ, मकाउ तथा थाइवान विशेष प्रशासनिक क्षेत्रको सुरक्षा र कानुनी प्रणाली कार्यान्वयन गर्नुपर्ने बताए। थाइवानको एकीकरणको दायित्व चिनियाँ कम्युनिष्ट पार्टीमा रहेको सीले बताए। उनले भने, थाइवानको मुद्दालाई सुल्झाउनु र मातृभूमिको पूर्ण पुनर्मिलन गराउनु पार्टीको अतुलनीय ऐतिहासिक लक्ष्य र चिनियाँ जनताको साझा आकांक्षा हो। हामीले मातृभूमिको शान्तिपूर्ण पुनःनिर्माणको प्रक्रिया अगाडि बढाउन एक चीन सिद्धान्तको सहमतिलाई पालना गर्नैपर्छ।’

चीनको कम्युनिष्ट पार्टीको स्थापना भएको १००औं वार्षिकोत्सवमा बोल्दै सीले पहिलो सय वर्षे लक्ष्य हासिल गरिसकेको बताउँदै समृद्ध समाज निर्माण लक्ष्य भेट्टाएको बताए। आधुनिक र शक्तिशाली समाजवादी देश निर्माण गर्ने दोस्रो शताब्दी लक्ष्यतिर केन्द्रित भएको उद्घोष गर्दै सीले सुधार र खुलापन नीति लागू गरिएयता अझै राम्रो तथा सम्पन्न समाजको निर्माण गर्ने लक्ष्य प्रस्तुत गरे।

यस वर्षको आरम्भमा चीनले गरिबी उन्मुलनको कार्यभार पूरा गरेर हालै मापदण्डमा ९ करोड ८९ लाख ९० हजार ग्रामिण क्षेत्रका गरिब जनसंख्यालाई पूर्ण रूपमा विपन्नताबाट मुक्त गरिसकेको सुनाउँदै चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव समेत रहेका सीले पार्टीका पुराना पुस्ताको सम्झना गरे। उनले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ च तोङ, तङ स्याउ फिङ, च्याङ च मिङ, र हू चिन थाउको नाम सम्बोधनका क्रममा लिए।

महासचिव सी चिनफिङले मानव जातिको सबै फाइदाजनक अनुभव सिक्दै चिनियाँ जनताले अहंकारी आलोचनाको प्रतिवगाद गर्ने बताए। उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले र चिनियाँ जनताले आफैंले छानेको बाटोमा अघि बढ्नेछन्।’

चीनले शान्तिपूर्ण विकासमा अडिग रहेर नयाँ अन्तर्राष्ट्रिय सम्बन्धको निर्माण, मानव भाग्य समुदायको निर्माण, बीआरआई उच्च गुणस्तरीय विकासको साझा निर्माणलाई अगाडि बढाएर चीनको नयाँ विकासबाट विश्वलाई नयाँ अवसर दिने पनि सीले बताए। उनले भने, ‘ चीन सधैँ नै विश्वशान्ति, विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक बन्नेछ। तर कसैसँग टकराव गरेर, खुलापनलाई बन्द गरेर शून्य-योगको खेल खेल्दैन र प्रभुत्ववादको विरोध गर्नेछ।’

सम्बन्धित समाचार

प्रकाशित : असार १७, २०७८ १४:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×