चीनको लान्चौ मेलामा नेपाललाई उच्च प्राथमिकता

लक्ष्मी लम्साल

बेइजिङ — उपप्रधानमन्त्री एवं अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री विष्णुप्रसाद पौडेलले बढ्दो आर्थिक सहयोग नेपाल-चीन सम्बन्धको अर्को संकेत भएको बताएका छन् । उनले नेपालको विकास र कोभिड महामारीविरूद्धको लडाइँमा चीनको लगातारको समर्थनको पनि प्रशंसा गरेका छन् ।

चीनको लान्चौ मेलामा नेपाललाई उच्च प्राथमिकता

बिहीबारदेखि चीनमा सुरू भएको चार दिने ‘२७ औं लान्चौ लगानी तथा व्यापार मेला’का लागि ‘गेस्ट अफ अनर’ मुलुकका तर्फबाट भिडियो भाषण पठाउँदै उपप्रधानमन्त्री पौडेलले चीन हाल नेपालको सबैभन्दा ठूलो लगानीकर्ता मुलुक भएको बताए । उनले भने, ‘नेपाल-चीन द्विपक्षीय व्यापारको मात्रा बढ्दो छ र नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या पनि बढिरहेको छ ।’

लान्चौ द्विपक्षीय व्यापारको लागि महत्त्वपूर्ण केन्द्र बन्दै गएको छ । नेपालसँग दुई देशका मुख्य व्यापारिक सामानहरू लान्चौ सुख्खा बन्दरगाह हुँदै आउने गरेको बताउँदै उनले कान्सु प्रान्त र यसको राजधानी लान्चौबीच नेपालको दीर्घकालीन आर्थिक, सामाजिक र सांस्कृतिक आदानप्रदान रहेको बताए । ‘थाङ र युआन राजवंशकालमा नेपाली कलाकारहरू यहाँ आएर यस क्षेत्रका गुफा र गुम्बामा बौद्धकलामा योगदान दिए । कान्सु त्यस बेला बौद्ध शान्तिको अवधारणा फैलाउने प्रमुख माध्यम पनि थियो’, उद्घाटन भिडियो मन्तव्यमा उनले भने ।

आउँदो सोमबारसम्म चल्ने यो मेलामा अनलाइन तथा अफलाइनमार्फत् विभिन्न मुलुक सहभागी भएका छन् । बीआरआई निर्माण तथा दोहोरो चक्रको नयाँ विकास ढाँचाको निर्माणमा केन्द्रित, गहन आर्थिक तथा व्यापारिक सहयोग भन्ने विषयका साथ सुरू यो मेलामा नेपाल र उरुग्वे आमन्त्रित पाहुना देशका रूपमा रहेका छन् ।

बेइजिङबाट सहभागी हुन पुगेका नेपाली राजदूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले कान्सु प्रान्तले नेपाललाई उच्च प्राथमिकता दिएर यो महोत्सव आयोजना गरेको बताए । लान्चौ बन्दरगाह भएर दक्षिण एसिया लम्किने कान्सु प्रान्तकै बाटो भएकाले चीनले नेपाललाई महत्त्व दिएको पराजुलीले बताए । उनले भने, ‘लान्चौ पोर्ट भनेको नेपाल हुँदै दक्षिण एसिया छिर्ने माध्यम भएकाले व्यापारिक तथा वाणिज्य गतिविधि बढाउने रणनीति चीनले लिएको देखिन्छ । त्यसैले पनि नेपाललाई उच्च महत्त्व दिएको हो ।’

मेलाका दौरान नेपाली राष्ट्रिय पेभेलियन पनि सुरूवात गरिएको छ ।

बीआरआई सम्बन्धित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूको प्रतिनिधि गरी पाँच सय विदेशी, पाँच सय चिनियाँ र चीनका उत्कृष्ट पाँच सय निजी गरी उद्ममी नेताहरू, व्यावसायिक साझेदार तथा लगानीकर्ताहरू मेलामा सहभागी छन् । मेलामा नेपालकातर्फबाट चिया, पश्मिना लगायत वस्तुहरू प्रदर्शन गरिएको छ । नेपाली वस्तुहरूको व्यवसाय गर्ने चीनस्थित व्यापारीहरूले सो प्रदर्शनीमा भाग लिएका छन् ।

पछिल्ला वर्षहरूमा चीनले बीआरआईको प्रारूपमा सम्बन्धित मुलुकहरू, क्षेत्रहरू र उद्यमहरूबीच व्यावहारिक सहयोग र मैत्रीपूर्ण आदानप्रदान विस्तार गर्नमा जोड दिइरहेको छ । गरिबी निवारणको एउटा लक्ष्य पार गरिसकेपछि चीनको ध्यान अब पश्चिमी भेगको गुणस्तरीय विकासमा केन्द्रित भएको छ । यो मेलालाई पश्चिमी चीनको एक प्रख्यात र प्रभावशाली आर्थिक र व्यापारिक महोत्सवको रूपमा विकसित गरिएको छ ।

मेला अवधिमा आर्थिक तथा व्यापार मेला र रेशम मार्ग सहयोग तथा विकास, बीआरआई निर्माणलाई गहिरो बनाउने, नयाँ विकासको बान्की निर्माण गर्ने र उच्च गुणस्तरको आर्थिक विकासलाई प्रवद्धन गर्ने, नयाँ पश्चिमी भू-समुद्र च्यानल र राष्ट्रिय रसद (लान्चौ) हबको निर्माण गर्ने, बीआआई प्रविधि आविष्कार, बौद्धिक सम्पत्ति संरक्षण, आधुनिक रेशम मार्ग र सुख्खा कृषि उच्च-गुणस्तरीय विकास लगायतका अनेकन बहस मञ्चहरू पनि रहेको पराजुलीले जानकारी दिए ।

प्रकाशित : असार २४, २०७८ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?